गुरु पद्म संम्भव अडेस लागेको ठाउँमा मूर्ति शिलान्यास

समाधान संवाददाता २०८१ वैशाख १५ गते १६:५५

जोमसोम—ऐतिहाँसिक तथा धार्मिक महत्वले प्रसिद्ध मुस्ताङको पान्डा खोला स्थित लमकुचीमा गुरु पद्म संम्भवको विशाल मूर्ति प्रतिस्थापन गरिने भएको छ । त्यहाँ ८ औं सताब्दीमा गुरु पद्म सम्भव रिर्पोछे अडेस लागेर बसेको शीला छाप छ ।
गुरु पद्म संम्भवसंग जोडिएको ऐतिहाँसिक स्थान पान्डाखोलामा ९ फिट अग्लो मूर्ति प्रतिस्थापन गर्ने तयारी गरिएको हो । स्वर्गीय बुबा सकसबहादुर गौचन तथा आमा कर्णकुमारी गौचनको स्मृतिमा पान्डाखोलामा गुरु रिपोर्छे पद्म संम्भवको विशाल मूर्ति प्रतिस्थापन गर्न लागिएको हो । स्वर्गीय गौचन दम्पतीको स्मृतिमा छोरा ईन्जिनीयर गोबिन्द गौचन,बुहारी मिरा गौचनका साथै छोरीहरु ओमकुमारी गौचन र झुमा मथला गौचनले पान्डा खोलामा पद्म सम्भवको मूर्ति प्रतिस्थापन गर्न लागेका हुन् । यसका लागि छोरीहरु ओमकुमारी गौचन र झुमा मथला गौचनले एक करोड भन्दा बढी रकम खर्च गर्ने जनाईएको छ ।
ऐतिहाँसिक तथा धार्मिक महत्व बोकेको स्थानमा गुरु पद्म सम्भवको मूर्ति प्रतिस्थापन गरिने छोरी ओमकुमारी गौचनले जानकारी दिए । धार्मिक स्थानको संरक्षण,संम्वद्धन र विकास गर्ने उद्देश्यसहित स्वर्गीय बुबाआमाको सम्झनामा मूर्ति प्रतिस्थापन गरिने उनले जनाईन् ।‘जोमसोम—मुक्तिनाथ सडक छेउमा रहेको ठाउँ गुरु पद्म सम्भवको ऐतिहाँसिकतासंग सम्वन्धित छ ,यहाँ मूर्ति प्रतिस्थापन गर्न उचित हुन्छ भन्ने सोच्यौं,’छोरी गौचनले भनीन्,‘ मूर्ति स्थापनाले धार्मिक पर्यटनको विकास र धार्मिक संम्पदाको महत्वलाई थप परिस्कृत बनाएर लैजाने छ ।’
जोमसोम—मुक्तिनाथ सडकसंगै जोडिएको लमकुची भन्ने स्थानमा पद्म सम्भवको विशाल मूर्ति प्रतिस्थापनका लागि पूर्वाधार निर्माण गर्न तथा मूर्ति स्थापना गर्न करोड भन्दा बढीको लागत स्टमेट गरिएको मूर्ति स्थापनका लागि खटिएका प्राविधिक सहयोगी सोजन शेरचनले जानकारी दिए । पान्डा खोला स्थित लमकुचीमा शनिबार बिहान लामाहरुले पुजापाठ गरेर पद्म संम्भवको मूर्ति प्रतिस्थापन गर्न शिलान्यासको कार्यक्रम भएको प्राविधिक सहयोगी शेरचनले जानकारी दिए ।
मूर्ति प्रतिस्थापनका लागि ९ वर्षीय बालक शिर्षक शेरचनले शिलान्यास गरे । शिलान्यास अघि स्याङ्वा रिर्पोछे लामासहित ४ जना लामाहरुले बुद्धिस परम्परा अनुसार पुजापाठ गरेका थिए । पद्म सम्वभवको मूर्ति प्रतिस्थापनका लागि गरिएको शिलान्यास कार्यक्रममा घरपझोङ—४ जोमसोमका स्थानीयहरुको सहभागीता रहेको थियो ।
पान्डाखोलाको लमकुचीमा मूर्ति स्थापनाका लागि काठमान्डौंमा अर्डर भईसकेको र चालु आर्थिक वर्षको असारभित्रै आवश्यक पूर्वाधार निर्माण गरेर पद्म संम्भवको विशाल मूर्तिको प्राण प्रतिस्थापन गरिने योजना रहेको छोरी झुमा मथला गौचनले जानकारी दिईन् । उनले प्रतिस्थापन गरिने मूर्ति सुनको जलपसहित तामाको धातुले निर्माण गरिने बताईन् । भगवान बुद्धपछिको सम्मानीत भगवान पद्म संम्भवको मूर्ति स्थापनाले धार्मिक र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण सहयोग पुग्ने छोरी मथला गौचनले उल्लेख गरिन् । मुक्तिनाथ र उपल्लो मुस्ताङ पुगेर फर्किने पर्यटक तथा दर्शनार्थीले जोमसोम—कोरला राजमार्ग सडक नजिकैको पद्म संम्भवको दर्शन गर्न सहज हुने विश्वास गरिएको छ ।
आठौं शताब्दीमा कमलको फूलबाट जन्म लिएका गुरु पद्यसम्भव तिब्बत जाने क्रममा मुस्ताङको मार्ग भई राक्षससंग द्धन्द भएको घटनासंग पान्डाखोलाको लमकुची ठाउँ सम्वन्धित छ । त्यसबेला तिब्बतका धर्म राजा ठिसोङ देउचान सम्राट थिए । उनले आफ्ना पालामा भारतबाट तिब्बतमा बौद्ध धर्म फैलाउन र प्रचारप्रसार गर्न चाहन्थे ।त्यसबेला तिब्बतमा पेम्बो धर्म थियो । ठिसोङले भारतबाट अत्तेरिया शान्तिलाई तिब्बतमा बुद्ध धर्म प्रचार प्रसास गर्न लगाए । सोही क्रममा त्यहाँ साम्य गुम्बा निर्माण गर्न थालियो । गुम्बा निर्माण हुँदै गर्दा बुद्ध धर्मका अनुयाी र पेम्बो धर्मका अनुयायीबीच अशान्ति फैलियो ।
दिनभरी गुम्बा बनाउन काम हुन्थ्यो राती बुद्ध धर्म बिरोधीले बनाउन लागिएको गुम्बा भत्काईदिन्थे । यो अराजकता रोक्न त्सबेलाका धर्म राजा सम्राटले पद्म संम्भवलाई तिब्बत बोलाए । पद्म संम्भव धार्मिक सहयोग पू¥याउन तिब्बत पुगे । पद्म संम्भवले अराजकता सृजना गर्ने व्यक्ति (राक्षस)हरुलाई लखट्दै नेपाल धपाए । यसरी राक्षसलाई खेद्दै गर्ने क्रममा मुस्ताङको पान्डा खोलामा राक्षस र पद्यसंम्भवको लडाई चल्यो । राक्षसहरुसंग लड्ने क्रममा पद्यसंम्भव थाकेर विश्राम गर्न लमकुची भित्तामा ठाँडै पल्टिए । त्यही पद्म संम्भव थाकेर पल्टिएको डोब लककुची स्थानमा देख्न सकिन्छ । यसैले पनि सो स्थान गुरु पद्म सम्भवको कथासंग जोडिएको हो ।

आठौं सताब्दीमा राक्षस धपाउन क्रममा मुस्ताङका धेरै ठाउँहरु पद्म सम्भवको जीवन कथा संग जोडिएको छ । पद्म सम्भवले त्यसबेला लोघेकरको ढाक्मरमा राक्षसको आन्द्राभुडी निकालेर पहाडमा मिल्काएकाले ढाक्मरको पहाड रातो हुन पुगेको धार्मिक विश्वास छ ।
पद्म संम्भवले राक्षसको अन्तिम समाधि लोघेकरको मराङमा गरेको हुनाले त्यहाँ गुम्बा निर्माण गरिएको भन्ने भनाई छ । यो गुम्बा विश्वकै पहिलो र पुरानो गुम्बा दावी गरिएको छ । यसका अलावा चिउँसी गुफा र गुरुसाङ्वो गुफामा गुरु पद्म संम्भवले ध्यान गरी बसेको भन्ने भनाई छ । पद्यसंम्भवले तिब्बतबाट लेखट्दै मुस्ताङमा राक्षसको बध गरेपछि तिब्बतमा साम्य गुम्बा निर्माण गरिएको बताईन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया