लमजुङको सुन्दरबजारमा कर्फ्यु

समाधान संवाददाता २०७८ फागुन २५ गते १०:४६

बेसीसहर ।

लमजुङको सुन्दरबजार नगरपालिका–९, सिउँडीबार क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यु जारी भएको छ। जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो।

यहाँस्थित फ्युचरस्टार आवासीय माध्यामिक विद्यालयका एक विद्यार्थीको पौडी खेल्ने क्रममा मर्स्याङ्दी नदीमा डुबेर मृत्यु भएको घटनाका कारण उत्पन्न स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु लगाइएको प्रशासनले जनाएको छ।

Advertisement

जिल्ला प्रशासन कार्यालयबाट जारी सूचना अनुसार कर्फ्युको क्षेत्र सुन्दरबजार नगरपालिका–७ को पूर्व–दक्षिण स्थित पाउँदी पुल, पूर्वतर्फ राइनासतर्फको मर्स्याङ्दीनदीको पुल, पश्चिमतर्फ सोही नगरपालिका–९ को मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रको आवास क्षेत्रको गेट अगाडीको पुल र उत्तरतर्फ सोही वडाको सिउँडीबार चोकसमेत चारकिल्ला भित्र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको छ।

मंगलबार दिउँसो पौडी खेल्ने क्रममा फ्युचरस्टार आवासीय माध्यमिक विद्यालय कक्षा १० का विद्यार्थी सनिज श्रेष्ठको मृत्यु भएको थियो। तनहुँको भानु नगरपालिका ९, बाइसजाँगरका श्रेष्ठ होस्टेलमा बसेर पढ्दै आएका थिए। होस्टेलबाट एक जना शिक्षक र दुई जना विद्यार्थी पौडी खेल्न मर्स्याङ्दीमा गएका थिए। उनीहरूमध्ये पौडी खेल्ने क्रममा नदीले बगाएर सनिजको मृत्यु भएको हो। शवलाई पोष्टमार्टमको लागि बेंसीसहरस्थित जिल्ला अस्पतालमा राखिएको छ।

Advertisement

प्रमुख जिल्ला अधिकारी बैद्यका अनुसार निषेधाज्ञाको समयमा सवारी साधन आवतजावतमा बन्द गरिएको छ । दूध बोकेका गाडी, एम्बुलेन्स र प्रेसलाई आउजाउ गर्न दिइने छ । अन्य कुनै पनि सवारी साधन चल्न पाउने छैन । निषेधाज्ञा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित भएको छ । पोखरा र तनहुँबाट समेत प्रहरी ल्याएर परिचालित गरिएको प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले बताए ।

घटना हुनुमा स्कुलको लापरबाही देखाउँदै आफन्तले मंगलबार विद्यालयमा तोडफोड गरेका थिए । भीडले दुईवटा स्कुल बस, एउटा भ्यान र स्कुलको मुल गेट तोडफोड गरेका हुन् । स्कुलको वार्डेनसँगै गएका विद्यार्थीलाई मस्र्याङ्दीले बगाएपछि आफन्त र स्थानीयको प्रदर्शनले स्कुल क्षेत्रमा तनाव बढेको थियो । मध्यान्ह १२ बजेतिर दुईजना विद्यार्थी र होस्टेल वार्डेन मस्र्याङ्दी नदीतिर गएकोमा पौडी खेल्ने क्रममा दिउँसो १ः१५ बजेतिर श्रेष्ठलाई मर्स्याङ्दीले बगाएको प्रहरीले बताएको छ ।


विद्यार्थीको आफन्तलाई थाहै नदिई शव पोष्टमार्टमका लागि अस्पताल ल्याएको भन्दै स्थानीयले बेंसीसहरस्थित जिल्ला अस्पताल र प्रहरी कार्यालयमा आएर पनि प्रदर्शन गरेका थिए । प्रहरीले स्कुलका शिक्षक सरोज अमलिया र एकजना विद्यार्थीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

मंगलबार बेलुका पीडितका परिवार र आफन्तसंग बसेर छलफल गर्दा पीडित परिवार सहमतिमा नआएपछि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ । घटनाको सुक्ष्म तरिकाले अनुसन्धान गर्ने, घटनाको वास्तविकता पत्ता लगाएर दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउने प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया