‘विज्ञापन कर तिर्दै तिर्दैनौं’ पोखरा पर्यटन व्यवसायी

समाधान संवाददाता २०७८ चैत २८ गते १६:११

पोखरा l
पोखराका पर्यटन व्यवसायीले पोखरा महानगरले लिन लागेको विज्ञापन कर कुनै हालतमा नतिर्ने जनाएका छन् । महानगरले आव ०७८/०७९ का लागि विज्ञापन कर उठाउन साइन हब प्रालिलाई जिम्मेवारी दिएको छ ।
आइतबार विज्ञप्ति निकालेर पोखरा पर्यटन परिषदमा आवद्ध संघ, संस्थाले यो कर नतिर्ने घोषणा गरेका हुन् । परिषद्मा यस क्षेत्रका १२ संघ, संस्था आवद्ध छन् ।

पोखरा महानगरपालिकाले ‘विज्ञापन कर’ को नाममा केही दिनयता पर्यटन उद्योगी व्यवसायीहरु माथि सिर्जना गरेको स्वेत आतंक प्रति निजि तथा पर्यटन क्षेत्रका संघ संस्थाहरुको छाता संस्था पोखरा पर्यटन परिषदको गम्भीर ध्यानाकर्षण भएको छ । परिषद् अध्यक्ष गोपीबहादुर भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा विज्ञापन कर उठाउन बन्द नगरिए कठोर कदम चाल्ने चेतावनी दिइएको छ।

साइन हवले केही दिनयता व्यवसायिक प्रतिष्ठानहरुमा पुगी विज्ञापन कर उठाउन थालेको छ । व्यवसायीले भने व्यवसायको चिनारीका रुपमा राखिएको बोर्डको शुल्क लिनु जायज नभएको जिकिर गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘कानुनले दोहोरो कर बर्जित गरेको छ । व्यवसाय कर पनि तिर्ने र त्यही व्यवसायको चिनारीको लागि राखिएको बोर्डको कर पनि तिर्नुपर्छ भन्ने कानुनको उल्घनमा नभएर व्यवसायीहरुको सार्वभौम अधिकारमाथिको आक्रमण एवं स्वतन्त्रतापूर्वक व्प्यवसाय गर्न पाउने संवैधानिक अधिकारमाथिको पनि धावा हो ।’

Advertisement

उनीहरुले महानगरको यो कदमलाई गैरजिम्मेवार अराजक र स्वेच्छाचारीको संज्ञा दिएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘राज्यबाटै व्यवासायीमाथि विज्ञापन करको नाममा लगाइएको यो कर कुनै पनि सर्तमा नतिर्ने निजी तथा पर्यटन क्षेत्रका संघ संस्थाहरुको छाता संस्था पोखरा पर्यटन परिषद दृढ रहेको छ ।’

Advertisement

तपाईको प्रतिक्रिया