देशको चित्र र नेताको चरित्र

सन्तोष अधिकारी २०७८ माघ २३ गते १७:१७


सन्तोष अधिकारी

Advertisement


सर्वप्रथम केही तथ्य र तथ्यांकको बारेमा चर्चा गरौं । महामारी आउनु पूर्व नै करिब ४३.५ प्रतिशत (८८२००० जना) पाँच वर्ष मुनिका बालबालिका चरम कुपोषणबाट शिकार भएको युनिशेफको रिपोर्टमा उल्लेख छ । यो संख्या महामारीको दोश्रो फेजपछि करिब १४ प्रतिशत वृद्धि भएको आंकलन गरिएको छ । यसबाट के प्रष्ट हुन्छ भने अझै पनि लाखौ बालबालिकाका अभिभावक आफ्ना सन्तानाको भोक मेटाउन सकिरहेका छैनन् । अर्थात खानाकै लागि संघर्ष गर्न विवश नेपालीको संख्या ठुलो छ ।


दोश्रो तथ्य, अन्तर्राष्ट्रिय श्रम संगठनले प्रकाशित गरेको रिपोर्टमा १५ देखि २९ वर्ष उमेर समूहका करिब १९.२ प्रतिशत युवा बेरोजागार रहेको उल्लेख छ । कुल जनसंख्याको भने २.७ प्रतिशत बेरोजगार छन् । प्रत्यक वर्ष करिब ४ लाख युवा काम गर्नै उमेर समूहमा प्रवेश गर्ने गरेको पनि आइएलओको तथ्यांकमा उल्लेख गरिएको छ । यसको मतलब बेरोजगार युवाहरुको अनुपातको दर प्रति वर्ष बढ्दो छ । देशमा रोजगार सिर्जना गर्ने खालका उत्पादनमूलक कामहरु हुन नसकेको समेत सो रिपोर्टमा जनाइएको छ ।

Advertisement


युएनडिपीले तयार पारेको मल्टिडाइमेन्सनल पोभर्टि रिपोर्टका अनुसार अझै पनि कुल जनसंख्याको १७.४ प्रतिशत मानिस विविध खालका चरम गरिबीको सामना गर्न विवश छन् । गरिबी विकासको प्रमुख बाधक बनेर उभिएको छ । यसले के देखाउँछ भने सुखी नेपाली समृद्ध नेपाल भाषणमा भनिने कुरा मात्र हो । वर्गीय रुपमा तल्लो तहमा रहेका जनताका निम्ती यो केवल निर्वाचनमा बेचिने नारामा सीमित छ । गास, बास र कपास जस्ता आधारभूत आवश्यकताको अभावमा अहिले पनि धेरै नेपालीले कष्टपूर्ण जीवनयापन गरिरहेको यो तथ्यले प्रष्टयाएको छ ।


अशिक्षाको दर पनि उस्तै कहाली लाग्दो छ । ७९ प्रतिशत पुरुष र ६० प्रतिशत महिला मात्रै सन् २०१८ सम्म साक्षर रहेको युनेस्कोको तथ्यांकमा देखाइएको छ । औषतमा ६८ प्रतिशत जनसंख्याले मात्र साक्षर बन्नदेखि उच्च शिक्षा लिन पाएका छन् । अझ पनि करिब ३२ प्रतिशत जनसंख्या शिक्षा पाउनबाट बञ्चित भएको देखिन्छ ।


यी तथ्यांकले हामीलाई तर्साउन पर्ने हो । सचेत गराउन पर्ने हो । तर विल्कुल त्यस्तो भई राखेको पाइँदैन । हो यी तथ्य र तथ्यांकमा १, २ प्रतिशत तल माथि नहोला भन्न सकिँदैन । तर देशका वास्तविक चित्र यही नै हो । यसको प्रमाण गत वर्ष जेठको मध्यतिर भोककै कारण ज्यान गुमाएको सप्तरी, पथरीका मलर सदा मुसहरलाई हेरे पनि हुन्छ । चार दिनदेखि चुल्हो नबलेपछि खानाको खोजीमा हिँडेका सदाले सदाका लागि जीवन गुमाउनु प¥यो । अनि अर्को नजिर विसं २०७६ असोज ताका उपचार अभावमा बाटो मै मृत्यु वरण गरेका ३५ वर्षीया रुपलाल शाहलाई लिँदा पनि हुन्छ । शाह पनि मिर्गाैला डायलसिसिको आशामा रौतहटबाट राजधानी आउँदै गर्दा बाटैमा मृत्यु वरण गर्न विवश भए ।

रुपलाल र मलर सदा त कैयन मध्यका प्रतिनिधी पात्र मात्र हुन् । यसबाट पनि पुष्टि हुन्छ हाम्रो गरिबी अभाव र पीडाको पारो कति माथि चढी सकेको छ । कति नेता सांसद र मन्त्री त यो तथ्य र तथ्यांकको बारेमा जानकार छैन भन्दा पनि फरक पर्दैन । उनीहरुलाई देशको गरिबी, बेरोजगारी, अभाव र पीडाको पारोले छुदै छँुदैन । कति आफूलाई रोलमोडल सम्झने भाइरल युवा नेताहरु पनि यस्ता गम्भीर विषयमा बेखबर जस्तै देखिन्छन् । उनीहरुको भाषण, अध्धयन र खोजको केन्द्रमा देशको पछौटेपनका यस्ता नजिरहरु पनि पर्दैन्न ।


अझ स्वस्थ्य क्षेत्रका विकराल समस्या, अन्धकार कर्णलीको कथा, मुगेली, डोल्पाली, हुम्लीको कहाली लाग्दो कहानी त कति छ कति । साम्यवाद र समाजवादको सफरमा हिँडेका कामरेडहरुलाई यस्ता तथ्य र तथ्यांकले छुँदैन । जनताले भोग्नुपरेको चरम अभाव, गरिबी र पीडा प्रथामिकतामा पर्दैन । पथ्र्यौ भने एक्काइसौ शताब्दीमा पनि अझै देशका ३२ प्रतिशत नागरिक निरक्षरताको विल्ला भिरेर बस्न विवश हुँदैनथे । देशका लाखौ बालबालिका भोकसँग सम्झौता गरेर दिन बिताउन बाध्य हुँदैनथे ।


आज विश्वका समृद्ध मुलुकका नेतृत्वहरु कसरी आफ्ना नागरिकलाई सुखी र खुशी राख्न सकिन्छ भनेर बहस गर्छन् । थारै श्रम गर्दा पनि कसरी धेरै आय, आराम र मनोरञ्जन दिन सकिन्छ भनेर घोत्लिन्छन् । तर हाम्रा नेताहरुलई कसरी आफ्नालाई ठेक्का र टेण्डर पार्न सकिएला । राज्यको सम्पत्तीको दोहन गरेर कहाँ आफन्तलाई लाभ दिने छिद्र भेटिएला भन्ने चिन्ताले नै सताएको पाइन्छ ।


के यस्ता सवालहरु राजनीतिक नेतृत्वको बहसको वृत्तमा पर्नु पर्ने होइन ? समस्याको निकासका लागि उपायको खोजी गर्न पर्ने होईन ? के विश्वका असल राजनीतिक अभ्यास गरी राखेका देशका नेताहरु पनि हाम्रोमा जस्तै यस्ता सवालमा नजरन्दाज गरेर बस्लान् ? अवश्य बस्दैनन् ।
यदि बस्थे भने आज विश्वका समृद्ध देशहरु मंगल ग्रह र चन्द्रमामा मानव बस्ती बसाउने बहसमा जुटिरहेका हुने थिएनन् । विकासको रफतारमा यति अगाडि पुगी सकेका हुने थिएनन् । ठिक विपरीत हामी यो महामारीमा सिटामलको समेत अभाव झेल्न विवश छौं । सिटामलमा समेत अनियमितता भयो भन्दै विवाद गर्न बाध्य छौं । अब कल्पना गरौ हाम्रा नेतृत्वले कस्तो देश बनाउने रोडम्याप कोरी रहेका होलान ?
नेतृत्वको नियत
जोसँग चामल किन्न सक्ने क्षमता छैन । जो आधा पेट खाएर पटुकी कसेर दिनभर गिटी र बालुवा कुटन बाध्य छन् । आफ्ना कलिला लालाबालालाई पेटभर खुवाउन नसकेकोमा प्रताडित छन् । पढ्ने उमेरका आफ्ना सन्तानलाई भरिया बनाउन विवश छन् । घाम र झरी छेक्ने ओत बनाउन नसकेकोमा पछुताइ रहेका छन् । तर जब चुनाव आउछ हाम्रा नेताहरु तिनै बस्तीहरुमा पुगेर घर घरमा ग्यास पाइप बिछ्याउने सपना बाँड्छन् । जो दाउरा बालेर जाडो भगाउन विवश छन् । अब भन्नुस्, योभन्दा गरिब माथिको भन्दा मजाक अरु के हुन सक्छ ।


गर्नै पर्ने र गर्न सकिने जनताका मामुली समस्या समाधान नहुने देशमा जति अग्लो धराहरा ठडिए पनि देशको शिर उचो हुन सक्दैन । जति धेरै भ्यु टावर बनेपनि, त्यहां बाट देखिने भनेको हाम्रो गरिवी, पिडा र अभाव नै हो । त्यसैले देशको चित्र बदल्न नेताले चरित्र बदल्नै पर्छ ।


अनि जसले बर्षाै देखि रोजगारको खोजीमा हिडदा दर्जनौ जोर जुत्ता फटाई सकेको छ । हातमा बोकेको सर्टिफिकेट थोत्राई सकेको छ । अन्तिम विकल्पमा कोहि अरवको मरुभुमीमा भेडा चराउन जान गुण्टा कसि रहेका छन । कोहि कोरिया जान पाईने आशमा इपिएसको तयारीमा छन । कोहि युरोप र अमेरीका छिर्ने लोभमा घरबार बेचेर दलाललाई लाखौं बुझाउन विवश छन । तर जव निर्बाचन आउछ या कुनै अमुक दलको राजनितीक स्वार्थ पुरा गर्नुपर्ने हुन्छ । तव तीनै युवाहरुलाई जम्मा गरेर बेरोजगार भत्ता दिने आश्वशन दिइन्छ ।

युवा पलायन रोक्ने चर्का भाषण छांटिन्छ । अब भन्नुस काम गर्ने उमेरका याृेग्य जनशक्तीलाई रोजगार दिन नसक्ने राज्यले के बेरोजगार भत्ता दिन सक्छ ? नेताहरुको यो भन्दा उदेक लाग्दो राजनितीक स्टन्ट वाजी अरु के हुन सक्छ । कुनै पनि विकसित देशमा काम गर्ने उमेरका युवालाई भत्ता होईन काम गर्नका निम्ती उत्प्रेरित गरिन्छ । अनि कामको ब्यवस्थापन गर्ने जिम्मा राज्यले लिन्छ । तर विपरीत हाम्रोमा भत्ता दिने अति असान्दर्भिक नारा बेचिन्छ ।
बालबालिका कुपोषणको शिकार भई राखेका छन । यत्रतत्र असहाय अनाथ बृद्धबृद्धा शहर भरी भिख मागेर जीवन जिउन बाध्य छन ।

उपचारको अभावमा एउटा गरिव अकालमा मृत्युबरण गरि राखेका छ । तर देशका नेता बेरोजगार युवा लाई भत्ता दिेने सपना बांडेर भोट बटुल्न उद्यत छन । अब भन्नुस, यो भन्दा बढी हामीेले नेता बनाएको र मानेका पात्राको अर्को दरिद्र चरित्र के हुन सक्छ । हुन त यस्तै एजेण्डा बेचेर हाम्रा नेताहरुले कैयन पटक जनताको मत लिई सकेका छन । जहां सामान्य उपचारको अभावमा जनता मर्छन ,त्यहां बेरोजगार युवालाई भत्ता दिइन्छ भन्नु कति सम्मको हास्यस्पद हो । यसको मतलव उनीहरु गरिव निमुखा जनताको अगाडी जे बोले पनि फरक पर्दैन भन्ने ठान्दछन । के यस्तो चरित्र भएका पात्रा असल नेता बन्न सक्लान ? उनीहरु बाटै हामीले अबको सुन्दर भविश्यको कल्पना गर्नु पर्नै हो ? यदि त्यसो हो भने यो भन्दा विडम्बना हाम्रा लागि अरु केहि हुनै सक्दैन ।

अन्त्यमा भन्नै पर्छ, जनताको यस्तै गरिवी, समस्या र अभावको फाइदा उठाउदै कथित नेताहरु नोट दिएर भोट किन्दै आएका छन । त्यसैको दुष्परिणाम आज हाम्रो देशको चित्र धुमिल बन्दै गएको छ । अव पनि हामी सचेत भएनौ भने न देशको चित्र बदलिनेछ, न नेताको चरित्र ।
(पोखराका पत्रकार अधिकारी अचेल युरोप बस्छन्)

सन्तोष अधिकारी

पोखराका पत्रकार अधिकारी अचेल युरोप बस्छन् । 

तपाईको प्रतिक्रिया