१६ सय होइन, १६ योजनामा रकमान्तर गरेको देखाए राजीनामा दिन्छु : मन्त्री खड्का

सञ्जय रानाभाट २०७८ चैत २४ गते ८:२६

ढुकुटी रित्तो भएका कारणले गर्दा योजना दुब्लाएका हुन् । टुक्रे ल्याउनु बाध्यता हो ।

सञ्जय रानाभाट ।

पोखरा ।
गण्डकी सरकारले रकमान्तर गर्दै टुक्रे योजना ल्याएको भन्दै संसदमा लगातार विरोध भइरहेको छ । विपक्षी दलले चुनावलाई मध्यनजर गरी कार्यकर्ता पोस्न यसो गरेको आरोप लगाइरहेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुमार खड्काले भने यो आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।

Advertisement


बुधबार प्रदेश सभामा सरकारका गतिबिधि र सांसदका प्रश्नको जवाफ दिँदै उनले नागरिकलाई सांसदहरुले गलत तथ्यांक दिएको जिकिर गरे । ‘माननीयहरुले लगातार गलत तथ्यांक भनिरहनुभएको छ । १६ सय योजनामा रकमान्तर गरेको भन्दै भ्रम छर्नुभएको छ । १६ सय होइन, १६ योजनामा बजेट रकमान्तर गरेको देखाए प्रदेश सरकार र प्रदेश सभा सदस्यबाट राजीनामा दिन्छु,’ मन्त्री खड्काले भने । ।


प्रतिपक्षसहित सत्ता पक्षकै सांसदले सोमबारको सदनमा टुक्रे बजेट ल्याएको भन्दै सरकारको आलोचना गरेका थिए । सत्ता पक्षकी सांसद धनमाया लामा र एमाले सांसद रामशरण बस्नेतले सरकारले महत्वपूर्ण योजनाको बजेट काटेर खुद्रा योजनामा रकमान्तरण गरेको आरोप लगाएका थिए ।

Advertisement


सांसद बस्नेतले प्रदेश सरकारले १ हजार ६ सय टुक्रे नयाँ योजनामा रकमान्तर गरी बहुवर्षीय योजनाको बजेट कटौती भएको भन्दै विरोध गरेपछि सरकारका प्रवक्तासमेत रहेका मन्त्री खड्काले यस्तो बताएका हुन् । प्रतिपक्ष सांसद बस्नेतले एउटा वडामा १ सय ५२ योजना पारिएको तर दुर्गम भेगमा खानेपानी, सडक, कृषि, शिक्षा, स्वास्थ्यका योजनाको बजेट काटिएको भन्दै विरोध गरेका थिए । उनले पूर्व सरकारले सुरु गरेका बहुवर्षीय र राष्ट्रिय गौरवका योजनाको बजेट पूर्वाग्रह लिएर कटौती गरेको आरोप लगाएका थिए ।


मन्त्री खड्काले वर्तमान सरकारले १० महिनासम्म एउटामात्र बहुवर्षीय योजनाको ठेक्का लगाइएको बताएका छन् । ‘प्रदेश सरकार गठन भएको १० महिना हुँदा एउटामात्र बहुवर्षीय योजना अगाडि बढेको छ । तर, जाँदाजाँदै अघिल्लो सरकारले ५ अर्ब १७ करोडका बहुवर्षीय योजनाअघि बढाएको होइन ? ती योजनालाई पनि यो सरकारले बजेटमा अघि बढाएको छ । सदनले दिएको आदेश शिरोधार गरी बजेट बिनियोजन भएको छ,’ मन्त्री खड्काले भने ।


उनले टुक्रे बजेट ल्याएको भने स्वीकार गरेका छन् । ‘टुक्रे बजेट ल्याएको सत्य हो, तर कि यस्तो भयो विवेचना गर्नु पर्दैन?’ उनले प्रश्न गरे, ‘मेरो मन्त्रालयको बजेट ८ अर्ब ५३ करोड हो तर, १७ अर्ब मैले तिर्नुपर्ने छ । यो कुर्चीमा बसेर मैले अर्बाै अर्ब, करोडौं करोडको बजेट दिन सक्ने अवस्था छैन । यस कारण टुक्रे बजेट बाध्यता हो ।’


अघिल्लो सरकारले धेरै बहुवर्षीय योजना ठेक्का लगाउँदा मन्त्रालयले भार धन्न नसकेको खड्काले सुनाए । ‘मन्त्रालयको बजेट यति कमजोर छ सोच्नु पर्दैन ? बहुवर्षीय कार्यक्रमहरु यति लगाउँदा भोलि धन्न सकिन्छ कि सकिँदैन भनेर ध्यान दिनु पर्दैन ? ठेकेदारले मन्त्रालय घेर्न आउने अवस्था छ, उनले भने ।
अब बजेट ल्याउँदा लाखका कार्यक्रम पनि दिन नसक्ने गरी सरकार थला परेको भन्दै उनले परिस्थितिप्रति संकेत गरे । ‘करोड करोडको कार्यक्रम दिँदा खेरी पैसा छैन । ढुकुटी रित्तो भएका कारणले गर्दा योजना दुब्लाएका हुन्,’ उनले भने, ‘टुक्रे योजना ल्याउनु बाध्यता हो ।’ उनले मन्त्रालयको बजेट ८ अर्ब ५३ करोड रहेको उल्लेख गरे । बजेट थोरै भएकाले लाखका योजना राख्नुपरेको उनको भनाइ छ ।


‘ठेकेदारले पैसा नपाएका कुरा सबै झुट्टा हुन् । सबै ठेकेदारले पैसा पाएका छन्,’ मन्त्री खड्काले भने । उनले ठेक्काबाट बचेको पैसा, योजनामा खर्च नभएको ४६ करोड २८ लाख रुपैयाँ रकमान्तरण भएको पैसा बहुवर्षीय योजनाको क्रृण तिर्नका लागि प्रयोग भएको उल्लेख गरे । ‘३३ करोड ७४ लाख ६० हजार यही ठेक्का भई रकम नपुगेका योजनालाई दिइएको छ,’ मन्त्री खड्काले भने, ‘ठेक्काबाट रोकिएका बजेटलाई नयाँ कार्यक्रम दिने परम्परा होइन विगतको ? केन्द्रले पनि गर्दैन तर, यो भौतिक पूर्वाधार मन्त्रालयले के ग¥यो भन्दा अधिकांश पैसा ऋण तिर्न प्रयोग गरेको छ ।’

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया