राजनीतिमा जनताको सहभागिताबाट समृद्धि

डा सञ्जय कोइराला २०७८ फागुन ६ गते २०:०६


डा सञ्जय कोइराला


म पनि एक नेपाली हुँ सच्चा नेपाली, देशभक्त नेपाली । मभित्र यो राष्ट्रियता कहिले पलायो म यसै भन्न सक्दिनँ । तर यो देशमै बसेर आफ्नै भूमीमा पसिना बगाउन चाहने म जस्ता सोच भएका नेपालीमा कुनै न कुनै दिन यो भावना अवश्य पलाउनेछ भन्ने मेरो विश्वास छ । एक दिन अवश्य आउनेछ जब सबैलाई लाग्ने छ कि देश रहे हामी नेपाली रहन्छौं, देश नै नरहे हाम्रो अस्तित्व कहाँ रहला ?


देश भनेको दशगजाभित्र रहेको नेपाली सेनाले सुरक्षा गरिरहेको ढुंगा, माटो, खोलानाला र हिमालमात्रै होइन । यो एक मनोभावना हो, संस्कृति हो, आत्मसम्मान हो । सबै नेपालीलाई एउटै मालामा जोड्ने डोरी हो । आज यो डोरीमा खिया लागिरहेको छ, हामी यसैमा बाँधिएकाहरु नै एकापसमा लडेर, जुधेर यो डोरी चडाउने प्रयासमा तल्लीन छौं !

Advertisement


राजनीतिको नाममा यो देशमा कैयौं परिवर्तन भए, हजारौंले देशका लागि भनेर आफ्नो जीवन नै बलिदान दिए । दशकौं बितिसक्यो, तर परिवर्तनको महसुस आम जनताले कत्ति पनि गर्न पाएका छैनन् । समयचक्रले ल्याएको विकासबाहेक यो देशमा अहिलेसम्म कुनै पनि मै हुँ भन्ने पनि स्वयं त परिवर्तित भए तर देश परिवर्तन गर्न सकेनन् ।

देश भनेको दशगजाभित्र रहेको नेपाली सेनाले सुरक्षा गरिरहेको ढुंगा, माटो, खोलानाला र हिमालमात्रै होइन । यो एक मनोभावना हो, संस्कृति हो, आत्मसम्मान हो ।

Advertisement


आखिर किन र कहिलेसम्म यो चक्र चलिरहन्छ त ? कहिले आउला त देशमा परिवर्तन ? कहिले आउला त त्यो दिन जब जनताले यो उभन्दा अलि कम भ्रष्ट होला, त्यसैले यसैलाई भोट दिन्छु भन्ने हैन कि यो भन्दा उसले अझ राम्रो काम गर्न सक्छ भन्ने आत्मविश्वासका साथ आफ्नो अधिकार को समुचित प्रयोग गर्ने छन् ?


त्यो दिन तब आउनेछ, जब हामी सबैले यो कुरा बुझ्नेछौं कि अहिलेको राजनीति भनेको छलनीति गर्नेहरुको मात्र पेवा भएको छ । राजनीतिलाई जबसम्म घृणाको रुपमा हेरिन्छ, फोहोरी खेलको रुपमा हेरेर जबसम्म एक सक्षम नेपाली राजनीतिबाट पर रहन खोजिरहन्छ, तबसम्म परिवर्तनको आस गर्न सकिँदैन । अहिलेको परिवेशमा देशका अधिकांश योग्य नागरिक राजनीतिको ‘र’ पनि सुन्न चाहदैनन् । खुलेर लाग्नु त परैको कुरा हो ।


हामी अधिकांश समय यो भएन र उ भएन भनेर सरकार र नेताहरुको आलोचना गरेरै बिताइरहेका छौँ । हामीले हाम्रो अधिकारको समुचित प्रयोग होइन, प्रयोग नै गर्न चाहेका छैनौं । लोकतन्त्रको सौन्दर्यता भनेकै एक भोट हो, जनताको बल भनेकै भोट हो र त्यही भोट दिन पनि हामी अधिकांश नेपालीलाई फुर्सद छैन । मात्र चिया गफमै सिमित भएरै बसिरहेका छौँ । हामीमाझ राजनीतिको गलत बुझाइ छ ।


हाम्रा हरेक क्रियाकलाप, जन्मदेखि मरणसम्म जोडिएको राजनीतिबाट पर रहन खोज्ने अनि अरुले गरेको भएन भनेर आफू आफू बीच ठुलो स्वर गरेर केही पनि फाइदा छैन । यही मनोभावनाको फाइदा लिदै राजनीतिलाई अझ घृणित बनाउने र जनतालाई अझै यसबाट पर राख्ने रणनीतिमा हालका राजनैतिक दलहरु लागिरहेको स्पष्ट बुझ्न सकिन्छ । जति धेरै जनताको राजनीतिमा सहभागिता हुन्छ उति नै राजनीति सफा हुने सम्भावना बढी हुन्छ । मात्र कार्यकर्ताको भोटको भरमा सम्पूर्ण राज्यको शक्ति हातमा लिएर मनोमानी गर्ने प्रवृति बिस्तारै हट्दै जानेछ ।

अब बेला भएको छ सबै जनताले आफ्नो विवेक प्रयोग गर्ने । मेरो बुवा कांग्रेस, त्यसैले म पनि कांग्रेस, यो पार्टीमा लागेर मैले यो फाइदा पाउछु, यो मान्छेले मेरो लागि यो गर्छ । यस्तो मनोभावनाबाट माथि उठेर समग्र देश र आउदो पिँढीका बारेमा सोच्न जरुरी छ । राजनीतिलाई हामीले तल्लो स्तरको दर्जा दिंँदा राजनीतिले हामीलाई नै तल्लो स्तरको व्यवहार गरिरहेको कुरा बुझ्नु पर्छ । अब हरेक नेपालीले आफ्नो विवेक प्रयोग गरी व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशका लागि सोच्ने बेला आएको छ । आफूले चुनेको नेतृत्वलाई उत्तरदायी बनाउने बेला आएको छ । मैले एक भोट हालेर के हुन्छ र, जो आए पनि यस्तै गर्ने हुन् भन्ने जस्ता मानसिकता त्याग गरी मेरो पनि जिम्मेवारी हो, मेरो एक भोटले पनि केही परिवर्तन ल्याउन सक्छ भन्ने भावनाका साथ अघि बढ्न जरुरी छ ।


देशका अब्बल जनशक्ति अब विदेशतिर होइन, देशमै बसेर राजनीतिमा रुचि राखेर देश विकासका लागि अग्रसर हुनु पर्छ । म होइन, हामी सबै मिलेर देश बनाउनुपर्छ भन्ने भावनाका साथ हरेक विषयका विद्वानहरु मिलेर राजनीतिमा लाग्नु पर्छ र यो देशको मुहार फेर्नु पर्छ ।

नाक, कान, घाँटी रोग विशेषज्ञ डा कोइराला अहिले राजनीति शास्त्रमा स्नातकोत्तर गर्दै छन्

डा सञ्जय कोइराला

नाक कान घाँटी रोग विशेषज्ञ डा कोइराला राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दै छन् । 

तपाईको प्रतिक्रिया