ताल न मेलको चुनावी तालमेल

चुनाव भनेको गोप्य मतदान र विवेकको प्रयोग हो । विवेकमा बिर्को लगाउने र थुन्ने अधिकार कसैलाई हुँदैन ।

समाधान संवाददाता २०७९ वैशाख २० गते १३:१२

रामप्रसाद सुवेदी
अहिले नेपालमा पाँच वर्षे चुनावी कुम्भमेलाको रौनक चलिरहेको छ । सबैजसोको ध्यान यसले तान्न सफल भएको पनि छ । पद्दति र नियम बिग्रेको मुलुकमा यो चुनावी कुम्भमेलालाई मानिसले आफ्नो व्यक्तिगत फाइदा र बेफाइदासँग तुलना गरेर मोलमोलाई गर्ने बानी त छँदै छ । कतिपय मानिस तीन सय चौसठ्ठी दिन आफ्नो पार्टीलाई सराप्छन् तर एक दिन भने जे भयो भयो भनेर गएर छाप लगाउँछन् भने कतिपय तीन सय चौसठ्ठी दिन आफ्नो पार्टीको गुणगान गाउँछन् तर एक दिन कि त सुतेर बस्दछन् कि त अर्कैको चुनाव चिन्ह खोजीखोजी छाप लगाएका हुन्छन् । यो पद्दति र प्रक्रिया बिग्रेको मुलुकमा मानिसको दिमागमा पनि नकारात्मक सोचाइले बास गरेकाले उनीहरुमा पनि यस्तै उट्पट्याङ सोच आएको हुन्छ ।

अहिले स्वार्थपूर्ण राजनीतिक खेलको परमादेशी सरकार चलेकाले कतै यो कुम्भमेला नै रोकिने हो कि भन्ने धेरैको आशंका रहेको थियो तर केही मात्रामा भए पनि जनताको इच्छा र चाहनालाई तिलाञ्जली दिएर तालमेलको गठबन्धनमा स्वार्थ मिलेकाले चुनावको तिथि र प्रक्रियालाई अघि बढाएका छन् । अझै पनि स्वार्थ नमिलेको खण्डमा चुनाव नआउन्जेल के हुन्छ भनेर भन्न सकिने अवस्था छैन । तालमेलले यतिसम्म पारेको छ कि हिजो पानी बाराबारका पार्टी जो एक अर्कामा प्रतिशोधको राजनीतिमा अडेका थिए, अहिले उनैको चिन्हमा छाप लगाउन बाध्य पारिएको छ । अनि उनका कार्यकर्ता त्यसैलाई ईश्वरको वरदानका रुपमा सहर्ष स्वीकार्न बाध्य पारिएका छन् । हिजो द्वन्द्वकालमा मुला काटेझैँ काटिएका कार्यकर्ता अहिले उही पार्टीको जयजयकार गर्दै हिँड्न पारिएको यो अनौठो र रोचक दृश्य चुनावमा देखिएको छ ।

अहिलेको चुुनावी तालमेलले सबैको ध्यान भरतपुरतिर तानेको छ । त्यहाँ राज्यको शक्ति यति लागेको छ कि स्वयं प्रधानमन्त्री नै मदारीले नचाउँदा, जसरी बाँदर मदारीको इसारामा नाचेको हुन्छ त्यसरी नै फनफनी घुमिरहेका छन् भने मदारीले पनि फरक फरक तालले उनलाई नचाइरहेको छ ।

Advertisement

अहिले टिकट लगायतका पद नेताको नजिकको नाता र गोतादेखि बाहिरकाले सितीमिति पाउन गाह्रो भएको छ । यो गणतन्त्रे राजनीतिले नेताका परिवारको चाहिँ खोजीखोजी स्थापित गरिदियो । अलिकति उभिन सक्नेहरु र देखिन सक्नेहरु सबैले टिकट र पद पाइसके अनि अझसम्म जोजोले पाएका छैनन् तिनीहरु लाइनमा रहेका छन् । अनि तालमेलको कु्म्भमेलाले केन्द्रमा सत्ताको स्वार्थका लागि घाँटी जोडेको छ तर जिल्लामा दैनिक जसो तालमेलका बिरुद्धमा नारावाजी र जुलुस भइरहेका छन् तर सत्ताको स्वार्थले कार्यकर्ताले जे सुकै भनून् त्यो सुन्ने अवस्था नै छैन ।

हरेक पार्टीको राजनैतिक रणनीति र कार्यनीति हुन्छ । सबै पार्टीको रणनीति अर्कै भए पनि अहिले संसदमा जाने र उपयोग गर्ने एउटा कार्यनीति नै हो । तर स्वार्थपूर्ण गठजोडले अरु सबै बिर्सिएर जसरी पनि सत्तामा गएर मोजमस्ती गरेर डुबुल्की मारेर रमाउने बनाएको छ । आफ्ना सिद्धान्त र दर्शनका विरुद्ध भएको तालमेल यसैको परिणाम हो । गीतामा श्रीकृष्णले अर्जुनलाई भनेका छन्, ‘यी हिजो तिम्रा थिएनन्, भोलि पनि हुने छैनन् केवल अहिलेमात्र तिम्रा हुन् ।’ तालमेलका पार्टीहरु हिजो कुनै बेला पानी बाराबारको स्थितिमा एक अर्कालाई देखे सिध्याउने अवस्थामा थिए तर अहिले आफ्नो स्वार्थले कार्यकर्ताको भावनालाई तिलाञ्जली दिएर घाँटी जोडिरहेका छन् । भोलि सत्ताको स्वार्थ मिलेन भने फेरि यिनीहरु बीच मारामारको अवस्था सृजना नहोला भन्न सकिन्न ।

Advertisement

यो तालमेलले हिजो मतपत्र च्यात्ने र चपाउने संस्कारलाई राम्रोसँंग स्थापित गरेको छ । अझ शंका के रहेको छ भने यदि भरतपुरमा तालमेलका विरुद्धमा उम्मेदवार दिएका बागीले फिर्ता नलिएर तालमेलका नायकले चुनाव हार्ने सम्भावना भएको अवस्थामा कि त स्थानीय तहको चुनाव रोकिन सक्छ यदि यस्तो नभएको खण्डमा भरतपुरमा तालमेलले जहिलेसम्म जित्ने सम्भावना रहँदैन तबसम्म चुनाव नहुन सक्छ । हिजो हार्ने अवस्थामा मतपत्र च्यात्नेले र चपाउनेले अहिले त्यहाँ खटिएको शक्ति देख्दा भोलि चुनाव हार्ने हार्ने जस्तो भएमा निर्वाचनका अधिकृतलाई समेत निलिदिन बेर छैन जस्तो देखिएको छ । त्यसैले अरु देशभरिका ७ सय ५२ स्थानीय निकाय र भरतपुर एउटाको तौल एउटै रहेको छ । राज्यले भएभरको स्रोत र शक्ति नै त्यहाँ खन्याइरहेको छ । हरेक दिन मन्त्रीहरु बागीको खुट्टा मोलिरहेका छन् ।

भरतपुर पछिको दोस्रो चर्चामा अहिले पोखरा महानगरपालिका छ । यहाँ पनि एउटा एमालेबाट चोइटिएर बनेको झुण्डको अस्ति Œवको लडाईँ छ । हुँदा खाँदाको पार्टी फुटाएर अस्ति Œवका लागि लडिरहेका अर्कै पार्टीको पुच्छरको पछि लागेकाको जीवन र मरणको सवाल पनि रहेकाले उनीहरु आफ्नो शूुन्य संगठन भएको ठाउँमा चुनाव जित्छु भनेर हुंकार गर्नाले यहाँ पनि सकेसम्मको तिकडम गरेर देखाउने आभास भएकाले यो महानगरपालिका पनि अहिलेको चुनावमा बढी चर्चामा रहेको छ ।
सत्तापक्ष जसरी तालमेलमा रुमल्लिएको छ त्यसैगरी प्रतिपक्षले पनि सही उम्मेद्वार छनोट नगरेको र पटक पटक ‘टेस्टेट’ उम्मेदवार, अरु कोही नयाँ नपाए जस्तो गरेर उठाउनाले आलोचनाको केन्द्रमा रहेको छ । संघमा पनि उनै, प्रदेशमा पनि उनै अनि स्थानीय निकायमा पनि उनै उठाउँदा जनतामा त्यति धेरै उत्साह देखिएको छैन । विशेष गरेर पोखरा र काठमाडौंको मामलामा यो गुनासो बढी नै देखिन्छ । उम्मेदवार छनोटमा पार्टीले अलि धेरै होसियार भएर लाग्नुपर्ने थियो तर त्यसो नहुँदा हुँदा र खाँदाको एउटा पदमा बहाल भएको व्यक्तिलाई ओभरल्याप गरेर ल्याउन उपयुक्त हुने थिएन । यसले भोलिका दिनहरुमा कार्यकर्तामा उत्साह घटेर जान्छ ।

जेजसो भए पनि यो पाँच वर्षे चुनावी कुम्भ मेलाले सबैको चासोको विषय बनाएको छ । तालमेलमा लागेकाहरु अनेक किसिमका हर्कत गरेर निर्वाचन आयोगको आचार संहितालाई समेत उल्लंघन गर्न लागिरहेका छन् अनि प्रतिपक्ष पनि उम्मेदवार छनोटको तिक्ततामा नै रुमल्लिइरहेको छ । अब विस्तारै सबै कुरालाई सामान्यीकरण गरेर लाग्नुपर्ने देखिएको छ । जसले जिते पनि जनताको समस्यालाई सहस्र स्वीकार्ने र जनतासंँग सौहार्द सम्बन्ध भएका उम्मेदवारले जितून् अनि भोलि उनीहरु जनताप्रति नै समर्पित होऊन् । अहिले राजनीतिलाई सेवाको पदभन्दा लाभको पदका रुपमा हेर्ने प्रचलन रहेको पाइन्छ अनि यसले गर्दा चुनावी खर्च बढ्न गई चुनाव जितेर गएकाले खर्च असुल गर्न जबरदस्त भ्रष्ट्राचार गर्ने गुनासा पनि सुनिएका छन् । राजनीतिलाई लयमा ल्याउने र यसलाई शुद्धिकरणमा लाने हो भने राजनीतिलाई लाभको भन्दा सेवाको पदका रुपमा स्थापित गर्नु पर्दछ । अनि जनताले पार्टीको निर्देशनभन्दा पनि आफ्नो विवेकको प्रयोग गर्नु उपयुक्त हुन्छ ।

जसरी कुम्भ मेलामा दानव र देवताका बीचमा भएको तानातानबाट अम्रितकलश छचल्किएर खसेको अमृत प्राप्त गरेर पापबाट मोचन हुने आशामा श्र्रद्धालुको झुण्ड देखिन्छ । त्यसरी नै यो पाँच वर्षे चुनावी कुम्भ मेलाले पनि चुनावप्रति कोही बुझेर र नबुझेर कसैबाट अम्रित प्राप्त गर्न झुम्मिएका हुन्छन् । अर्काेतिर गठबन्धनले आफ्नो आस्था र विश्वासलाई तिलञ्जलीमा राखेर अर्काको झोला बोक्न बाध्य पारेको छ । आखिर चुनाव भनेको गोप्य मतदान र विवेकको प्रयोग हो । आफ्नो विवेकमा बिर्को लगाउने र थुन्ने अधिकार कसैलाई हुँदैन । त्यसैले कसैको प्रभाव र डरमा नपरी आफ्नो विवेकको प्रयोग गर्नपर्ने अवस्था आएको छ, जसले गर्दा स्वार्थका लागि गरिने अपवित्र गठबन्धनको सँधै अन्त्य होेस् साथै आफ्ना नातागोतामा केन्द्रित राजनीतिको पनि समाप्त होस् ।

तपाईको प्रतिक्रिया