फुटबल प्रतियोगितामा हेमजा युनाइटेड लिग च्याम्पियन

समाधान संवाददाता २०७९ वैशाख २ गते १२:३२

पोखरा l
अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा भएको सावित्री निर्माण सेवा कास्की लिगकम नकआउट फुटबल प्रतियोगितामा हेमजा युनाइटेड क्लब च्याम्पियन बनेको छ । पोखरा रंगशालामा बिहिबार भएको फाइनल खेलमा शितलज्योति युवा क्लबलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै युनाइटेड च्याम्पियन बनेको हो ।


४–४ गोलको बराबरीमा निर्धारित समय सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । यसअघि खेलमा शितलज्योतिको तर्फबाट लीले गुरुङ र प्रतीक गुरुङले समान १ गोल गरेका थिए भने शहिल गुरुङले २ गोलको योगदान दिएका थिए ।
यता, च्याम्पियन बनेको युनाइटेडका लागि विशाल विक, सागर कुँवर र मनिष थापा मगरले समान १ गोल गरेका थिए । शितलज्योतिको तर्फबाट १ आत्मघाती गोल भएको थियो ।


उपाधि जितेको युनाइटेडले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद ७५ हजार प्राप्त ग¥यो । त्यसैगरी उपविजेता बनेको शितलज्योतिलाई सिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद ५० हजार प्रदान गरिएको खेल संयोजक नरप्रसाद गुरुङले जानकारी दिए । हेमजा युनाइटेडका सन्तोष विक सर्वाेत्कृष्ट खेलाडी बने ।

Advertisement


सोही क्लबकै सुरेश विक उत्कृष्ट गोलरक्षक, शितलज्योतिका सरोज विक उत्कृष्ट डिफेन्डर, सोही क्लबकै लीले गुरुङ उत्कृष्ट मिडफिल्डर र शितलज्योतिका प्रतीक गुरुङ उत्कृष्ट फरवार्डका रुपमा ट्रफीद्वारा पुरस्कृत भए । एन्फा कास्की अध्यक्ष मिलन गुरुङले विजेता टोलीले पोखरामा हुने दोस्रो संस्करणको गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा सिधै भाग लिन पाउने जानकारी दिए । एन्फा कास्कीमा दर्ता रहेका जिल्लाका २२ टिमको खेलमा सहभागिता रहेको थियो । २१ गतेबाट पोखरा २५ हेम्जास्थित गौरीशंकर खेलमैदान र पोखरा रङ्गशालाको वैकल्पिक खेल मैदानमा सञ्चालन गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया