मुस्ताङको कोरलानाकामा पक्राउ परे भारतीय नागरिक

समाधान संवाददाता २०७८ चैत १० गते १४:०४
मुुस्ताङको उत्तरी कोरलानाकामा पक्राउ परेका भारतीय नागरिक । तस्विर ःजिप्रका

जोमसोम—

अवैध ढंगले उत्तरी चीन स्वशासित क्षेत्र तिब्बत प्रवेश गर्न खोज्ने एक भारतीय नागरिक मुस्ताङको कोरलानाकाबाट पक्राउ परेका छन् ।भारतको श्रीनाथपुर त्रिपुरा कलकत्ता घर उल्लेख भएका २१ वर्षीय अब्दुल सुकुर उर्फ राज नाम गरेका भारतीय युवालाई कोरलानाका हुँदै तिब्बत छिर्ने क्रममा बुधबार बिहान १० बजे कोरलानाका स्थित चिनियाँ सुरक्षा अधिकारीहरुले पक्राउ गरेको हो।
तिब्बत छिर्ने क्रममा पक्राउ परेका भारतीय युवालाई कोरलानाकामा खटिएका चिनियाँ सुरक्षा अधिकारीले जिल्ला प्रहरी कार्यालय मुस्ताङको समन्वयमा सीमा प्रहरी चौकी लोमान्थाङलाई बुझाएको थियो । युवालाई कोरलानाकाको २४ नम्बर सीमा स्तम्भ कटेर तिब्बत पस्ने क्रममा पक्राउ गरिएको थियो ।पक्राउ परेका भारतीय युवालाई सीमा प्रहरी चौकी लोमान्थाङले जिल्ला प्रहरी कार्यालय मुस्ताङमा आवश्यक अनुसन्धानका लागि पठाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए ।
पक्राउ परेका भारतीय युवाको साथबाट एक थान सामसुङ मोवाईल पासपोर्ट,परिचयपत्र र नगद १५ सय रुपैया बरामद भएको छ ।कपाल पालेको,सेतो पाईन्ट,कालो टिसर्ट , जकेट चप्पल लगाएको र साथमा झोला समेत छ । उक्त भारतीय युवा हेर्दा सामान्य खालका देखिन्छन् ।प्रहरीको बयानमा युवाले आफु एक महिना अधि मात्र नेपाल आएको बताएका छन् ।त्यसपछि उनी तनहुको आबुखैरनी गाउँपालिका वडा नम्बर —१ आबुखैरनीको एक भैसी फार्ममा काम गरेका थिए ।प्रहरीको अनुसन्धानमा पक्राउ परेका युवा आफ्नो भैसी फार्ममा एक हप्ता काम गरेको फार्मका मालिक श्रीराम पौडेलले प्रहरी समक्ष बताएका छन् । उनले आफुले पसलमा दुध पू¥याउन जाने क्रममा भारतीय युवालाई बाटोमा हिड्दै गरेको देखेको र त्यसपछि आफ्नो भैसी फार्ममा काममा लगाएको फार्मका मालिक पौडेलले प्रहरीलाई जानकारी गराएका छन् ।त्यसपछि भारतीय युवा पोखरा जान्छु भनी १५ सय रुपैया लिएर हिडेको फार्मका मालिक पौडेलको भनाई छ ।
तनहुबाट पोखरा हिडेका उक्त भारतीय युवा चीनमा काम गर्न जाने भन्दै मुस्ताङबाट कोरलानाका पुगेको प्रहरी निरीक्षक अधिकारीले बताए । उनका अनुसार चीनमा काम गर्दा पैसा बढी पाईने भएकाले त्यहाँको होटल र फ्याक्ट्रीमा काम गर्न जाने उद्देश्यले कोरला पुगेको युवाले प्रहरीको बयानमा उल्लेख गरेका छन् ।
पक्राउ परेका भारतीय युवाको मोवाईलमा विदेशी संञ्चार माध्यमका विभिन्न एप्स समेत डाउनलोड गरिएको छ । हेर्दा सामान्य लाग्ने पक्राउ परेका उक्त युवालाई मानव सेवा आश्रम बाग्लुङमा पठाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ । प्रहरीका अनुसार यस घटनाबारे संघीय प्रहरी ईकाई कार्यालय काठमान्डौलाई समेत जानकारी गराईएको छ ।
यसअघि चालु वर्षको साउन २२ गते पनि कोरलानाकाबाट ४४ वर्षीय एक तिब्बती भिक्षु पक्राउ परेका थिए ।लामो समय भारतमा निर्वासित जिवन बिताएका उक्त तिब्बती भिक्षु त्यससमय तिब्बतमा आमा भेट्न भनी लुकिछिपी तिब्बत छिरेका थिए । उनलाई कोरलामा तैनाथ सुरक्षा अधिकारीले पक्राउ गरी मुस्ताङ प्रहरीको जिम्मा लगाएको थियो ।तिब्बतमा सास्कृतिक बिद्रोहपछि केही खम्पा बिद्रोहीहरु कोरलानाकाबाट भागेर नेपाल प्रवेश गरेका थिए । कोरलानाकामा खम्पा बिद्रोहपछि मानव तस्करी तथा अवैध क्रियाकलाप बढेपछि चिनले उत्तरी कोरलानाका सुरक्षा निगरानी कडा पार्दैआईरहेको छ । कोरलानाकामा चिनपक्षले अत्याधुनिक उपकरणसहित सीसी क्यामेरा जडान समेत गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया