२४ सै घन्टा खुलेपछि लेकसाइड गुल्जार

सञ्जय रानाभाट २०७८ फागुन २९ गते १७:३०

पोखरा ।
पर्यटकको चहपहल हुने पोखराको लेकसाइड २४ घन्टा खुला भएको छ । सरकारले बुधबार पर्यटकीय आवागमन बढी हुने पोखराको लेकसाइड, काठमाडौंको ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला गर्ने निर्णय गरेसँगै यी क्षेत्र गुल्जार हुन थालेका हुन् ।
यसअघि लेकसाइडका व्यवसाय राति १२ बजेसम्म सञ्चालन हुँदै आएका थिए । व्यवसायी, स्थानीय र प्रहरी प्रशासनबीच कुरा नमिल्दा व्यवसायीले आधा रातमै व्यवसाय बन्द गर्नुपर्ने अवस्था थियो । रात्रिकालीन व्यवसाय गर्न दिने निर्णय गरेसँगैे पोखराका पर्यटन व्यवसायी उत्साहित भएका छन् । सरकारले व्यवसायीको हितलाई मध्यनजर गर्दै यो निर्णय गरेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।


उनले सरकारले गरेको निर्णललाई स्वागत गर्दै व्यवसायी आन्तरिक तयारीमा जुट्ने सुनाए । ‘सरकारले निर्णय गरेको छ । यो विस्तारै हुँदै जान्छ । एकै चोटि २४ सै घण्टा खुल्छ भन्ने छैन । सरकारले तयार गरेको मापदण्ड पालना गर्दै अगाडि बढ्छौं ।’
रात्रिकालीन व्यवसायमा होटल, लाउन्ज, डान्स क्लब, रेस्टुरेन्ट, बार, दोहोरी साँझ लगायत पर्छन् । सुवेदीले अब लेकसाइडको व्यवसाय तंग्रिने बताए । रात्रिकालीन व्यवसाय गर्न अनुमति पाएसँगै पोखरामा रोजगारी बढ्ने र पर्यटक पनि खुलेर रम्न सक्ने उनले बताए । त्यसो हुँदा व्यवसाय सञ्चालन गर्न दोब्बर कर्मचारी आवश्यक पर्ने छन् । ‘धेरै समय खुल्ने भएपछि सिफ्ट अनुसार काम लगाउनुपर्ने हुन्छ । यसका लागि रोजगारी बढ्छ । रोजगारीसँगै आम्दानी पनि बढ्छ ।’


यो निर्णय लागू भएपछि पोखराको लेकसाइडमा छुट्टै रौनक हुने अपेक्षा गरिएको छ । पर्यटन व्यवसायी गणेश थापाले सरकारले गरेको निर्णय स्वागत योग्य भएको उल्लेख गरे । लेकसाइडका व्यवसाय २४ सै घण्टा खोल्नुपर्छ भनी आवाज उठाउँदै आएकोमा त्यो अहिले पूरा भएको उनको भनाइ छ । यसबाट व्यवसायी र देशको अर्थतन्त्रमा दुवैका लागि फाइदा हुने उनको भनाइ छ ।
‘व्यवसायीले २४ सै घण्टा सञ्चालन गर्न माग गरेपछि यसअघि सम्बोधन भएको थिएन ।

Advertisement

सम्बन्धित निकायलाई दबाब दियौं । तर कार्यान्वय भएको थिएन,’ उनले भने, ‘पाहुना रातभर रमाउन चाहन्छन् तर बाध्यताले व्यवसायीले आधा रातमा बन्द गर्नुपर्ने थियो ।’ थापाले यसरी रात्रिकालीन व्यवसाय चलाउन लेकसाइडको सुरक्षा व्यवस्थापन पनि चुस्त बनाउनुपर्ने औंल्याए । ‘रातभर व्यवसाय सञ्चालन गर्दा झै–झगडा पनि हुन सक्छ । यसलाई मध्यनजर गर्दै थप सुरक्षाको व्यवस्था जरुरी हुन्छ,’ उनले भने ।


लेकसाइडका व्यवसायीले अब सिफ्टअनुसार कर्मचारी राख्नुपर्ने उनले बताए । ‘व्यवसायको प्रकृति अनुसार ात्रीकालीन व्यवसाय सुरु भएपछि दोब्बर÷तेब्बर संख्यामा रोजगारीका अवसर सिर्जना हुने छन्,’ उनले भने । लेकसाइडमा अब सिसी क्यामेरा पनि थप गर्नुपर्ने थापाले उल्लेख गरे ।

Advertisement


रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा संगीतको आवाज र होहल्ला समस्या बन्न सक्ने
रेन्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) अध्यक्षमा लक्ष्मण बरालले बताउँछन् । झैझगडा, होहल्ला र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरीलाई थप स्रोत, साधन आवश्यक पर्ने जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारी बताउँछन् । व्यवसायी, पर्यटक र स्थानीयमा सचेतना बढाउन सके सुरक्षा व्यवस्था मजबुत बनाउन थप सहज हुने उनको भनाइ छ ।


रेबान पोखराले अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गरेको पोखरामा सडक महोत्सवको उद्घाटन गर्दै मन्त्री खाँणले पोखराको लेकसाइड २४ सै घण्टा खुलाउने बताएका थिए । उनले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न स्थानीय, पर्यटक र स्थानीय प्रशासनले छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने सुझाएका थिए । मन्त्री खाँणले घुम्न आएका पर्यटकलाई स्वतन्त्र भएर घुम्न बताएका दिए थप पर्यटक आउने बताएका थिए ।


गृह प्रशासन सुधार कार्ययोजना अनुरुप पर्यटकको आवागमन बढी हुने स्थानमा बजार, पसल, होटल २४ घण्टा खुला राख्नका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउने व्यवस्था अनुसार पोखरा २४ सै घण्टा खुला हुने भएको हो । रात्रिकालीन सेवा सञ्चालन हुँदा व्यवसायीको आम्दानी बढ्ने तथा पर्यटकले पनि आफूले चाहे अनुरुप सेवा लिन पाउने छन् ।



सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया