पोखरा हाँक्ने मेयर खोज्दा २१ उद्यमीको चर्चा

समाधान संवाददाता २०७८ चैत २२ गते १३:४१

पोखरा ।
स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै अबको ५ वर्षका लागि पालिकाको प्रमुख को बन्लान् भन्ने कौतुहल उत्कर्षमा छ । चिया पसलदेखि, गल्ली, चोक, चौतारी हुँदै रेस्टुरेन्ट, होटल र रिसोर्टका जमघटको गफगाफमा यति बेला चुनावै छ ।
को बन्ला पोखराको अबको मेयर ? यही प्रश्नबाट सुरु हुने बहस राजनीतिक पार्टीका नेता, कार्यकर्ता वरिपरि घुमिरहन्छ । व्यक्तिमा भन्दा संगठनमा बल हुने भएकाले स्वतन्त्र उम्मेदवार विजयी हुने सम्भावना नदेख्नेहरु दलकै नेता वरिपरि केन्द्रित हुनु स्वाभाविकै हो । चर्चैचर्चाका बिच उद्यमी, व्यवसायीबाट मेयर आउनुपर्ने तर्क पनि एकथरीको छ । जब कि व्यवसायीलाई जनप्रतिनिधि, सांसद वा मन्त्री बनाउन हुन्छ, हुँदैन भन्ने बहस नेपाली राजनीतिमा प्रखर छ । व्यवसायीले राजनीति गर्ने विषयलाई कतिपयले आलोचना पनि गर्छन् । कतिपय भने सफल उद्यमी, व्यवसायीले समाज र राजनीतिको पनि सफल नेतृत्व दिन सक्ने र परिवर्तन ल्याउन सक्ने विश्वास गर्छन् ।


यसै हप्ता लेकसाइडमा युवा व्यवसायीको अनौपचारिक जमघट थियो । त्यो जमघटमा पनि पोखरा महानगरपालिकाको आगामी मेयरको खोजी हुन थाल्यो । पोखराको मेयर ठूला पार्टीबाटै हुनेछ भन्दै कांगे्रस र एमालेका नेतामध्येबाट मेयर खोजी भइरहेका बेलामा एकाएक निजी क्षेत्रले मेयर पाएमा पोखराको विकास सम्भव हुने विषय प्रवेश भयो । राजनीतिक दलनिकट रहेर काम गरेका, पार्टीको जिम्मेवारीमा पनि बसेका, पोखरामा सफल व्यवसायी र सामाजिक व्यक्तित्वका रुपमा स्थापितमध्येबाट पोखराको मेयर बनाउन सके विकासका एजेन्डाले थप प्राथमिकता पाउनेमा युवा उद्यमीहरु एकमत देखिन्छन् । युवा उद्यमीको हालैको त्यो जमघटले उद्यमी व्यवसायीबाट मेयर हुँदा पोखराको उन्नति हुने विश्वास ग¥यो । अनि तयार भयो पोखराका प्राइभेट सेक्टरका अगुवाहरुको सूचीः
आनन्दराज मुल्मी
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष मुल्मी महासंघको अध्यक्ष हुनुपूर्व पृथ्वनीरायण क्याम्पसमा अर्थशास्त्र प्राध्यापन गर्थे । राजधानी बाहिरबाट नेपाली निजी क्षेत्रको छाता संगठनको अध्यक्ष बन्ने उनी पहिलो व्यक्ति हुन् । उनी अध्यक्ष भएकै बेलामा नेपालमा नयाँ कर प्रणाली भ्यालु एडेड ट्याक्स (भ्याट) सुरु भएको हो । मुल्मी २०३९ सालमै पोखरा नगरपालिकाको प्रधानपञ्चमा उठेका थिए । हाला कि उनी त्यति बेला पराजित भए ।
निरञ्जन श्रेष्ठ
नेपाली युवा उद्यमी मञ्चका पूर्व अध्यक्ष निरञ्जन श्रेष्ठ नेपालकै स्थापित र सफल व्यावसायिक घराना लक्ष्मी हाउसका निर्देशक हुन् । पोखराको लक्ष्मी कन्फेक्सनरीबाट उद्यमशीलतामा अघि बढेको यो समूहले हाल डेरी, स्टिल, सिमेन्ट लगायत कैयौं उद्यम, व्यवसायमा सफलता प्राप्त गरेको छ । कोरियाली गाडी हुन्डाईको नेपाल डिलर पाएसँगै समूहले छलाङ मारेको हो ।
विप्लव पौडेल
नेपाल पर्यटन बोर्डका पूर्व सदस्य विप्लव पौडेल देशकै स्थापित हस्पिटालिटी व्यवसाय बाराही ग्रुपका कार्यकारी निर्देशक हुन् । सन् २०११ को नेपाल भ्रमण वर्षको पश्चिमाञ्चल संयोजक भएर काम गरेका पौडेल पश्चिमाञ्चल होटल संघका पूर्वअध्यक्ष हुन् । ‘जाऊँ है पोखरा’का अभियन्ता एवं पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्दोलनका अगुवा पौडेल नेपाल होटल संघका केन्द्रीय सदस्य छन् । उनी भिजिट नेपाल २०२० का केन्द्रीय सदस्य पनि थिए ।
किरण केसी
पोखराका चर्चित उद्योगी सूर्यबहादुर केसीका माइला छोरा किरण केसी आफ्नै बाबुले स्थापना गरेको व्यावसायिक साम्राज्यको नेतृत्व सम्हालिरहेका छन् । पछिल्लो समय राजनीतिमा पनि चासो राख्न थालेका किरण युवा उद्यमी व्यवसायीमाझ लोकप्रिय छन् । उद्योग, कन्ट्रक्सन, हाइड्रो पावर, बैंकिङ लगायत क्षेत्रमा ठूलो लगानी छ ।
आनन्द बतास
बतास अर्गनाइजेसका अध्यक्ष आनन्दराज बतास पोखराबाट उठेर नेपालभरमा स्थापित भएका व्यवसायी हुन् । नारायणहिटी संग्राहलयभित्र क्यान्टिन चलाउन सरकारी जग्गा लिजमा लिने विषयमा विवादमा परे पनि उनी देशकै सफल उद्यमी हुन् । उच्च राजनीतिक नेतृत्वसँग पनि सुमधुर सम्बन्ध बनाएका बतास कडा मिहिनेत गर्न सक्ने उद्यमीका रुपमा परिचित छन् ।
कालु गुरुङ
कुनै बेला पोखराकै सडकमा चल्ने नगर बसका कन्डक्टर कालु गुरुङ अहिले औंलामा गन्न सकिने अर्बपतिमध्येमा पर्छन् । रियल स्टेट व्यवसायबाट छलाङ मार्न सफल गुरुङले हाउजिङ र अपार्टमेन्टहरुमा ठूलो लगानी गरेका छन् । उनकै नेतृत्वमा पोखराको सेदीदेखि सराङकोटसम्म जाने अन्नपूर्ण केबलकार सञ्चालनमा आएको छ ।
कृष्ण आचार्य
दक्षिण एसियामै सबैभन्दा पहिला पोखरामा रारा चाउचाउ उत्पादन थाल्ने टिमका सदस्य आचार्य जलविद्युत आयोजनाका लगानीकर्ता हुन् ।
विष्णु कोइराला
युरोप भ्रमणका बेला गम्भीर सडक दुर्घटनामा परेर बालबाल बाँचेका इन्जिनियर विष्णु कोइराला सो दुर्घटनापछि शारीरिक रुपमा ‘फरक क्षमता’को भएका छन् । ह्विल चेयरमा हिँड्ने कोइराला देशका ठूला निर्माण व्यवसायीमध्येका एक हुन् । फेवा कन्ट्रक्सन प्रालिका अध्यक्ष कोइरालाले देशैभर ठूलाठूला आयोजनाहरु निर्धारित समयभित्रै सकेर ख्याति कमाएका छन् ।
सुशील प्रधानांग
सेलवेज डिपार्टमेन्ट स्टोरका सञ्चालक हुन् प्रधानांग । सेलवेजको विस्तार अहिले पोखराका विभिन्न ठाउँदेखि काठमाडौंका धेरै भागमा गर्न प्रधानांग सफल भइसकेका छन् ।
चन्द्रकान्त बराल
बाहुनले बंगुर, सुँगुर छुनै हुन्न भन्ने सामाजिक मान्यता रहेको समयमा २०३६ सालतिर बंगुरपालन व्यवसाय सुरु गरेर सामाजिक परिवर्तनको अगुवाइ गरेका चन्द्रकान्त बराल कुखुरा पालन, मासु प्रशोधन र दाना उद्योगका मालिक हुन् । बरालकै अगुवाइमा पोखराको पुम्दीभुम्दी डाँडामा विशाल शिवमूर्ति बनिरहेको छ र यो स्थान पोखरा आउने पर्यटकहरुका लागि नयाँ गन्तव्य भएको छ ।
विष्णु पाण्डे
पोखराको औद्योगिक क्षेत्रमा माछापुच्छ«े मेटल इन्डस्ट्री सञ्चालन गर्दै आएका विष्णु पाण्डेले हाइड्रो पावरका लागि अत्यावश्यक हुने पेनस्टक पाइप बनाउने उद्योगीका रुपमा ख्याति कमाएका छन् । कुनै रवाफ नदेखाई भित्रभित्रै काम गरिरहेका पाण्डेको माछापुच्छ्रे मेटल पेनस्टक पाइप उत्पादन गर्ने अग्रणी नेपाली उद्योग हो ।
पुष्पज्योति ढुंगाना
युवा उद्यमीमाझ हाइड्रो किङ उपनामले चिनिने उद्यमी पुष्पज्योति ढुंगानाले जलविद्युत, बैंक तथा वित्तीय संस्था र शिक्षामा ठूलै लगानी गरेका छन् । १ मेगावाटको पातीखोला हाइड्रो बनाएर यो क्षेत्रमा प्रवेश गरेका ढुंगानाको नेतृत्वमा ६० अर्बको लागतमा २८५ मेगावाटको अपर तमोर जलविद्युत आयोजना बन्दैछ । ४४ मेगावाटको सुपरमादी, ३५ मेगावाटको रिभरसाइड र २१ मेगावाटको पालुङखोला हाइड्रो निर्माणाधीन छन् भने १५ मेगावाटको हेवाखोला सम्पन्न भइसकेको छ ।
ध्रुव थापा
नेपाल अटोमोबाइल डिलर एसोसियसन (नाडा)का अध्यक्ष ध्रुव थापा राजधानी बाहिरबाट नाडाको अध्यक्ष बन्ने पहिलो व्यवसायी हुन् । लायन्स क्लबका डिस्ट्रिक गभर्नर भइसकेका थापा अटोमोबाइलबाहेक पर्यटन लगायत व्यवसायमा आवद्ध छन् । पोखरा २१ दोबिल्लाको मर्निङ ग्लोरी रिसोर्ट उनकै लगानीको हो ।
पुष्प अधिकारी
रुपा गाउँपालिकाको नांगो डाँडालाई पोखराको एउटा गन्तव्य बनाउन सफल पर्यटन व्यवसायी पुष्प अधिकारी रुपाकोट रिसोर्टका लगानीकर्ता हुन् । युरोपेली मुलुक बेल्जियममा व्यवसाय गरेर स्थापित भइसकेका अधिकारी आफ्नै जन्मथलोको विकासका लागि योगदान गर्छु भन्दै सपरिवार नेपाल आएको दसकभन्दा बढी भइसकेको छ ।
सञ्जीवबहादुर कोइराला
सञ्जीबहादुर कोइराला गण्डकी प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष हुन् । पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा पोखराको फुटपाथमा अव्यवस्थित अवस्थामा रहेको बजार हटाउने कार्यको नेतृत्व गरेर चर्चामा आएका कोइरालाले दोस्रो कार्यकालका लागि प्रदेश उद्योग वाणिज्य संघको नेतृत्व सम्हालिरहेका छन् ।
विश्वशंकर पालिखे
पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं नेपाल पर्यटन बोर्डका पूर्व सदस्य पालिखे पोखराको पर्यटन विकासका लागि योगदान गरिरहने उद्यमी हुन् । ‘जाऊँ है पोखरा’का अभियन्ता र एअरपोर्ट आन्दोलनका अगुवा पालिखेले छिमेकी मुलुक चीनबाट पोखरामा आर्थिक सहयोग ल्याउन अहम् भूमिका निर्वाह गर्दै आएका छन् ।
धनराज आचार्य
पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति भइसकेका आचार्य ५० को दसकदेखि व्यावासायिक क्षेत्रमा प्रवेश गरेका हुन् । पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य भएका उनी त्यसको नेतृत्वमा भने पुग्न पाएनन्, त्यसपछि पूरै ध्यान व्यवसायमा लगाए । पाठ्यपुस्तक प्रकाशन गर्ने युनाइटेड पब्लिकेसनका सञ्चालक उनको जलविद्युत र शिक्षा क्षेत्रमा लगानी छ । नेपालमै रासायनिक मलको कारखाना खोल्ने तयारीमा उनी जुटिसकेका छन् । उनी लायन्स क्लबमा डिस्ट्रिक गभर्नर भएका थिए ।
गणेशबहादुर भट्टराई
३० वर्षअघिदेखि पर्यटन क्षेत्रमा संलग्न भट्टराईको लेकसाइडमा होटल र रेस्टुरेन्ट छन् । उनकै अगुवाइमा २० वर्षभन्दा अघि पोखरा सडक महोत्सव सुरु भएको थियो । त्यो महोत्सव अहिले पोखरेली पर्यटन क्षेत्रको सबैभन्दा ठूलो चाड हो । रेबान र पोखरा पर्यटन परिषद अध्यक्ष भइसकेका उनले भूकम्पपछि पर्यटन पुनरुत्थान गर्ने अभियानको नेतृत्व गरिसकेका छन् ।
माइकल कर्माचार्य
पोखराको स्थापित औद्योगिक घराना कर्माचार्य ग्रुपका निर्देशक हुन् माइकल । पोखरा उद्योग वाणिज्य संघको महासचिव भइसकेका उनको घराना, चकलेट, बिस्कुट र तेल उत्पादन गर्छ । कोसेली तेल कर्माचार्य ग्रुपकै उत्पादन हो । कर्माचार्यको डेरी उद्योगसमेत छ ।
अशोक पालिखे
पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा जर्मनीको संस्थासँग सम्बन्ध जोडेर संघमा विभिन्न प्रोजेक्ट भिœयाउन सफल पालिखे पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष भइसकेका छन् । उनको अध्यक्षतामा पोखरामा नेपाल होटल मेनेजमेन्ट कलेज सञ्चालित छ । कुमुदिनी होम्स विद्यालयका सञ्चालक पालिखेको लगानी निजी अस्पतालमा पनि छ ।
नारायण पौडेल
अटोवेज प्रालिका अध्यक्ष नारायण पौडेल पोखराका स्थापित व्यवसायी हुन् । टोयोटा गाडीको डिलरबाट अटो व्यवसायमा स्थापित पौडेल बतास ग्रुपसँगको सहकार्यमा विभिन्न क्षेत्रमा लगानी विस्तार गरेका छन् । उनी प्रतिभा उच्च माविका अध्यक्षसमेत हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया