कास्की कांग्रेसले तालमेल नगरे माओवादी नयाँ ढंगले अघि बढ्ने

समाधान संवाददाता २०७९ वैशाख ११ गते २०:३२


पोखरा ।
नेकपा माओवादी केन्द्रका नेता दीपक कोइरालाले कास्कीमा गठबन्धन नगर्ने निर्णय कांग्रेसले एकतर्फी रुपमा गरेको बताएका छन् । ‘हामीहरु कांग्रेससँग सम्पर्क गर्ने प्रयासमा छौं । यदि त्यो आधिकारिक रहेछ भने हामी पनि हाम्रो तयारीमा जुट्छौं । सम्पर्क भएको छैन,’ कोइरालाले भने, ‘कुराकानी भएर गठबन्धनमा नजाने कांग्रेसले सोचेका हो भने नयाँ ढंगले अघि बढ्छौं ।’


माओवादीले ४ वटै पालिकामा उपप्रमुख लिने भन्ने कुरामा लगभग शनिबारै सहमति जुटिसकेको अवस्थामा कांग्रेसबाट एकतर्फी निर्णय आएको माओवादी केन्द्रीय सदस्य कोइरालाले बताए । उनकै भनाइमा पोखरा महानगरपालिकाका ६ वडामा माओवादी उम्मेदवार उठाउने र कास्कीका अरु पालिकाका उपप्रमुखमा माओवादीका उम्मेदवार बनाउने सहमति भइसकेको थियो ।
जसपा र जनमोर्चालाई पनि एक–एकवटा वडा दिनुपर्छ भन्ने कुरामा मात्रै सहमति हुन बाँकी छँदा कांग्रेसको एकतर्फी निर्णय आएको कोइरालाको भनाइ छ । ‘अस्ति कुरा मिलिसकेको वडाहरुमा कांग्रेसले अस्ति चेन्ज गरेर ल्यायो,’ उनले भने, ‘ल ठिकै छ तलमाथि गर्नुपर्छ भने पनि हामी तलमाथि गरौंला सहमति ब्रेक नगर्ने भन्ने भएको थियो । उहाँहरु नेता पार्टीका कार्यकर्ताहरु सल्लाह गरेर जाने भनेर जानुभएको थियो । अहिले त्यो कुरा आइरहेको छ । यदि गठबन्धनबाट कांग्रेस बाहिरियो भने हामी नयाँ ढंगले जान्छौं ।’


कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले गठबन्धनका दलहरुसँग मित्रवत प्रतिस्पर्धा गरेर जाने निर्णय गरेको जानकारी आइतबार साँझ सार्वजनिक गरेका छन् । ‘नेपाली कांग्रेसको केन्द्रीय परिपत्र र निर्देशनअनुसार सत्तामा साझेदार गठबन्धनका दलहरुसँग पटकपटक वार्तामा बसी तालमेल गर्ने प्रयास जारी रहेको अवस्थामा कार्यकर्ता साथीहरुको बिच कांग्रेसलाई सुदृढ बनाउनको निम्ति कार्यकर्ताहरुमा देखिएको चिन्ता र कार्यकर्ताबाट गठबन्धन नगर्ने रायसहितको सुझाव प्राप्त भएको,’ बरालले भनेका छन्, ‘गठबन्धनका दलहरुसँग मैत्रीपूर्ण रुपमा प्रतिस्पर्धामा जाने निर्णय गरेका छौं ।’

Advertisement


सत्ता गठबन्धनका दलहरुबीच पोखरा महानगरपालिकाको मेयर नेकपा एसबाट र उपमेयर कांग्रेसबाट उठाउने सहमति भइसकेको छ । त्यसबाहेकमा कुरा मिल्न नसकेको हो ।

कास्कीमा गठबन्धन नगर्ने कांग्रेसको निर्णय

Advertisement

तपाईको प्रतिक्रिया