सांस्कृतिक उदारवाद र राष्ट्रियता

नेपाली हुनुको पहिचान नै बाँकी नरहे देशलाई कसरी अन्तर्राष्ट्रिय जगतमा चिनाउने ?

समाधान संवाददाता २०७९ वैशाख १४ गते ११:१३

डा. सञ्जय कोइराला l
दोस्रो विश्वयुद्धपश्चात बदलिँदो विश्व मानासिकताको उपज जन्मिएको उदारवादी चिन्तन हाल विश्वव्यापी रुपमा फैलिदो छ । मानव र मानवीय सभ्यतासँग जोडिएका हरेक पक्षमा उदारवादी चिन्तनको प्रयोग बढ्दो छ । कतिसम्म उदार हुने भन्ने कुनै लेखाजोखा बिना एउटा आँधीको रुपमा अघि बढिरहेको उदारवादी चिन्तनले राष्ट्र र राष्ट्रियतामा परिरहेको असरको बारेमा सायदै कसैलाइ सोच्ने फुर्सद होला अहिले । हामी सबै पश्चिमा शैलीलाई नै शिरोपर गरी आयातीत संस्कृति र सभ्यतामा यति बिघ्न घुलिसकेका छौं कि अब हामी हाम्रो आफ्नो पहिचान खोज्न कहाँ जाने भन्ने नै थाहा पाउन नसक्ने परिस्थितिको सिर्जना हुँदै गइरहेको आभाष हुँदै छ ।

मानिस सामाजिक प्राणी हो भन्ने अरस्तुको भनाइ आजभोलि किन किन संकटमा परिरहेको त छैन भन्ने अनुभूति भइरहेको छ । समाजमा आपसी सद्भाव र सहयोगको आधारमा बाच्ने मानिस आज एक्लै जिउने कोशिसमा लागिरहेको छ र सफल पनि हुँदै छ । एक्लै घरमा बसेर, काम पनि गरेर, आवश्यक सामग्री घरमै अर्डर गरेर सम्पूर्ण दुनियाँका बारेमा जानकारी लिन सक्ने स्थितिमा जो पुगिसकेको छ । आधुनिक युगका मानव निर्मित सारथिहरुले मानिसलाई एक्लै जीवनयापन गर्न सक्ने बनाइसकेका छन् । हामी पनि यही दौडमा लागिपरेका छौं । यही उद्देश्य पूर्तिका लागि सामाजिक परिधिबाट पर पर हुँदै गइरहेका छौँ ।
हो, उदारवादी चिन्तन मानिसको अधिकार हो, स्वतन्त्र रुपले बाच्न पाउनु हाम्रो नैसर्गिक अधिकार हो । तर अन्तत्वगत्वा यसले हामीलाई कहाँ पुर्‍याउला त ? यो पनि विचार गर्नु आवश्यक छ । हरेक कुरामा स्वतन्त्रता खोज्दै जाँदा हामीले सामाजिक मूल्य, मान्यतालाई बिर्सिदै गइरहेका छौँ कि भनी सोच्नु पनि पर्छ । हामीले हाम्रो आफ्नो पहिचानसँगै आधुनिकीकरणको नाममा आफ्नोपन भुलिरहेका त छैनौँ ? विचार गर्नुपर्ने बेला भइसकेको छ ।

नेपाल संस्कृतिमा विश्वकै धनी देशमध्येमा पर्छ । हाम्रा कला र संस्कृति विश्वमै ख्याति प्राप्त छन् । नेपाल सगरमाथा या अन्नपूर्ण पैदल मार्गले मात्रैले होइन, यहाँको कला, रीतिरिवाज लगायत संस्कृतिक धरोहरले पनि विश्वविख्यात छ । हाम्रा मन्दिरमा कुँदिएका कला, विभिन्न जात जातिका भेषभूषा, धार्मिक परम्परा, रीतिरिवाज, जात्रा, चाडवाडहरु हाम्रा आफ्नै मौलिक हुन् । हामी यी सबै कुरामा आफैं धनी छौँ । आफ्नै कला र संस्कृतिको जगेर्ना गरी यसैलाई पर्यटनको आधार बनाउनु आजको हाम्रो आवश्यकता हो । धार्मिक स्वतन्त्रताको नाउँमा आयतीत रहनसहन र रीतिरिवाजमा यसरी नै हामी रम्दै गएमा भोलि हाम्रो पर्यटन विकासमा पनि नकारात्मक असर पर्नेछ । प्रकृतिले दिएको बरदानबाहेक भोलि हाम्रो आफ्नो के छ त भन्ने प्रश्न पनि खडा हुने बेला नआउला भन्न सकिन्न ।

Advertisement

४ जात ३६ वर्णको साझा फूलबारी भनिएको हाम्रो देशमा विविधतामा पनि एकता पाइन्छ । सबै थरिका जातजाति एकापसमा परस्पर मेलमिलाप र सहयोगको भावनाले बाँचिरहेका हामी, उदारताको नाममा आयातीत संस्कृतिले हाम्रो मौलिक संस्कृतिलाई विलय गराउने प्रयत्न गरिरहेको छ । हामी सबै कुरामा यति परनिर्भर हुँदै छौँ कि हामी आफैंले आफ्नो र आउँदो पिँढीका लागि नेपालीपनको झल्को दिने केही पनि बाँकी राख्ने वाला छैनौँ ।

समाजवाद उन्मुख राज्य स्थापना गर्ने भनी नारा लगाउँदै राज्यसत्ता सञ्चालन गरिरहेका देशका प्रमुख पार्टीले कहिल्यै पनि संस्कृतिको जगेर्ना गर्ने मुद्दालाई प्राथमिकतामा राखेको पाइँदैन । लोकतन्त्र, समाजवाद, साम्यवाद आदि इत्यादि वादको सहारामा विभिन्न समयमा राज्य सत्ता सञ्चालन गरेका यी दलले सधै सत्तावरपर रहने प्रयासमा मात्रै आफ्नो सम्पूर्ण बल लगाइरहेको छर्लंग छ । मात्र कसरी हुन्छ पदमा पुग्न लालायित रहने देशका नेताहरु आफ्नो नैतिक धरातल नै छोडेर गठबन्धन बनाउने तोड्ने जस्ता अप्राकृतिक राजनीतिक कार्यमै अभ्यस्त छन् । यस्तो हुँदै गर्दा उदारवादको नाममा नेपालीले एक दिन आफू नेपाली हुँ भन्ने पहिचान गुमाउने खतरा छ ।

Advertisement

सरल सबैले बुझ्ने उदाहरणका लागि हामीले नजिकैको छिमेकी मुलक भारतबाट पनि धेरै कुरा सिक्न सक्छौं । देशको कला र सभ्यताको पहिचान विश्वमा चिनाउने एउटा माध्यम चलचित्र पनि हो । हाम्रो देशको चलचित्र उद्योगको अवस्था हेरेर केही विश्लेषण गर्न आवश्यक देखेको छु । नेपालीले नेपाली चलचित्रलाई माया गरेनन्, विदेशी चलचित्रलाई बढी प्राथमिकता दिने गरिन्छ भनेर बारम्बार बहस चलिरहन्छ । कारण यहाँ नेपालीले नेपाली चलचित्रलाइ माया गरेनन् भन्ने आउँछ । के साच्चै त्यसै हो त ? हाल चलिरहेको दक्षिण भारतीय चलचित्रको विश्वव्यापी मागबाट केही सिक्ने हो कि ?

चलचित्रमा आफ्नोपन, आफ्नो संस्कृतिको कति महत्व हुँदो रहेछ, यसैलाई लिएर विश्लेषण गर्न सक्छौं । आफ्नै मौलिक कथा, आफ्नै देशको संस्कृति झल्काउने चलचित्र यहाँ पनि सफल नै भएका छन् । छक्का पञ्जालाई एउटा उदाहरणका रुपमा हेर्न सकिन्छ । दक्षिण भारतीय चलचित्रको आक्रामक व्यापारका कारण उनीहरुको आफ्नो मौलिक कथा र मौलिक संस्कृतिको प्रयोग नै हो जसले संसारभर उनीहरुलाई चिनाइरहेको छ । हाम्रोमा पनि त्यस्ता कथावस्तु भएका चलचित्र चलेका छन् । जबरजस्ती विदेशी कथा, विदेशी पहिरन, विदेशी ठाउँमा गएर लगानीमात्रै धेरै गर्दैमा दर्शकले रुचाउने दिन अब बिस्तारै हराउँदै छन् । यसरी हेर्दा पनि आफ्नोपनको महत्व कति हुँदो रहेछ, विचार गर्न सकिन्छ ।

बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड भनेर भनिएको त्यसै होइन । पहिचानको राजनीति गर्ने भनेर क्रान्तिमा होमिएका हाम्रा क्रान्तिकारी नेताहरु जसरी अहिले आफ्नै संस्कृतिको विरोधमा सामाजिक सञ्जालमा बेला बेलामा आवाज निकालिरहेका छन् । त्यसले झन् उनीहरुप्रति जनताको बितृष्णा बढ्दै जाने निश्चित छ । नेपाली हुनुको पहिचान नै बाँकी नरहे देशलाई कसरी अन्तर्राष्ट्रिय जगतमा चिनाउने ? एक पल्ट गहिरिएर सोच्ने हो कि ?

नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा कोइराला राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दै छन् ।

तपाईको प्रतिक्रिया