गठबन्धनमा जुटेन सहमति

समाधान संवाददाता २०७९ वैशाख ६ गते १०:४२

पोखरा l
स्थानीय चुनावमा पोखरा महानगरमा सिट बाँडफाँट टुंगो लगाउन बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ । पोखरा महानगरपालिकामा कांग्रेस र एकीकृत समाजवादी दुवैले प्रमुखमा दाबीदारी कायमै राखेपछि सहमति जुटेन ।


दुवै पार्टीले मेयर आफूले पाउनुपर्ने दाबी गरेपछि बैंठक बिना निष्कर्षसकिएको कांग्रेस पोखरा महानगर समितिका सचिव गणेश थापाले जानकारी दिए । मंगलबार फेरि गठबन्धनको बैठकमा यसबारे छलफल हुनेछ । ‘धेरै ठाउँमा सहमति नजिक पुगिएको छ र त्यसलाई अन्तिम रूप लिन मंगलबार साढे ११ बजे पुनः बैठक बोलाइएको छ । नेकपा एसले महानगर प्रमुख नै खोजेपछि टुंगो नलागेको हो । बरु वडामा भागबन्डा गर्न सकिन्छ,’ सचिव थापाले भने ।


महानगरको उपप्रमुख अरु दललाई दिन सकिने उनले बताए । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार गण्डकी सभापति शुक्रराज शर्मा लगायतका नेतालाई छलफलका लागि काठमाडौं बोलाएको थापाले जानकारी दिए ।

Advertisement


कांग्रेसको विज्ञप्तिः एससँग चुनावी गठबन्धन नगर्ने
कास्की कांग्रेसले सोमबार पोखरा महानगरमा नेकपा एकीकृत समाजवादीसँग अलग भएर स्थानीय निर्वाचनमा जाने विज्ञप्ति निकाल्यो । कास्की कांग्रेस सचिव भानुभक्त ढकाल र देवेन्द्र रानाभाटलेस्वस्थ प्रतिस्पर्धामार्फत चुनावमा जाने व्यहोराको विज्ञप्ति प्रकाशन गरेका हुन् ।


विज्ञप्तिले गठबन्धनमा खैलाबैला मच्चियो । बैठक चलिरहँदा विज्ञप्ति सार्वजनिक भएपछि कांग्रेस सभापति किशोरदत्तले आफूलाई विज्ञप्तिबारे थाहा नभएको स्पष्टिकरण दिएका थिए । विज्ञप्तिमा लेखिएको छ, ‘एकीकृत समाजवादीको अस्वभाविक दावीका कारणले निष्कर्ष निस्कन नसकेको र पार्टीका मातहातका निकायहरुको राय, सुझावलाई समेत मध्यनजर गरी अन्य गठबन्धनका दलसँग तालमेलका लागि वार्ता र संवाद अघि बढाउने र नेकपा एकीकृत समाजवादीसँग स्थानीय निर्वाचनमा मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धासहित जाने निर्णय गरियो ।’

Advertisement


एक्लै चुनावमा जाने जसपाको चेतावनी
जनता समाजवादी (जसपा)ले सत्ता गठबन्धन तोड्ने चेतावनी दिएको छ । वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा१ पालिका प्रमुख, उपप्रमुुख नदिए गठबन्धनबाट बाहिरिने चेतावानी जसपाले दिएको हो ।


गठबन्धनबाट बाहिरिएपछि एमालेसँग पनि तालमेल हुन सक्ने एक नेताले बताए । ‘गठबन्धनले स्थानीय चुनावमा जसपालाई सम्मानजनक व्यवहार गरेन । पालिकामा हामीलाई शून्य बनाउने प्रयास गरियो,’ उनले भने, ‘अब सम्मानजनक व्यवहार नभएर एमालेसँग तालमेल हुन्छ ।’


कास्कीका पोखरा महानगरबाहेक ४ गाउँपालिका अन्नपूर्ण, माछापुच्छ्रे, मादी र रूपा छन् । पालिका नेतृत्व टुंगो लगाउन आइतबार गठबन्धनको बैठक बसेको थियो । बैठकमा जसपालाई एउटा पनि पालिका प्रमुख–उपप्रमुख नदिने कुरा भएपछि गठबन्धन तोड्ने निर्णय गरेको जसपाका ती नेताले बताए । सम्मानजनक व्यवहार नभए जसपा एक्लै पनि चुनावमा होमिने ती नेताको भनाइ छ ।

तपाईको प्रतिक्रिया