बिनाकामको म बहादुर

जिएस नेपाली २०७८ चैत ४ गते १९:५७


जिएस नेपाली


खैरो कपाल नीला आँखा चिटिक्क पहिरन । पोटिलो अनुहार, हसिलो मुहार, अन्दाजी २५ वर्ष कि एक गोरीले मेरो कपालमा हात लगेर भन्न थाली, आहा तिम्रो कपाल त कति नरम र मसिनो । तिमीलाई कस्तो हियरकट मन पर्छ नि ? म अमेरिका गएको झन्डै ३ वर्ष भएको थियो, तबसम्म यसरी कुनै अपरिचित महिलासँग नजिक भएकोे थिइनँ । ऊ कहिले मेरो अगाडि उभिइन्थी, कहिले पछाडि । उसको मुटु मेरो कानैनेर हुन्थ्यो उसले सास फेरेको अर्थात मुटु चलेको मैले नजिकैबाट थाहा पाउँथे । उसले लगाएको पफ्र्युमको गन्ध मैले राम्ररी लिइरहेको थिएँ । उसको ध्यान पूर्णरुपमा मेरो टाउकोमा थियो ऊ र उसको काम देखेर मेरो ध्यान अन्तै थियो अर्थात नेपालमा ।


म सानै थिएँ । मेरो गाउँमा पढेलेखेका मान्छे कमै थिए । म स्कुल जाने हुँदा मेरो दिदी खेतबारीको काममा जान्थिन् । १५ पुगेर १६ लागेपछि बुबाले दिदीलाई निकै परको गाउँको केटासँग बिहे गरिदिनुभयो । उसबेला म साह्रै रोएको थिएँ । किनकी मैले सोचेको थिएँ मेरी दिदी नचिनेको गाउँमा नचिनेको केटाको घरमा कसरी बस्छिन् ? बिहेको केही दिनपछि दिदी भिनाजुसँग आइन् । मैले हतारिँदै सोधें, ‘नचिनेको मान्छेको घरमा कसरी बस्यौ दिदी ?’ ऊ बेला दिदीले मलाई भनेकी थिइन्, ‘म छोरो भएको भए पढ्थें, यही आफै काम गरेर बाँच्थे । छोरी भएर अर्कैको भरमा बाँच्ने मान्छे भएँ । बाउले दिएको केटाको घरमा जानै पर्‍यो ।’

Advertisement


केही वर्ष पहिले एकल (विधवा) महिलाको बारेमा न्युज डकुमेन्ट्री तयार गर्दै थिएँ । केही एकल महिलासँग कुराकानी गर्दा धेरै एकल महिलाका साझा समस्या बारेमा तब मात्र थाहा पाएँ जुन कुरा मैले कहिल्यै संवेदनशील रुपमा सोचेकै थिइनँ । अन्तर्वार्ताको क्रममा एक युवतीले भनेकी थिइन्, ‘छोरीलाई सक्षम केटा खोजेर दिने पुरातनवादी सोच हटाऊँ छोरीलाई स्वयं सक्षम बनाऊँ । छोरी सक्षम भई भनेपछि आउने जुनसुकै समस्यासँग लड्न सक्छे । सक्षम केटा र खानदानी घर खोजी जति नै खर्च गरेर बिहे गरे पनि परनिर्भर छोरी एक दिन हामी जस्तै दुख पाउँछे—पाउँछे ।’


मैले सम्झें, काठमाडौंमा पहिले टेम्पो चालक महिला थिएनन् । समाजले तत्काल जे भने पनि आफ्ना लागि बाच्न लक्ष्मी शर्मा जस्ता केही महिला कम्मर कसे आज कति धेरै टेम्पो चालक महिला छन् । वास्तवमा अहिले ती महिलाका लागि श्रीमान् पुरुष साथीमात्र छन् । आफ्नो पेसाका कारण परनिर्भरताको बन्धन र पुरुषको दासत्वबाट मुक्त छन् भन्न सकिन्छ ।

Advertisement


मैले धेरै सोच्दा सोच्दै त्यो सुन्दरी खैरिनीले मलाई झस्काई । मेरो कपालका रौं त्यसको कपडामा धेरै नै टाँसिएका थिए । तिनै रौं झार्दै थिई । मैले अगाडिको ऐनामा हेरे उस्ले मेरो कपाल अझै केही मिलाउँदै थिई । मलाई ऊसँग कुरा गर्न मन लाग्यो । सोधें यो पेसा गरेको कति भयो र कसरी सुरु भयो त ? उस्ले आफूलाई गर्व गर्दै भनी ७ वर्ष भयो यो पेसामा लागेको । मैले युनिभर्सिटीमा पनि हेयर डिजाइन बारेमा नै पढें । पैसा पनि राम्रो छ कामबाट पनि सन्तुष्ट छु । अमेरिकनहरु हेयर स्टाइल धेरै बनाउने हुनाले प्रशस्त ग्राहकको मन जित्न सकिन्छ र पैसा पनि । सबैभन्दा ठूलो कुरा म आफैमा भरिपूर्ण रुपले बाँचेकी छु । उसले बोलिरहँदा मेरो कपाल सारै छोटो बनाइसकेकी थिई । सोधी आर यु ओके ? थ्याङ्क्यु आएम डन भन्दै मैले २० डलरको नोट झिकें । १५ डलर कपाल काटेको फी थियो, ५ डलर टिप्स भन्दै दिएँ । उस्ले आफ्नो सेतो अनुहारका कलरफूल नीला आँखा अगाडिको झुन्डिएको खैरो कपालको तरेली हल्लाउँदै मेरो इनफरमेसन कम्प्युटरमा चढाई । हँसिलो मुहार बिचका पिंक कलरले हल्का पोतेका ओठ फार्दै रसिद दिँदै भनी थ्याङ्क्यु कम ब्याक एगेन प्लिज । उसको बरगन्डी कलरको एप्रोनमा टल्किरहेका मेरो कालो कपालका केही टुक्रा रौंसँगै थोरै मन पनि त्यही छाडेर म त्यो हेयर प्लसबाट बाहिरिएँ ।


फेरि अर्कोपटक पनि अचम्मलाग्दो सम्झना छ । संसारको नै राजधानी मानिने न्युर्योक सहरको ज्याक्सन हाइटमा रहेको एक हेयरकट सैलुनमा कपाल काट्न गएको थिएँ । एक स्पेनिस जस्तो देखिने मान्छेले मेरो कपाल काट्दै थियो । केही बेरपछि देखें, अगाडि भित्तामा नेपाली राष्ट्रिय गीत अनि अचम्म मान्दै सोधेँ, ‘होयर आर यु कम फ्रम मेन ? उसले गर्वका साथ भन्यो, ‘आएम कम फ्रम नेपाल ।’ म तिनछक ! आफ्नै कपाल काटिरहेको नेपाली दाजुभाइसँग अंग्रेजीमा कुरा गरिरहेको । आश्चर्य मान्दै परिचय सोधेँ । साथी सोलुखुम्बु, चौरीखर्कका पासाड नोरु सेर्पा रहेछन् । ७ वर्ष अगाडि अमेरिका आएका उनी पाउनु दुख पाएर यो बार्बरको काम सिकेर आफ्नै व्यवसाय गरिरहेको अनि सुख, खुसी र पैसासँगै आएको बताए । विदेशमा श्रम गर्नेको सन्मान हुन्छ चाहे पियन होस् वा हाकिम उसको पदलाई हैन कामलाई सम्मान गरिन्छ । हामीकहाँ सामन्तवादी संस्कार र हिन्दु धर्मको उचनिचताले बनेका जात प्रथाको अवशेष अझै बाँकी छ । त्यसैले हामीकहाँ मानिसको काम र व्यवहारलाई सम्मान गरिँदैनमात्र उसको पद, आर्थिक हैसियत र जातलाई माथि ठानिन्छ ।


त्यसैले पुस्तौं पुख्यौली पेसा गर्नेहरु पेसा छाडेर अन्य पेसा गर्ने वा विदेश पस्न बाध्य छन् । पेसालाई लगेर जात र लिंगमा जोड्ने र जात अनुसारको वर्ग वा भेदभाव गर्ने नेपाली समाजले कामको महत्व नबुझेसम्म देश विकास हुनै सक्दैन । संसारमा बच्चा जन्माउने, दूध खुवाउने जस्ता प्राकृतिक काम बाहेक महिलाले गर्न नसक्ने काम केही छैन । जात भन्ने मानसिक उपज र पुरानो संस्कारको उपजबाहेक अरु केही हैन ।


कामले काजी बन्ने हिजोको समाजका हामी नेपाली पुरुष पनि आज काम खोजीमै दिन काटेका छौं । धेरै युवा त विदेश पसेका छन् । बिनाकामका बहादुर भइरहेका छौं । भनिन्छ नेपालको कार्य क्षमतावान जनशक्तिको आधा अर्थात ५० लाख युवा विदेशिएका छन् । नेपालमा हुनेहरु पनि कामको खोजीमा नै जिन्दगी काटेका छन् । बिडम्बना के छ भने नेपालमा काम गर्र्ने उद्देश्यले नै दैनिक हजारौ भारतीय नेपाल भित्रिरहेका छन् । नेपालमा नै काम गरेर, व्यापार वा उद्योगधन्दा गरेर मासिक अरवौ नेपाली पैसा विदेश पठाइरहेका छन् । पोखरा क्षेत्रमा कपाल काट्ने व्यवसायको मात्र कुरा गर्ने हो भने करिब तीनसय जती हेयर सेलुन तथा टाटु व्यवसाय छन् । यसमा काम गर्ने ९५ प्रतिसत भारतीय अर्थात बिहार र उत्तर प्रदेशका ठाकुरहरु छन् । नेपाल नाई संघ कास्कीमा आबद्ध भएका नाईहरुको संख्या नै दुई सय ५० माथि रहेको बताउँछन् संस्थाका अध्यक्ष बिगुलाल ठाकुर । यो संस्था नेपाल ट्रेड युनियन कांग्रेससँग सम्बन्धित हो भने संस्था बाहिर पनि केही नाइहरु छन् जो भारतीय ठाकुरहरु नै हुन् ।

तर खुसीको कुरा पोखरामा नै केही युवाहरुले बार्बर तथा टाटु व्यवसाय चलाएका जो पहाडीमूलका नेपालीहरु पनि हुन् । करिब १५ जना त्यस्ता व्यवसायी १८ देखि ३० वर्षे युवायुवती छन् । कतिले कपाल काट्ने व्यवसायमा टाटु पनि मिसाएका छन् भने कसैले ब्युटी सैलुन बनाएका छन् । नमस्ते हेयर सेलोन एन्ड टाटुका सञ्चालक सुरज राई भन्छन्, ‘यो पेसाले आफ्नै देशमा बसेर परिवार पालिएको छ कमाइ राम्रै छ ।’ सुरुताका लाज लाग्थ्यो भन्छन् उनी । कसैले केही भन्ने हो कि भन्ने डर लाग्थ्यो रे ।

कामले काजी बन्ने हिजोको समाजका हामी नेपाली पुरुष पनि आज काम खोजीमै दिन काटेका छौं । धेरै युवा त विदेश पसेका छन्

आजकल यो मेरो पेसा हो अनैतिक धन्दा हैन भन्ने आत्मविश्वास उनीमा छ । भन्छन्, ‘श्रम गरेर खान पनि के को लाज जस्तो लाग्छ ।’ आजभन्दा करिव १२ वर्ष अघि पोखरामा शम्भु लिम्बुले खोलेको पहिलो जि एच हेयर सेलुन एन्ड टाटुले ग्राहकको सेवामात्र गरेन नयाँ पहाडी नेपाली युवालाई पनि सिप सिकायो र व्यवसाय गर्न घचघच्यायो । प्राय त्यहींका उत्पादन पोखरेली युवाहरु हेयर सैलुन व्यवसायमा अहिले व्यस्त छन् र पैसा मस्त कमाएका छन् ।


प्राय हामी नेपालीलाई सामान्य काम गर्न इज्जतको सवाल छ । यो काम गरे समाजले आफन्तले के भन्लान भन्ने चिन्ता छ । सामान्य काम हामी गर्दैनौ । बरु घर बेचेर विदेश जान्छौं । आखिर विदेशमा गएर पनि गर्ने के ? उही रेष्टुरेन्टको भाडा माज्ने, गाडी धुने, गाडी चलाउने , सेभेन इलाभेन र ग्यासस्टेसनमा चुरोट बेच्ने । हामी कहा कामलाइ हेला गरिन्छ । महिलाले यो काम गरे जात जान्छ र पुरुषले यो काम गरे इज्जत जान्छ भनी समाज सस्कृती, लींग र शाररिकक बनोटका आधारमा हेरिन्छ । कामलाइ नचिन्दा हामी अल्छी र गरिव बन्दै छौ| । भारतबाट आउनेले तरकारी काधमा बोकेर बेच्न हिड्दा खिल्ली गर्ने हामी नेपाली शहरबासी अर्थात महलबासीहरु उही तरकारी बेच्नेले आफ्नै घरको घाम छेक्ने महल अगाडl ठड्ए पछl थाहा पाउFछौ कामको परिणाम । बजारमा कपाल काट्नेमात्र हैन सडक निमार्ण वा घर निमार्ण रंगरोगनजस्ता साना कामदेखि ठूला डिपाटमेन्ट स्टोर र थोक बिक्रेता भारतीयले कति कमाएका छन भन्ने अहिले मात्र थाहा हुँदैछ । तर पनि अझै नेपाली कपाल काट्ने बार्बर बन्न हिच्किचाउँछन् ।


पोखरा पर्यटकीय सहर हो, यहाँ धेरै प्राकृतिक दृश्य छन् । तर पनि धेरै कृत्रिम साहसिक खेलका स्थलहरु पनि बनाइएको छ । कोरोनाका कारण विश्वसँगै नेपाल र पोखराको पर्यटन व्यवसाय पनि चपेटामा पर्‍यो तर पनि यसै समयमा नेपाली पर्यटक आइदिनाले पोखरेली पर्यटन व्यवसायीले सास फेर्न सकेको बताउँछन् व्यवसायी दिनेश महर्जन । महिलालाई कमजोर ठान्ने पुरुषहरुले थाहा पाउनै पर्ने तथ्यगत कुरा के छ भने जिपलाइन, बन्जीजम्प र प्याराग्लाइडिङ जस्ता सहासिक खेल सञ्चालन गरेका हाइग्राउन्ड एडभान्चरका मेनेजर दिनेशका अनुसार यस २ वर्षको समयमा एडभेन्चरमा आएका साहसिक पर्यटकमा बहुुसंख्यक नेपाली महिला छन् । यसबाट के स्पस्ट हुन्छ भने नेपाली महिलाहरुले पनि अवसर र वातावरण पाउने हो भने जुनसुकै साहसिक कार्य गर्न कम छैनन् । दिनेश भन्छन्, ‘नेपाली युवा घरकी श्रीमती, आमा वा दिदीबैनीको डर र करले नै नेपाली बहादुर फौजी र लाहुरे बनेका रहेछन् क्यारे ।’

जिएस नेपाली

कान्तिपुर टेलिभिजनका लागि पोखराबाट लामो समय रिपोर्टिङ गरेका नेपाली अचेल फ्रीलान्स जर्नालिज्म गर्छन् 

तपाईको प्रतिक्रिया