नाइन ए साइड राष्ट्रिय भेट्रान फुटबल वैशाख २ बाट

समाधान संवाददाता २०७८ चैत ३० गते ११:४८


पोखरा l


गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालय पोखरामा सर्वाधिक पुरस्कार राशिको नाइन ए साइड राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको तयारीमा जुटेको छ । २ वैशाखदेखि पोखरा रंगशालाको फुटबल मैदानमा हुने प्रतियोगिताको आवश्यक सकिएको छ ।


‘दैनिक १ घण्टा व्यायाम’ नारा दिइएको छ । नयाँ पिँढीलाई खेलकुदमा सहभागिता गराउन उत्प्रेरित गर्ने र ज्येष्ठ खेलाडीलाई खेलकुदमा सक्रिय रुपमा जोड्ने उद्देश्यसहित मन्त्रालयले प्रथम राष्ट्रिय ९ ए साइड फुटबल प्रतियोगिता गर्ने निर्णय गरेका हो । प्रतियोगिताको तयारी पूर्ण भएको प्रतियोगिताका संयोजक दिलबहादुर गुरुङले बताए ।

Advertisement


प्रतियोगितामा ४० देखि ६० वर्ष उमेर समूहका खेलाडीले सहभागिता जनाउन सक्ने छन् । प्रत्येक टिममा ५० वर्षमाथिका २ खेलाडीलाई अनिवार्य समावेश गर्नुपर्ने प्रावधान छ । पोखराबाट ६, काठमाडौंबाट ८ टिमको सहभागिता रहने प्रतियोगितामा वालिङ, सिमरा, हेटौडाबाट समेत गरी १९ टोलीको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रतियोगितामा नेपालबाट विभिन्न क्लबबाट व्यावसायिक फुटबल खेलसकेका पूर्व राष्ट्रिय खेलाडीको सहभागिता रहनेछ ।


युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले खेलकुदलाई बजेट छुट्टाउनुपर्नेमा जोड दिँदै खेलकुदमा गरिएको लगानीले प्रतिफल दिने बताए । ‘सरकारले खेलकुदमा लगानी गर्न पछि हट्नु हुन्न । खेलकुदमा लगानी गरेको प्रतिफल आउँछ भन्ने हेक्का नहुँदा लगानी गर्न सरकार डराइरहेको छ,’ उनले भने, ‘प्रतियोगितामार्फत सहभागी हुने खेलाडीले खेल पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउँछन् , जुन अप्रत्यक्ष देखिन्छ ।’

Advertisement


प्रतियोगितामा विजेता टोलीले नगद ३ लाख रुपैयाँ प्राप्त गर्ने छ । दोस्रो पुरस्कार १ लाख ५० हजार रुपैयाँ छ भने २ सेमिफाइनल पुग्ने टोलीले समान ३० हजार नगद पाउने छन् । सर्वोकृष्ट खेलाडीले नगद २० हजार पाउँदा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र सर्वाधिक गोलकर्ताले जनही नगद १५ हजार पाउने छन् । प्रतियोगिता गर्न ८ लाख ६० हजार खर्च हुने अनुमान छ ।

तपाईको प्रतिक्रिया