स्वास्थ्य

जोमसोमका होटलमा छड्के बजार अनुगमन

झन्डै २० प्रकारका अखाद्य वस्तु फेला

सुन्दरकुमार थकाली २०७८ चैत ३ गते १२:५८
मुस्ताङको जोमसोममा संञ्चालित होटलमा भेटिएका अखाद्य वस्तु नष्ट गरिदै । तस्विर ः घरेलु तथा साना उद्योग कार्यालय ।

धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम संञ्चालित होटलहरु छड्के बजार अनुगमन गरिएको छ ।म्याद गुज्रिएका अखाद्य वस्तुको प्रयोगले नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै घरेलु तथा साना उद्योग कार्यालय मुस्ताङको पहलमा जोमसोमक्षेत्रका डेढ दर्जन होटलहरुको छड्के बजार अनुगमन गरिएको जनाईएको छ ।
कोरोना कहरका कारण ठप्प रहेको मुस्ताङको पर्यटनक्षेत्र विस्तारै कोरोना संक्रमण न्यूनिकरण हुँदै गईरहेको जिल्लामा पर्यटकीय गतिविधि समेत बढ्दै गईरहेको बेला कार्यालय छड्के बजार अनुगमन थालेको घरेलु तथा साना उद्योग कार्यालय मुस्ताङका कार्यालय प्रमुख प्रेमप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार कार्यालयको अगुवाईमा जिल्ला प्रशासन कार्यालय,कोष तथा लेखा नियन्त्रण कार्यालय,जिल्ला प्रहरी कार्यालय,घरपझोङ गाँउपालिका,उपभोक्ता हित संरक्षण मञ्च,पत्रकार महासंघ,मुस्ताङ उद्योग वाणिज्य संघ,गैसस महासंघ लगायतको संयुक्त टोलीले जोमसोमक्षेत्रका साना—ठुला होटलहरुमा प्रयोग हुने खाद्य सामाग्रीको अनुगमन गरिएको हो । संयुक्त अनुगमन टोलीले व्यवसाय दर्ता भए÷नभएको,नविकरण भए नभएको,खाद्य गुणस्तर तथा नियन्त्रण महाशाखाको मापदण्ड अनुसार समानहरु भए नभएको र अखाद्य वस्तु प्रयोग भए नभएको र व्यवसायीले पान वा भ्याट बिलको प्रयोग गरे नगरेको लगायतको अनुगमन गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताए ।
कोरोना कहरपछि मुस्ताङ सदरमुकाम जोमसोमका होटलहरुमा पहिलो पटक बजार अनुगमन गरिएको हो । अनुगमन टोली जोमसोमको पुथाङ एयरपोर्टदेखि जोमसोमको काठेपुलसम्म सञ्चालन भएका होटलहरुको बजार अनुगमन गरेको उनले जनाए । उनका अनुसार होटल तथा रेष्टुरेन्टमा प्रयोग गरिने झन्डै २० प्रकारका अखाद्य वस्तु फेला परेको जानकारी दिए । होटलहरुमा खुद्रा सामाग्री भारी मात्रामा फेला परेको र आउँदा दिनमा अखाद्य वस्तु प्रयोग नगर्न व्यवसायीलाई सचेत गराईएको उल्लेख गरे ।
बजारको आर्थिक कारोवार चुस्त दुरुस्त राख्न र मानव जनस्वास्थ्यलाई प्रतिकुल प्रभाव नपार्न बजार अनुगमन गर्ने अधिकार जिल्ला प्रशासन कार्यालय,कोष तथा लेखा नियन्त्रण कार्यालय,स्थानीय तह र घरेलु तथा साना उद्योग कार्यालयलाई रहेको घरलु तथा साना उद्योग कार्यालयका प्रमुख श्रेष्ठले बताए ।बुधबार कार्यालयको पहलमा गरिएको बजार अनुगमनमा भेटिएका अखाद्य सामाग्री सरोकारवाला निकायको रोहबरमा नष्ट गरिएको उनले जानकारी दिए ।उनले आउँदा दिनमा क्रमश बजार नियमित बजार अनुगमनलाई तिब्रता दिईने जनाए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया