पाेखरामा पटक-पटक केटाकेटीको सुन चोर्दै लागुऔषध किन्ने अम्बिक हिरासतमा

सञ्जय रानाभाट २०७८ चैत ८ गते १०:०४

पोखरा ।
साना केटाकेटीहरुलाई ललाइफकाई उनीहरुका गहना चोरी गरेको आरोपमा स्याङ्जा चापाकोटकी २५ वर्षीय अम्बिका पुलामी मगर पक्राउ परेकी छन् । ४ चैतमा बालबालिकाको कानको मुन्द्रा चोरेको आरोपमा उनी समातिएकी हुन् । एउटै आरोपमा उनी समातिएको दोस्रोपटक हो ।


उनी यसअघि ५ पुसमा जिल्ला अदालत कास्कीबाट धरौटीमा छुटेकी थिइन् । चोरीसम्बन्धी कसुरमा समातिएपछि १ लाख रुपैयाँ धरौटी बुझाएर छुटेकी २५ वर्षीया पुलामी फेरि पक्राउ परेकी छन् । स्याङ्जा घर भई पोखरा रामबजार बस्ने उनलाई ४ चैतमा घर नजिकैबाट पक्राउ गरिएको हो ।


अम्बिकासँगै सुन पसल सञ्चालक ६४ वर्षीय थमनसिंह विश्वकर्मा र २७ वर्षीय नितेश विश्वकर्मालाई पनि पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।

Advertisement

चोरी डाँकासम्बन्धी कसुरमा उनीहरूलाई जिल्ला अदालत कास्कीबाट ६ दिनको म्याद थपेर अनुसन्धान भइरहेको एसपी थापाले बताए । अम्बिकाले बच्चाहरुलाई मिठाइ दिएर ललाइफकाई सुनका मुन्द्रा चोरी आएकी थिइन् । बच्चाबच्चीलाई उनले नक्कली सुन लगाइदिन्थिन् । कास्की प्रहरीका डिएसपी सुन्दर तिवारीका अनुसार अम्बिकोले बच्चासँग आफू दिदी, फूपू, अन्टी भन्दै नाता लगाएर नजिक बन्थिन् ।


उनले चोर्ने सुन पोखरा राष्ट्र बैँक चोकस्थित पञ्चासे सुनचाँदी पसलमा लगेर बेचेकी थिइन् । ती सुन किन्ने सुन पसले पनि अहिले पक्राउ परेका छन् । दुवै पसले पञ्चासे सुनचाँदी पसलका सञ्चालक पोखरा–२३ का थमनसिंह र नीतिशा सुनचाँदीका सञ्चालक पोखरा–२१ का नीतेशलाई प्रहरीले पक्राउ गरेको छ । नीतेशको पसलबाट प्रहरीले ५ वटा मुन्द्रा (७.६ लाल) बरामद गरेको डिएसपी तिवारीले बताए ।

Advertisement


अम्बिका लागुऔषधको कुलतमा फसेपछि मुन्द्रा चोरे लागुऔषध खरिद गर्ने गरेको प्रहरीले बताएको छ । उनले प्रहरीलाई दिएको बयानमा भनेकी छन्, ‘मैले साथीसंगतमा लागुऔषध नाइट्रोभ्याट, फर्मुला तथा सिरिन्जको माध्यमबाट प्रयोग गरिने डाइजापाम सेवन गर्न सिकेकी थिएँ । लागुऔषधको सेवन गर्ने लत बसेको र सेवन गर्नका लागि खरिद गर्न पैसा नहुने हुँदा मैले स–साना बच्चाहरूलाई फकाएर उनीहरूको मुन्द्रा चोर्ने र लागुऔषध खरिद गर्छु भन्ने सोच बनाएँ,’ अम्बिकाले भनेकी थिइन् ।

गत २६ कात्तिकमा पोखरा–१४ का विभिन्न ठाउँबाट बच्चाहरूको मुन्द्रा चोरेकी थिइन् । बच्चाका परिवारले प्रहरीमा जाहेरी दिएपछि उनी ६ मंसिरमा पोखरा पृथ्वीचोकबाट पक्राउ परेकी थिइन् । गत ५ पुसमा धरौटीमा छुटेकी उनले निस्किएलगत्तै फेरि मुन्द्रा चोरी थालेकी हुन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया