मुस्ताङ, सुरुङ मार्ग र केबलकार

समाधान संवाददाता २०७८ फागुन २१ गते ११:२२


विकासको कुरा आउँदा नेपालमा सुँगा रटाइ हुन्छ कि नेपाललाई सिंगापुर बनाऔं, स्विट्जरल्यान्ड बनाऔं । खासमा सिंगापुरसँग नेपालको तुलना नहुनुपर्ने हो । आधुनिकताको बाटो समातेको समयमात्रै हामी सिंगापुरसँग मेल खाने कुरा हो । सन् १९५० को दसकबाट नेपाल आधुनिक युगमा प्रवेश गर्‍यो र सिंगापुर पनि त्यही दसकदेखि उदायो । यता राजा महेन्द्रले लादेको तानाशाही पञ्चायती शासनले ३० वर्ष राज गर्‍यो, सिंगापुरमा तानाशाही नै सही लि क्वान ऊ ले विकासमा फड्को मारे ।

सिंगापुर नेपालको काठमाडौं खाल्डोभन्दा सानो देश हो । जहाँ उचाइ भनेको अग्ला भवनहरु हुन् । हामी १ लाख ४७ हजारभन्दा बढी वर्ग किलोमिटर फैलिएको र भौगोलिक जटिलता भएको देश हौं । दृढ इच्छा शक्तिको पाटो सिंगापुरबाट लिन सकिने शिक्षा हो, तर ऊसँग हाम्रा धेरै असमानता छन् । समानता धेरै भएको देश बरु स्विट्जरल्यान्ड नै हो । जुन आफैंमा आफैजस्तै भूपरिवेष्ठित छ । डाँडाकाँडा र हिऊँ परिरहने क्षेत्र पनि छ । हाम्रो भौगोलिक जटिलता ऊसँग मेल खान्छ । जसरी स्विट्जरल्यान्डले भूगोलको जटिलता चिर्न सुरुङमार्ग र केबलकारहरुको विकास गरेको छ, त्यो हामीले सिक्नुपर्छ ।


हालै हाम्रो विकट जिल्ला मुस्ताङमा केबलकार र सुरुङ मार्गको प्रसंग एकैपटक उठेको छ । कास्कीको वीरेठाँटीबाट मुस्ताङको मुक्तिनाथसम्म ८० किलोमिटर केबलकार निर्माण गर्ने हो भने त्यो विश्वकै लामो केबलकार हुँदोरहेछ । त्यति दुरी सडक मार्गबाट जाँदा दिन जान्छ, केबलकारले २ घन्टा पनि नलगाई पुर्‍याउँछ । सडक मार्ग निकै जटिल छ, डाँडाकाँडा, उकालैउकालो र भिरपहराहरु छल्नुपर्छ । सडक मार्गमा अर्बाैं लगानी भएको छ, तर चुस्त सडक आजको दिनसम्म बन्न सकेको छैन । नबनाई भने भएको छैन । मुस्ताङको मुक्तिनाथ नेपाली र भारतीयहरुको प्रसिद्ध तीर्थस्थल हो । धार्मिक पर्यटकको यहाँ कुनै खरखाँचो हुँदैन, सडकमार्ग चुस्त हुने हो भने । केबलकार भइदिए त झन् गज्जब ।

Advertisement

अहिले ५० हजार भारतीय पर्यटक मुक्तिनाथ जान्छन् वर्षमा । भारतीयहरुको विशेषता के भने उनीहरु पहाडसँग डराउँछन्, हिँड्न सक्दैनन् । केबलकार भइदिए सजिलै पुग्न सक्ने थिए । बौद्धमार्गीहरुको पनि उत्तिकै आस्था रहेको मुक्तिनाथमा बौद्धमार्गी पर्यटक पनि लैजान सकिन्छ । मुक्तिनाथको अपार सम्भावना छ । तेस्रो मुलुकका पर्यटक त मुस्ताङको अदभुत भौगौलिक र हिमाली बनोटमा त्यसै लठ्ठिन्छन् । तिनको पनि सम्भावना धेरै छ । आन्तरिक पर्यटकको पनि कमी हुने ठाउँ होइन मुस्ताङ । निजी क्षेत्रको पहल भइरहेको केबलकार निर्माणको प्रक्रिया सरल बनाइदिन राज्यको ध्यान जान जरुरी छ ।


सडक मार्ग त झन् मुस्ताङमा नभई भएको छैन । त्यसको जुन अप्ठेरो छ, समाधान भनेको स्विट्जरल्यान्डका पहाडहरुमा जस्तै सुरुङमार्ग हो । योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले हालै मुस्ताङ भ्रमणका क्रममा यस्तो उपाय फुराउँदै सर्भे गर्नुपर्ने खाँचो जुन औंल्याए । त्यो सही छ । उपाध्यक्ष विश्व आफैंमा विश्व बुझेका अर्थशास्त्री र विकासविद् हुन् । म्याग्दी खण्डका २ स्थानमा सुरुङ मार्ग जरुरी भएको उनको जुन ठम्याइ हो, त्यसै हावामा आएको हैन, एउटा विकासविद्ले स्थलगत भ्रमणपछि निकालेको निष्कर्ष हो । भिर र पहिरोबाट मुक्ति पाउने फाइदा त सुरुङमार्गले दिन्छ नै सुरक्षित र छोटो पनि हुन्छ त्यस्तो विकल्प । सुरुमा लगानी धेरै भए पनि दीर्घकालका लागि नेपालले आफ्नो भूगोल अनुसार सुरुङमार्ग निर्माण नगरी धरै छैन ।

Advertisement

मुस्ताङ जस्तो लाखौं लाख पर्यटक लैजान सकिने भूगोलमा सुरुङमार्ग निर्माण गर्न राज्यले खर्चको चिन्ता किन मान्नुपर्दैन भने त्यहाँ टोल (शुल्क) लगाएरै पनि लगानी उठाउन सकिने सम्भावना हुन्छ । मुलुककै अर्थतन्त्रमा योगदान पुर्‍याउन सक्ने मुस्ताङको पर्यटनको पूर्वाधारका लागि सरकारले केबलकार र सुरुङमार्गजस्ता योजनालाई प्राथमिकता दिन जरुरी छ ।

तपाईको प्रतिक्रिया