गण्डकी प्रदेशको पाँचौं वार्षिकोत्सव

प्रदेशले सरकारको अनुभूति दिन सकेन

धनञ्जय दवाडी २०७८ फागुन ४ गते १०:४५


धनञ्जय दवाडी

गण्डकी प्रदेशसभाको निर्वाचनमा जनताले दिएको मतभन्दा पनि राष्ट्रिय राजनीतिका अरु घटना क्रमले चिट्टा परेर प्रदेशमा नयाँ सरकार बनेको छ । सरकारलाई आफैंप्रति विश्वास छैन । वर्तमान सरकारका सदस्यले दिनहुँ मन्त्रालय जाने हाजिरी गरेर तलब, भत्ता पकाउने काममात्र गरेका छन् । अहिलेको सरकार राजनीतिक दलले बनाएको जस्तो छैन । यो कामै नगरी हाजिर गरेर तलब पचाउने नोकरशाहको सरकार जस्तो बन्यो । प्रदेशका जनतालाई प्रदेशमा सरकार भएको अनुभूति दिन सकेन । विगतको सरकारसँग तुलना गर्दा दिउँसै टर्च बाले जस्तो हुन्छ । उज्यालोमा बत्ति बालेको जस्तो हुन जान्छ ।


एमाले गण्डकी संसदीय दलले अहिलेको सरकारलाई २० बुँदे ध्यानाकर्षणपत्र बुझायो । ध्यानाकर्षणपत्र बुझाएपछि पनि सरकारको रबैयामा सुधार आएन । लोकतन्त्रमा प्रतिपक्षीको भूमिका महत्वपूर्ण हुन्छ । लोकतन्त्रमा प्रतिपक्षीको आवाज सुनिदैन भने सरकार जनताप्रति जवाफदेही छैन भन्ने बुझिन्छ । अहिलेको सरकारले त्यस्तै गरेको छ । कोभिडको तेस्रो लहरले जनजीवन अस्तव्यस्त हुँदा सरकारले ठोस रुपमा केही काम गर्न सकेन । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विगतमा संसदको रोस्टममा उभिएर बोलेका कुरा पूरा गर्न सक्नु भएन । भाषण गर्नु र काम गर्नु फरक कुरा हो भन्ने प्रष्ट भएको छ ।


गण्डकी प्रदेश सरकारले निर्वाचन क्षेत्र विकास कार्यक्रमका योजना कार्यान्वयन गरेका छैन । सरकारले सात महिनासम्म पनि विकास खर्च गर्न सकेको छैन । करिब दोस्रो चौमासिक पूरा गर्दा सरकारले बजेटको ठूलो हिस्सा खर्च गर्नुपर्ने थियो । सरकारको चालु खर्चको बढोत्तरीले विकास खर्च धान्न मुस्किल परेको छ । खर्चमा मितव्ययिता र सुशासन कायम गर्न सरकार चुकेको छ । सैद्धान्तिक हिसाबले नीति योजना र बजेटभन्दा वाहिरबाट काम भएका छन् ।

Advertisement


विगतको सरकारले निर्माण गरेको प्रथम पञ्चर्षीय योजना सबैको साझा योजना भएकाले वर्तमान सरकारले विगतमा निर्धारण गरिएका योजना र विकासका लक्ष्यलाई कटौती गरेर नयाँ अझै बजेटबाहिरका योजनामा रकमान्तर गरिरहेको छ । प्रदेशमा गत वर्ष ठेक्का प्रक्रियामा गएका गौरवका आयोजना र बहुवर्षे योजनाका काम प्राथमिकताका साथ सम्पन्न गर्नुपर्नेमा वर्तमान सरकार सबै योजनाप्रति उदासीन बनेको छ । साना र खुद्रे योजना धेरै बनाउन लागेको छ । सबै बहुवर्षीय योजना समयमै सम्पन्न गर्नुपर्छ । दीर्घकालीन नीति तथा निदृष्ट लक्ष्यभन्दा बाहिरबाट काम गर्नु नीतिगत भ्रष्टाचार हो । अहिलेको सरकारले त्यही गरेको छ । वितरणमुखी योजनामा काम गर्नु अनियमिताको प्रवृत्ति हो । सरकार र सरकारी संयन्त्रले गरेका काम जनतासँग प्रत्यक्ष रुपमा जोडिनुपर्छ । नजोडिएको खण्डमा सरकारको काममा जनताको अपनत्व हुँदैन । अहिले त्यस्तै भएको छ ।

Advertisement
अहिलेको सरकारको प्रतिपक्षसँग कुनै सहकार्य र समन्वय छैन । सरकार र प्रतिपक्ष भेटिने प्रदेशसभामा हो । अहिले प्रदेश सभा चालु अवस्थामा छैन ।


अघिल्लो सरकारले ल्याएको ५ वर्षभित्र सबै घरधुरीमा एक घर एक धारा पुर्‍याउने लक्ष्य निर्धारण गरेको थियो । विगतको प्रदेश सरकारको लक्ष्यबाट अहिलेको सरकार भागेको छ । १ घर १ धारा कार्यक्रमको बजेट कटौती गरिएको छ । विगतमा टेन्डर भएका योजनाका लागि थप बजेटको व्यवस्थापन गरिएको छैन । जसका कारण जनताको स्वच्छ पानी पिउन पाउने अधिकारबाट वञ्चित हुँदै छन् । पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण होम स्टेको बजेट काटिएको छ । अहिलेसम्म उज्यालो गण्डकी प्रदेश घोषणा हुनुपर्ने हो तर हुन सकेको छैन । गण्डकी प्रदेशका सबै पालिकाको केन्द्र जोड्ने सडक बन्न सकेका छैनन् । गण्डकी प्रदेश सभाका प्रत्येक निर्वाचन क्षेत्रका एक महत्वपूर्ण सडकका योजना सरकारले आफू अनुकूल राखेर अरुलाई खारेज गरेको छ । अहिलेको सरकारले गरेका राम्रा कामलाई भत्काउने काममात्र गरेको छ । विगतको सरकारमा ७ जना मन्त्री थिए । अहिलेको सरकारमा ११ मन्त्री बनेको जनताका लागि नयाँ कुरा बनेको छ ।


अहिलेको सरकारको प्रतिपक्षसँग कुनै सहकार्य र समन्वय छैन । सरकार र प्रतिपक्ष भेटिने प्रदेशसभामा हो । अहिले प्रदेश सभा चालु अवस्थामा छैन । नीति, योजना र बजेट निर्माणबारे छलफल गरेको छैन । प्रतिपक्षको रचनात्मक सुझावबाट सिर्जनशील र रचनात्मक काम हुन्छ । अहिलेको सरकारको त्यसतर्फ ध्यान गएन । गण्डकी प्रदेश स्थापना भएको दिन नेपालमा संघीयताको जग हालेको दिन हो । त्यसैले यो दिनलाई उत्सवको रुपमा मनाउनु पर्छ । सबै प्रदेशका जनताले खुसीयाली मनाउने र सबै दलले अपनत्व ग्रहण गर्ने गरी महत्वपूर्ण पर्वको रुपमा मनाउनुपर्नेमा त्यो हुन सकेन । सरकारले स्थापना दिवस मनाउने सूचना दिएको छ । औपचारिक कार्यक्रम के हुन्छ, थाहा छैन ।

लमजुङबाट प्रत्यक्ष निर्वाचित गण्डकी प्रदेश सभाका सदस्य र नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिवसमेत रहेका दवाडीसँग समाधानकर्मी श्याम कुँवरले गरेको कुराकानीमा आधारित

धनञ्जय दवाडी

लमजुङबाट प्रत्यक्ष निर्वाचित गण्डकी प्रदेश सभाका सदस्य दवाडी नेकपा एमाले गण्डकी  प्रदेश कमिटीका सचिव हुन् । 

तपाईको प्रतिक्रिया