मेयरमा कांग्रेसले पैचो तिर्नुपर्छः लामिछाने

समाधान संवाददाता २०७८ चैत ३० गते १०:४९

पोखरा l
नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा साझेदार दलबीच उम्मेदवार भागबन्डा लगाउन सकस परिरहेका बेला पोखरामा ३ प्रमुख पार्टीले प्रमुख पदमा दाबी गरेका छन् । नेपाली कांग्रेसको एउटा समूह पोखराका मेयरमा आफ्नो दाबी छोड्न नमिल्ने भन्दै दबाब दिन मंगलबार काठमाडौं गएको छ ।


गठबन्धनको अर्काे मूल घटक नेकपा माओवादीले पनि पोखराको मेयर आफूहरुले पाउनुपर्ने दाबी गरेको छ । माओवादीबाट मेयरका दाबेदार विश्वप्रकाश लामिछानेले ०७४ को निर्वाचनमा कांग्रेसका मेयर उम्मेदवार रामजी कुँवरलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए । यसपालि त्यसकै पैचो स्वरुप मेयर आफूले पाउनुपर्ने दाबी लामिछानेको छ । ‘कांग्रेस पार्टीले पैचो तिर्छ भन्ने विश्वास छ,’ उनले भने ।


जनमतका हिसाबले पोखरामा कांग्रेसपछि ठूलो पार्टी माओवादी भएको हुँदा अरु पार्टीबाट उम्मेदवार बनाउँदा जित्न कठिन हुने हुँदा माओवादी नै उपयुक्त भएको लामिछानेको दाबी छ । ‘हामीले मतदाता बढाएका छाैँ, हाम्रो उम्मेदवार हुँदा चुनाव जित्छौं,’ उनले भने, ‘माओवादीकै उम्मेदवार हुँदा अरु वामपन्थी मत पनि हामीलाई आउँछ ।’

Advertisement


पोखरा उपत्यका नगर विकास समिति अध्यक्ष हुँदा फेवातालसम्बन्धी अध्ययन प्रतिवेदन तयार गरी चर्चामा आएका उनी त्यति बेलाका कामबाटै आफू पोखरामा काम गर्न सक्षम रहेको पुष्टि भइसकेको बताउँछन् । ‘फेवाताल संरक्षण, फुटपाथ निर्माणमात्रै होइन, अरु तालहरु रुपा र बेगनास संरक्षण, दिपाङ, खास्टे, न्युरेनीमा बाँध निर्माण लगायत काम गरेको सबैले देख्नुभएकै छ,’ उनले भने । उक्त समितिका अध्यक्ष हुँदा पृथ्वीराजमार्गको अतिक्रमणसमेत उनले हटाएका थिए । पृथ्वीचोकबाट तनहुँको सीमा कोत्रेसम्म राजमार्गको दायाँबायाँका अतिक्रमण हटाएकै कारण आज त्यहाँ ६ लेन निर्माणको कामअघि बढ्न सम्भव भएको उनको दाबी छ ।


‘४० वर्षदेखि निरन्तर राजनीतिक आन्दोलनमा छु, संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि लडेको छु,’ उनले भने, ‘जसको विचार उसकै नेतृत्व भने झैं पोखराको नेतृत्व गरेर विकास र समृद्धिका लागि लागिपर्ने हो ।’

Advertisement

तपाईको प्रतिक्रिया