कांग्रेस महानगरले ‘मानेन’ केन्द्रीय निर्णय

सञ्जय रानाभाट २०७९ वैशाख ८ गते १०:५१

सञ्जय रानाभाट
पोखरा l
कांग्रेस पोखरा महानगर समितिले बुधबार कास्की कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी गर्‍यो । सत्ता गठबन्धनको बैठकले एकीकृत समाजवादीलाई पोखरामा मेयर दिने निर्णय गरेसँगै रुष्ट महानगर समितिले बुधबार बिहानै तालाबन्दी गरेको हो ।
तालाबन्दीलगत्तै समितिले प्रदेश र जिल्लालाई ध्यानाकर्षण पत्रसमेत बुझाएको थियो । त्यसपछि कांग्रेस नेताहरु आन्तरिक छलफलमा जुटेका थिए । कांग्रेस कास्कीका ३३ वटै वडाका सभापति सम्मिलित बैठक बिना निष्कर्ष सकिएको छ । तर, महानगर समितिले केन्द्रीय गठबन्धनको सिफारिसका बाबजुद कांग्रेसबाट मेयर र उपमेयरका आकांक्षीको नाम प्रदेशमा सिफारिस गर्ने निर्णय गरेको सचिव गणेश थापाले जानकारी दिए ।

महानगर समिति अब मौन बस्छ । प्रदेशलाई आकांक्षीको नाम सिफारिस गरेको छ । यसले थप के निर्णय गर्छ, बाँकी प्रक्रियाबाटै थाहा होला ।
गणेश थापा
सचिव, कांग्रेस महानगर समिति

कांग्रेसबाट पोखराको मेयरका लागि सिफारिस हुनेमा सुदीपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्माचार्य, कृष्णबहादुर केसी, बाबुराम आचार्य, सरस्वती गुरुङ, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्रनारायण बिजुक्छे, विश्वशंकर पालिखे, किशोरदत्त बराल, विन्दुकुमार थापा, बाबुराम गिरी, गणेशबहादुर भट्टराई, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे र ऋषि सापकोटा छन् ।

Advertisement

यस्तै, पोखरा महानगरपालिकाको उपमेयरका कांग्रेसबाट आकांक्षी देखाएकाहरुको नाम पनि माथिल्लो समितिमा पठाइएको छ । माया बराल कार्की क्षेत्री, लक्ष्मी पाण्डे क्षेत्री, रंगिला आचार्य, आनन्दी राणा कार्की, टीकाकुमारी गुरुङ, दीपक मल्ल, मिलन थापा, चिनु गुरुङ, शिव केसी र गोविन्दको नाम सिफारिस गर्ने निर्णय भएको हो ।

बैठकमा एकीकृत समाजवादीलाई पोखराको मेयर दिने निर्णय तत्काल फिर्ता लिनुपर्ने, उम्मेदवार जो कोही भए पनि कांग्रेसको चुनावी चिह्न लिएर लड्नुपर्ने र कांग्रेसबाटै वैकल्पिक उम्मेदवार उठाएर जाने विषयमा समेत छलफल भएको छ । ‘महानगर समिति अब मौन बस्छ । प्रदेशलाई आकांक्षीको नाम सिफारिस गरेको छ । यसले थप के निर्णय गर्छ, बाँकी प्रक्रियाबाटै थाहा होला,’ सचिव थापाले भने ।

Advertisement

बैठकमा सहभागी एक कांग्रेस नेताका अनुसार नेता २ भागमा विभाजित भएका छन् । ‘प्रदेश सभापति शुक्रराज शर्माले अब गठबन्धनको उम्मेदवारीलाई स्वीकारेर चुनावमा जान आग्रह गरेका थिए । महानगर समितिका केही नेताले ‘डमी’ उम्मेदावर उठाएर भए पनि जानुपर्ने मत राखेको स्रोत बताउँछ ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्मा, कास्की सभापति किशोरदत्त बराल र नेता यज्ञबहादुर थापालाई बोलाएर पोखरा समाजवादीलाई दिने निर्णय सुनाएका थिए । यसलगतै कांग्रेस महानगर समितिले सोही निर्णयको विरुद्धमा कार्यालयमा तालाबन्दी गरेको थियो । पार्टीका शुभेच्छुक जनमानिस, वुद्धिवजीवी र कांग्रेस नेता, कार्यकर्ताको भावना विपरीत निर्णय भएकाले ताला लगाएको महानगर समितिले जनाएको छ। समितिको ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘हामी सत्ताको स्वार्थभन्दा माथि उठेर जनभावना एवं आम कार्यकर्ताको मनोभावनामा उच्च राख्न नेपाली कांग्रेस जिल्ला कार्यसमितिको कार्यालयमा तालाबन्दी गर्ने निर्णय गरियो ।’

अस्तित्व छ, या छैन भन्ने पार्टीलाई पोखरा महानगरको नेतृत्व दिँदा कांग्रेसलाई धक्का पुगेको सचिव थापा बताउँछन् । ‘कास्कीमा ५ सय कार्यकर्ता नभएको नेकपा एकीकृत समाजवादीलाई दिँदा मेयर दिँदा कांग्रेसलाई अन्याय भएको छ,’ उनले भने ।

महानगर समितिले बुधबार लगाएको ताला बिहीबार बिहान ८ बजे खोल्ने जनाएको छ । सत्ता गठबन्धनको बैठकले पोखराको मेयर एकीकृत समाजवादीलाई दिएको भन्दै कांग्रेस महानगर समितिले बुधबार बिहान तालाबन्दी गरेको थियो । महानगर समितिका सचिवद्वय गणेशबहादुर थापा र टुवराज बास्तोलाले पोखरा महानगर एकीकृत समाजवादीलाई दिने निर्णयले महानगर कमिटी उपेक्षित भएको भन्दै तालाबन्दी गरेको जनाएका छन् । बिहीबार उनीहरुले आकांक्षीहरुको नाम सिफारिस गर्ने र ताला खोल्ने जनाएका छन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया