५ सय टन फोहोर सडकमै डम्पिङ

सञ्जय रानाभाट २०७८ चैत ५ गते २२:११

सञ्जय रानाभाट

पोखरा ।
पोखरा यति बेला दुर्गन्धित भएको छ । फोहोरमैला व्यवस्थापन हुने ल्यान्डफिल साइटका बासिन्दा आन्दोलित हुँदा महानगरभित्रको फोहोर उठ्न सकेको छैन । आन्दोलनरत पोखरा १४ का स्थानीयले महानगरसँग ७ बुँदे माग राख्दै सडक अवरुद्ध गरेपछि फोहोरमैला व्यवस्थापन अस्तव्यस्त बनेको हो ।


स्थानीयले फोहोरमैला लैजाने बाटो रोकेपछि ५ दिनदेखि फोहोर सडक किनारमै थुप्रिएको छ । सडक पेटीमा हिँड्ने यात्रु नाक, मुख छोपी हिँड्न बाध्य छन् । कुहिएको फोहोरबाट निस्केको गन्धले रोग फैलन सक्ने सम्भावना पनि उत्तिकै छ । शनिबार पोखराको न्युरोडमा भेटिएका पैदलयात्री राज दाहालले ५ दिनमै महानगरपालिकाको हरिबिजोक भएको टिप्पणी गरे । ‘५ दिनमै महानगर डुङ्डुङ्ती गन्हायो,’ उनले भने, ‘महानगरले जनताको स्वास्थ्यमा गम्भीर खेलवाड गरेको छ । यसबारे आन्दोलनरत पक्ष र महानगर दुवैले सोच्नुपर्छ । फोहोरमा राजनीति गर्नु हुँदैन ।’

Advertisement


फोहोर व्यवस्थापनमा अन्योल हुँदा पोखराका मुख्य चोक महेन्द्रपुल, चिप्लेढुंगा, भैरव टोल, बगर, न्युरोड, नयाँबजार, हस्पिटल, अमरसिंह चोक, लेकसाइड आदिमा दुर्गन्ध फैलाएको छ ।े महानगरपालिकाले आफूहरुसँग वार्ता नगरकोे संघर्ष समिति अध्यक्ष बोधराज कार्कीले बताए । ‘शुक्रबार वार्ता भएको थियो तर उहाँहरुले अधिकार ल्याउनुभएको रहेनछ । अधिकार लिएर वार्तामा आउनुप¥यो । शनिबार कास्कीका सिडियोसँग कुरा भएको थियो । वार्ताको टेबलमा बस्न हामी तयार छौं,’ उनले भने ।
पोखरा १४ मा स्वास्थ्य ल्याबसहितको सहरी स्वास्थ्य चौकी बनाउन कार्कीले माग गरे । उनले भने, ‘दाह संस्कारका लागि आवश्यक घाट निर्माण, सडक र पोखरा १४ र पोखरा २१ निर्मलपोखरी जोड्ने पुल हाम्रा माग हुन् ।’ यी माग पूरा नहुँदासम्म आन्दोलन नरोकिने उनको भनाइ छ ।


पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले आन्दोलनरत पक्षले अत्तो थाप्ने काम गरेको टिप्पणी गरे । उनले भने, ‘महानगर वार्ताका लागि बस्न छ । तर उहाँहरु वार्ता गर्न तयार देखिनु हुन्न । बाटोमा बसेर वार्ता हुँदैन । त्यसमाथि महानगर प्रमुख बिरामी हुनुहुन्छ ।’

Advertisement


प्रवक्ता नेपालीले महानगरपालिकाले पूर्वाधार निर्माणमा वडालाई ५४ लाख बजेट छुट्याइसकेको जानकारी दिए । ‘उहाँहरुले १ करोड माग्नुभएको खुलेको छ । तर, महानगरपालिकासँग यति बेला बजेट छैन । अप्ठेरो बेलामा अड्को थाप्ने काम गर्नु हुँदैन । स्वास्थ्यसँग जोडिएको विषयमा स्थानीयले आफ्नो स्वार्थलाई माथि राखेर सोच्ने बेला आएको छ,’ प्रवक्ता नेपालीले भने ।


५ दिन फोहोर नउठ्दा महानगरपालिकामा ५ सय टन फाहोर थुप्रिइसकेकोसरसफाइ महाशाखा प्रमुख कल्पना बराल बताउँछिन् । उनले महानगरले दैनिक १ सय टन फाहोर व्यवस्थापन गर्दै आएकाले थुप्रिएको फोहोर व्यवस्थापन गर्न समय लाग्ने सुनाइन् । ‘हाम्रो क्षमता भनेको दैनिक १ सय टन फोहोर व्यवस्थापन गर्ने हो । यसका लागि हामीसँग निजी कम्पनीका २७ वटा गाडी छन् । दैनिक सबैले ३ खेप गरे पनि करिब करिब १ हप्ता व्यवस्थापन गर्न समय लाग्ने देखिएको छ,’ बरालले भनिन् ।
उनले बजार एरियाको सरसफाइ गर्न २ मात्र दिन लाग्ने सुनाइन् । ‘बाटोमा राखिएको फाहोर कुहिसकेको छ । यसलाई व्यवस्थापन गर्न कठिन नै छ । गाडीमा लोड गरेर राखिएका फाहोरले गाडीको फलाम खिइने बेला भइसक्यो । स्थानीय पनि यस्तो विषयमा गम्भीर हुनपर्छ,’ बरालले भनिन् ।


५ दिनदेखि सडकबाट फोहोर मैला नउठ्नुमा कतिपयले महानगरपालिकालाई दोषी देखाएका छन् भने कतिले स्थानीयले फाहोरमैलामा राजनीति गरेको टिप्पणी गरेका छन् । ‘अहिले पोखराको सडकमा देखिएको फोहोर वडा नम्बर १४ ले गरेको राजनीति होइन । अपमान र विभेदले आजित भएपछि गरेको विद्रोह हो । अटेर हो । यसले सर्वसाधारणलाई मर्का त परेको छ, तर तपाईंहरूलाई परेको २÷४ दिने मर्काको तुलनामा हामीले खेपेको ऐतिहासिक विभेदको प्रताडना कयौँ गुणा पीडादायी छ,’ स्थानीय गणेश पौडेले आफ्नो फेसबुकमा लेखेका छन् । पौडेलले आगामी ३० वैशाखमा हुने स्थानीय चुनावमा मयेरमा लड्ने घोषणसमेत गरेका छन् ।


महानगरपालिकाले फाहोर मैला व्यवस्थापन गर्न नसक्नु विडम्बना भएको नागरिक समाजका अगुवा रामबहादुर पौडेल बताउँछन् । उनी भन्छन्, ‘माग पूरा गर्ने नाममा पोखरालाई कुरुप बनाउनु आन्दोलनकारीको गम्भीर गल्ती हो ।’ जनतासँग गरेको सहमति कार्यान्वयनमा लैजान नसक्नु पोखरा महानगरको गैरजिम्मेवारपन भएको उनको टिप्पणी छ ।


नकुहिने फोहोर किन्दै सहकारी
घरमा नकुहिने फोहोर छ ? कहाँ फाल्ने भन्ने समस्या भएको छ ? फोहोरलाई तपाई मोहोरमा बदल्न सक्नुहन्छ । पोखरा १६ अर्मलामा रहेको ग्रिन भ्याली बहुउद्देश्यीय सहकारीले पैसा दिएर फोहोर संकलन गरिरहेको छ ।


फोन गरी घरमा नकुहिने फोहोर भएको जानकारी दिए संकलनहरु घरै आईपुग्ने छन् । सहकारीको पोखरा १६ अर्मलामा स्थापना भएको फोहोर संकलन केन्द्रले यसरी फोहोर संकलन गर्ने सहकारीका अध्यक्ष प्रकाश आचार्यले बताए ।


अहिले पोखरा महानगरपालिकाले ल्यान्डफिल साइटका स्थानीयले अवरोध गरेपछि फोहोर उठाउन सकेको छैन । सडक छेउमा फोहोरका थुपा छन् । आचार्यले सहकारीले पैसा नै दिएर १ वर्षदेखि फोहोर उठाउँदै आएको जानकारी दिए । तर कुहिने फोहोर भने सहकारीले लिदैन । घरमा फोहोर संकलन भएपछि वर्गीकरण गरी फोन गरेर बोलाएमा लिन पठाइने उनको भनाइ छ ।


अहिले प्लास्टिक प्रति केसी ८ रुपैयाँ, कागज प्रति केजी १० रुपैयाँ, फलाम प्रति केजी ४० रुपैयाँ, कपडा ४ रुपैयाँ प्रति केजी, तामा प्रति केजी ६ सय ५० रुपैयाँ र बियरका बोत्तल प्रति २ वटाको १ रुपैयाँ दिने गरिउको छ ।


अहिले १ सय ४३ जना सयेर सदस्य रहेको सहकारीको ५० लाख सेयर पुँजी छ । उनले भने, ‘नकुहिने फोहोर पैसा दिएरै तपाईको घरबाटै उठाउँछौं । ९८५११९३५६२ मा सम्पर्क गर्नुहोस् र फोहर लिन आउन समय लिनुहोस् ।’ सम्भव भए खबर गरेकै दिन नभए भोलिपल्ट फोहोर उठाउने उनले प्रतिवद्धता गरे ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया