माओवादीसँग पनि सहकार्यको ढोका खुलाः उपमहासचिव गुरुङ

समाधान संवाददाता २०७९ वैशाख ९ गते १०:१३

पोखरा l
एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले महानगर र उपमहानगरमा माओवादीसँग पनि सहकार्यको ढोका खुला रहेको बताएका छन् । उनले भने, ‘सकारात्मक शक्ति र पार्टीहरुसँग महानगर र उपमहानगरमा पनि हाम्रो सहकार्य हुन्छ । १२ गतेसम्ममा सबै टुंगो लगाउँछौं ।’

गुरुङका अनुसार एमालेले समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसँग पनि सहकार्य गर्न सक्नेछ । स्थानीय तहमा सबै पार्टीसँग तालमेल हुन सक्ने प्रचार विभाग प्रमुख गुरुङले बताए । ‘स्थानीय तहमा एमालेले तालमेल गरेकाबाहेक सत्ता गठबन्धनका कांग्रेस र माओवादीसँग पनि तालेमल हुन सक्छ,’ गुरुङले भने ।

एमालेले पोखरा महानगरपालिकाको मेयरमा सिफारिस भएका १२ जनामध्ये प्रदेशसभाका सदस्यलाई उम्मेदवार नबनाउने पनि गुरुङले सुनाए । एमालेको बिहीबार बसेको सचिवालय बैठकपछि प्रचार विभाग प्रमुख गुरुङले प्रदेश सांसदलाई उम्मेदवार नबनाउने निर्णय गरिने जानकारी दिएका हुन् । यद्यपि एमालेले उम्मेदवारको टुंगो भने १० गते लगाउने भएको छ ।
गण्डकी र लुम्बिनीमा सरकार गठनको सम्भावनालाई हेरेर सांसदको संख्या नघटाउने गुरुङले बताए । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था छ । अहिले एमालेबाट पोखराको मेयरमा आकांक्षी २ जना प्रदेश सांसद पनि छन् ।

Advertisement

प्रदेशसभा सदस्य कृष्ण थापा र राजीव पहारीको नाम मेयरको उम्मेदवारका लागि पोखरा नगर कमिटीको सिफारिसमा परेको छ । प्रदेश सांसदलाई पालिकाहरुमा उम्मेदवार नबनाउने निर्णय गरे थापा र पहारीको पोखरा महानगरपालिकाका लागि च्याप्टर क्लोज हुन्छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रचार विभाग प्रमुख गुरुङले गण्डकीमात्र नभएर लुम्बिनीमा पनि प्रदेश सांसदलाई मेयर उपमेयरमा टिकट नदिइने बताए । ‘गण्डकीको हकमा अझै पनि सरकार फेरबदल हुन सक्ने सम्भावना छ । त्यसैले गण्डकीका प्रदेश सांसदहरुलाई स्थानीय तहको उम्मेदवारका रुपमा अघि सार्दैनौ । लुम्बिनी लगायत सम्भावना भएका स्थानमा पनि त्यो निर्णय गर्न सक्छौं,’ गुरुङको भनाइ छ ।

उता, नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको मेयरमा सर्वसम्मत सिफारिस भएका वागमती प्रदेशका प्रदेश सांसदबाट विजय सुवेदीले राजीनामा दिएका छन् । पार्टीबाट उनले टिकट पाउने निश्चित भएपछि सुवेदीले सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा दिएका हुन् । सुवेदीको राजीनामा स्वीकृत भइसकेको छ ।महानगर र उपमहानगरको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउन वैशाख १० गते अपराह्न ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सचिवालय बैठक बस्ने भएको छ ।

Advertisement

प्रदेश सांसदलाई पालिकाको उम्मेदवार नबनाउने निर्णय स्वागतयोग्य हुने पोखराको मेयरका आकांक्षीसमेत रहेका प्रदेश सांसद राजीव पहारीले बताएका छन् । उनले भने, ‘पोखरा महानगरमा आकांक्षी उम्मेदवारी दर्ता गरेपछि मैले पनि दर्ता गरँे । यो स्वाभाविक कुरा पनि भयो । पार्टीले प्रदेश सांसदलाई पालिकामा उम्मेदवार नबनाउने जुन कुरा आएको छ, त्यो स्वागतयोग्य छ । किनभने हामीले इच्छा आकांक्षा व्यक्त गर्ने एउटा कुरा हो तर हामीलाई हिजो पार्टीले प्रदेश सांसदको टिकट दियो र जनताले अनुमोदन गरे । हामीलाई अनुमोदन गर्दा त हाम्रो कार्यकाल २०७९ साल माघ ८ गतेसम्म त हाम्रो प्रदेश सभाको कार्यकाल हो ।’

अझै १० महिना जनताको प्रतिनिधि भएर काम गर्ने कार्यकाल आफूहरुसँग बाँकी रहेको पहारी बताउँछन् । ‘हामी जनताप्रति वचनबद्ध छौं । जनताले त हामीलाई ०७९ माघ ८ सम्म अनुमोदन गरेका हुन् नि त । यो भन्दाअघि नै राजीनामा दिएर चुनाव लड्नु भनेको जनताको मतप्रति नै अपमान हुने हो । यो प्राकृतिक न्यायसंगत पनि हुँदैन,’ उनले भने, ‘पार्टीका १ सय १ नेता कार्यकर्ता छन् । पोखरा महानगरपालिकामा हजारौं नेता कार्यकर्ता छन्।, जो मेयर हुन लायक छन् ।’

प्रदेश सभाको प्रदेश पद नै खाली गरेर जाँदा त अरु कोही मान्छे नै नभए जस्तो हुने पहारीको तर्क छ । उनी भन्छन्, ‘गण्डकी प्रदेशमा जुनसुकै बेला पनि प्रदेश सरकार बन्न सक्ने अवस्था छ । छ न त गठबन्धनको सरकार छ । त्यो ठग गठबन्धन सरकार हो । जति बेला पनि जे पनि हुन सक्छ । स्थानीय चुनावपछि गठबन्धन भत्किने अवस्था छ । यसो भयो भने गण्डकी प्रदेश सभामा सरकार बन्न सक्ने अवस्था छ । प्रदेशमा १ भोट तल माथि हुँदा सरकार नबन्न सक्छ । जहाँ मादल बज्यो, त्यहाँ नाँच्दै हिँड्नु हुँदैन ।’

तपाईको प्रतिक्रिया