निर्वाचन र नेतृत्व

समाधान संवाददाता २०७९ वैशाख ४ गते १७:४५

दिप्ती परियार l
स्थानीय निर्वाचन नजिकिँदा गर्दा बजार राजनीतिक गर्मागर्मीले तात्नु स्वाभाविक नै हो । त्यसमा पनि विश्वविद्यालयका प्रांगण यसै त राजनीतिको विश्लेषण गर्ने थलोको रुपमा रही नै हाल्थ्यो, अहिले त स्थानीय तहको नेतृत्व गर्न विश्वविद्यालयका प्राध्यापक नै तम्सिएपछि चर्चा चुलिनु स्वाभाविक नै भयो । लामो समय विश्वविद्यालयमा अनुसन्धान र अध्यापनमा जीवनको महत्वपूर्ण समय योगदान गरेका प्रध्यापक डाक्टर नगरको मेयर पदमा प्रतिश्पर्धीका रुपमा रहेको समाचार आएपछि बजार नयाँ बहसले तातेको छ । एक थरी विचारमा विश्विद्यालयमा अध्यापन र अनुसन्धान गरेको मानिस अध्यापन अनुसन्धानको यात्रा उपयुक्त थियो ।
महानगरको राजनीतिक घम्साघम्सीमा अल्मलिन सक्छन् कि भन्ने आशंका देखिन्छ भने अर्कोथरी माहानगरलाई सही गति दिन योग्य र इमान्दार, समाज बुझेको, समाज पढेको, मिसन र भिजन भएको मानिस नै उपयुक्त हो भन्ने मत छ । यो राजनीतिक भन्दा पनि पोखराको दीर्घकालीन र दिगो विकासको मार्ग कोर्ने अठोटलाई शंका होइन, सहयोग गर्नुपर्छ भन्ने विचार पनि देखिन्छ ।

परिवर्तन समाज विज्ञानको अपरिहार्य नियम नै हो । समाजको नेतृत्व गर्ने पात्र अनुसार परिवर्तनको गति र दिशा फरक पर्न जान्छ ।

क्याम्पसको मैदानमा देखिएका दुई थरी विचारले सोच्न बाध्य बनायो–मेयर कस्तो हुन पर्छ, कस्तो पृष्ठभूमिको मानिस आउँदा उपयुक्त होला ? माथिका दुई थरी विचारमा एउटा रोज्नु पर्‍यो भने के रोज्ने भन्ने दुबिधा लागेपछि संसारका राम्रा भनिएका नगरका मेयरहरुको पृष्ठभूमि खोजी गर्ने जमर्को गरेँ ।

Advertisement


सादिक खान (लन्डन)
१९७० को दशकमा जन्मिएका सादिक खान हाल लन्डनको मेयर छन् । सन् २०१६ देखि हालसम्म उनी अहिलेसम्म मेयर छन । उनले कानुनमा स्नातक उपाधि प्राप्त गरी मानवअधिकार विषयमा विषेशज्ञता हासिल गरेका छन् । उनी वकालत पेसामा लामो समय बिताएपछि अधिवक्ता समूहको नेतृत्वमा पुग्न सफल भए । त्यसपश्चात लेबर पार्टीमा रहेर राजनीतिक यात्रा प्रारम्भ गरेका खान अहिले विश्वकै उत्कृष्ट मानिने लन्डन नगरलाई परिचित बनाउन र नेतृत्व गर्न सफल छन् ।


एन्ने हिडाल्गो (पेरिस)
सन् १९५९ मा स्पेनमा जन्मिएकी एन्ने हिडाल्गो हाल पेरिस नगरको मेयर छिन् । उनी सन् २०१४ देखि लगातार मेयरमा हालसम्म कार्यरत छिन् । .सामाजिक न्यायमा स्नातकोत्तर गरेकी उनी सन् १९८४ देखि सन २००१ सम्म सिभिल सर्भिसमा थिइन् । त्यसपश्चात सोसलिस्ट पार्टीमा आबद्धता जनाउँदै राननीतिक यात्रा प्रारम्भ गरेकी हिडाल्गो परेस नगरलाई उत्कृष्ट नेतृत्व दिन योग्य साबित भएकी छन् ।

Advertisement


न्युयोर्क (इरिक एडम्स)
सन् १९६० का जन्मिएका इरिक एडम्स लामो समय प्रहरी सेवामा रहेर जनताको सेवामा समर्पित भए । प्रहरी जीवन व्यतीत गरेका एडम्सले जनताको सेवा गर्ने क्षेत्र र तरिका फेर्ने निधो गरे । राजनीतिलाई नयाँ क्षेत्रको रुपमा लिएर मेएर डेमोक्रेटिक पार्टीमा आबद्धता जनाउँदै पार्टीमा रहेर उनले कार्य प्रारम्भ गरे । उनी हाल न्युयोर्क नगरको मेयर छन् । उनी सन् २०२२ जनावरीमा मेयर चुनिएका हुन् । शिक्षा पब्लिक एडमिनिस्ट्रेसनमा मास्टर डिग्री गरेका उनी न्युयोर्क सहरका दोस्रो काला जातिका मेयर बनेका छन् ।


सर्गे सोबियानिन (मस्को)
सोबियानिन सन् २०१० देखि लगातार मस्कोको मेयर छन् । राज्यको आर्थिक र सामाजिक बिषयमा विद्यावारिधी गरेका सोबियानिन लामो समयसम्म मस्कोका नगर प्रमुखको रुपमा छन् ।


टोकियो, सिंगापुर, लस एन्जल्स आदि संसारका उत्कृष्ट उमेर र अनुभवले खारिएका नगरका मेयरहरुको शिक्षा, मेयर हुनुभन्दा पहिलेको काम र राजनीतिमा प्रवेश गरेपछि उनीहरुले नगरको विकासमा पुर्‍याएका योगदान हेर्दा यस्तो लाग्छ, नगरको विकासमा पूर्णकालीन राजनीतिज्ञ मात्र नभएर पनि बिभिन्न पेशा, व्यवसायको अनुभव पनि सहयोगी हुन्छ । त्यो अनुभव र ज्ञानलाई नगर विकासमा प्रयोग गर्न दृढ इच्छा शक्ति भएको मानिसले मात्र नगरको दिगो विकासमा योगदान दिन सक्छ । यी संसारका उत्कृष्ट मेएरहरुको इतिहास र योगदान हेर्दै गर्दा हामीलाई हाम्रो मेयर कस्तो बनाउने भन्ने कल्पना गर्ने सहज हुन्छ ।


भविष्य कसैले देखेको हुँदैन तर समाजको नेतृत्व कसको हात मा गयो भने किन, कसरी, कसले कस्तो परिबर्तन र विकासलाई नेतृत्व गर्न सक्छ भनेर हामी संसारका अनुभवबाट ज्ञान लिन र प्रयोग गर्न सक्छौं । सबै कुरा परेर भोगेरमात्र सिक्ने, पढेर नक्कल गर्न नसकेमा विश्वव्यापीकरणको दुनियाँमा ५–५ वर्षसम्म हत्तेरी भन्दै टाउकोमा हात राख्नेबाहेक अरु केही फेला पर्दैन । किनकि प्रत्येक विशिष्ट बिशेशता भएको समाजको विकासका लागि विशिष्ट बिशेषता भएको पात्र समाजले छान्न सकेमा मात्र समाजले उचित गतिशीलता लिन सक्छ ।


नेपालीमा पछाडि ठूला ठूला कुरा गर्ने तर जब दायित्व आफूमा आईपर्छ अनि दुलोभित्र छिर्ने प्रवृत्तिले गाँजेको पाइन्छ । हामी नेता पढेलेखेका भएनन्, औँठाछाप भए भन्छौं । गाडी हाँक्नेलाई लाइसेन्स लिन शैक्षिक योग्यता खोज्ने देश हाँक्नेको नखोज्ने भन्दै सामाजिक सन्जालका भित्ता रंग्याउछौँ । तर फेरि शिक्षित उम्मेद्वार आउँदा उसको योग्यताभन्दा अरु पाटा खोज्दै विरोध गर्छौं । एउटै मानिस भिन्न भिन्न ठाउँमा भिन्न भिन्न भूमिकामा प्रस्तुत हुन सक्छ । एउटा असल शिक्षक, असल व्यवस्थापक, असल नेता, असल अभिभावक बन्न सक्छ भन्ने हुँदैन । मानिस सँधै एउटै भूमिकामा रहिरहनु पर्छ र त्यही भूमिकामात्र उसका लागि उपयुक्त हो भन्ने हो भने परिवर्तन सम्भव हुँदैन । समाजका सबै अंग शिक्षा, अर्थतन्त्र, राजनीति, संस्कृति, सामाजिक संरचना, व्यक्ति एकापसमा अन्तरसम्बन्धित हुन्छन् ।


विशिष्ठ समय, परिवेशमा व्यक्तिको कुनै भूमिका मुख्य भएर देखिन्छ, अरु गौढ हुन्छन । यो परिवर्तन भई न रहन्छ । यसको उदाहरणको रुपमा माथि उल्लेख भएका मेयरहरुको जीवनी अध्ययन गर्न सकिन्छ । अन्ततः परिवर्तन समाज विज्ञानको अपरिहार्य नियम नै हो । समाजको नेतृत्व गर्ने पात्र अनुसार परिवर्तनको गति र दिशा फरक पर्न जान्छ । पर्यटकीय नगरी पोखरालाई फेरि आफ्नो नगरलाई नेतृत्व दिन योग्य उमेदवार छान्ने मौका मिलेको छ । विश्वास गरौं, राजनीतिक दल, पोखरेलीले पनि यो मौका पोखराको दीर्घकालीन हितलाई ध्यानमा राखेर गर्ने छन् । उनीहरुले विकास र समृद्धिको अवसर पूर्ण उपयोग गर्ने छन् भन्ने विश्वास गरौं ।

तपाईको प्रतिक्रिया