तटस्थ मतको निर्णायक भूमिका

अहिलेको अवस्थामा असन्तुष्ट कार्यकर्ता र तटस्थ मत जुन दलले तान्न सक्छ, सोही दलले जित हासिल गर्ने देखिन्छ

समाधान संवाददाता २०७९ वैशाख २३ गते १२:१३

बुद्धिसागर भण्डारी

मुलुक आज स्थानीय तहको निर्वाचनको संघारमा छ । वैशाख ३० गते नेपालभर एकै चरणमा स्थानीय तहको निर्वाचन हुँदै छ । ०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले कायम गरेको आफ्नो विरासत धान्न सक्ने हो होइन चुनौतीको विषय बनेको छ । एमालेलाई जे जस्तो अवस्थामा पनि परास्त गर्ने र नेतृत्व आफ्नो हातमा पार्ने सोचका साथ पाँच दलीय गठबन्धन चुनावी तालमेल गरेर निर्वाचनमा होमिएको छ । यो सत्तारुढ र विपक्षी गठबन्धनका लागि प्रतिष्ठाको विषय बनेको छ र सत्ता गठबन्धनलाई निर्वाचनको परिणाम आफ्नो हातबाट फुत्कने हो कि भन्ने ठूलो डर छ ।

एमालेबाट भिन्न भएर गएको नेकपा एकीकृत समाजवादीसँग पनि खासै जनमत भए जस्तो देखिँदैन । एमालेका केही राष्ट्रवादी काम र केपी ओलीको प्रभावशाली अभिव्यक्ति, जनतालाई प्रभाव पार्न सक्ने भाषण कलाका कारणले गर्दा पनि जनताको आर्कषण एमालेप्रति खासै घटेको देखिँदैन । तथापि पाँच दलीय गठबन्धनको चुनावी समीकरणले गर्दा नेकपा एमाले ले ०७४ सालमा कायम गरेको विरासत धान्न त्यति सजिलो भने छैन । नेतृत्व तहमा बस्ने हरेक दलका नेताको नेतृत्व शैली भन्ने एउटा गर्ने अर्को देखिएको छ ।

Advertisement

नेताका अलोकतान्त्रिक गतिविधिले पनि राजनीतिक दलप्रति सर्वसाधारणको आर्कषण घट्दै गएको हो । देशमा बढ्दो महंगी, भ्रष्टाचार, महिला हिंसा, कमिसन तन्त्र, नातावाद, कृपावाद र राजनीतिक दलहरुको आलोकाँचो, अपरिपक्व व्यवहारले गर्दा पनि सर्वसाधारण जनतामा राजनीतिक दलप्रतिको विश्वास घट्दै गएको देखिन्छ । दलहरु सत्ताका लागि लुछाचुडी र जनताप्रति अनुत्तरदायी हुँदा यो निर्वाचनको परिणाम कस्तो आउने हो आकलन गर्न गाह्रो छ । दलहरुका झूटा सपना र टिकट वितरणको विषयलाई लिएर पनि कार्यकर्तामा धेरै असन्तुष्टि देखिन्छ ।

यो सबालमा कुनै पनि राजनीतिक दल अछुतो रहन भने सकेनन् । लोकतन्त्रको बदनाम, राजनीतिक उतारचढाप र गणतन्त्रमा जाहनियाँ शासनको अभ्यासका कारणले गर्दा पनि सबै राजनीतिक दलका कार्यकर्ता र शुभचिन्तकमा राजनीतिक दलप्रतिको मोह र उत्साह घटेको छ । आफ्नो आस्थाको दलप्रतिको असन्तुष्टिकै कारणले ठाउँ ठाउँमा पार्टीको निर्णय र निर्देशन विपरीत वागी उमेदवार दिएका पनि छन् । जनताका इच्छा, आकंक्षा कुण्ठित हुने गरी पाँच दलिय गठबन्धन जरुरी नभएको र गठबन्धन स्वच्छ राजनीतिक प्रतिष्पर्धाको बाधक र विकृति हो भन्ने पार्टीका शुभचिन्तक र राजनीतिक विष्लेषकहरुको गुनासो छ । तसर्थ जुन राजनीतिक दलले अन्तिुष्ट रहेका मतदाताको भावनालाई विश्वास दिलाउन सक्छ, सोही पक्षले अहिलेको चुनावमा स्थानीय तहको नेतृत्व हात पार्न सक्ने आकलन गर्न सकिन्छ ।

Advertisement

राजनीतिक दलहरुको चुनावी प्रचार शैलीमा समेत परिवर्तन हुँदै आएको छ । घरदैलो कार्यक्रम सबैभन्दा बढी प्रभावकारी बनेको छ । सन्देशमूलक भिडियो, टिकटक, युट्युब, सामाजिक सञ्जालमा पोस्ट र शेयर गर्ने जस्ता कार्यहरु प्रभावकारी बनेका छन् । तर यस विधिमा विकृति भने आउनु हुँदैन । आजभोलि फेसबुक, टिकटकका वाल चुनावी प्रचारले भरिएका छन् । चुनाव प्रचार गर्ने यस किसिमको पद्धति र शैली विगतको भन्दा धेरै नै प्रभावकारी, कम खर्चिलो र नयाँ संस्कृतिको विकास भएको छ, यो राम्रो पक्ष हो । ०१५ सालमा भएको पहिलो निर्वाचनमा पनि आयोगले आफ्नो सन्देश मतदातासम्म लैजान नागरिकको सहयोग लिएको थियो । गीतकार, गायक, कवि र लेखकमार्फत चुनावी प्रचारलाई अगाडि बढाएको थियो ।

०४६ पछि नेपालमा ठूला ठूला राजनीतिक परिवर्तनहरु भए तर नेता र राजनीतिक दलहरुमा संस्कारको विकास हुन भने सकेन । जनताको आवश्यकता, सुशासन र समृद्ध नेपाल, सुखी नेपाली हो । राजनीतिक दलका अलोकतान्त्रिक गतिविधिप्रति आआफ्ना दलका निकट बुद्धिजीवी र पेशाकर्मीले आ–आफ्ना धारणा राख्दै आएका छन् । करिब ३ दशकभन्दा पहिलाको समाज त भिन्न मत र विचार राख्ने व्यक्ति र समुदाय बीचको सम्बन्ध र हार्दिकतामा समेत संकुचित देखिन्थ्यो । तर अहिले भने त्यो अवस्थामा उल्लेखनीय रुपमा परिवर्तन हुँदै आएको छ । भिन्न विचार र मत राख्ने व्यक्तिबीच एकापसमा सौहर्द किसिमको वैचारिक छलफल गर्ने र आ–आफ्ना राजनीतिक दलका कमी, कमजोरी आत्मसात् गरी आलोचनात्मक टिप्पणीसमेत गर्न सक्ने लोकतान्त्रिक संस्कारको विकास हुँदै आएको छ ।

यो समाज परिवर्तन, लोकतन्त्रलाई बलियो र संस्थागत गर्न सक्ने बलियो आधार हो । गोप्य मतदानवाट आफ्नो अभिमत प्रकट गर्न पाउनु जनताको मौलिक अधिकार हो । वर्तमान समाजमा आफ्नो दलमात्र नभनी सक्षम, सामाजिक भावना, समाज समुदाय र राष्ट्रको नेतृत्व लिन सक्ने व्यक्ति हाम्रालाई होइन, राम्रालाई भोट दिनु पर्दछ भन्ने सकरात्मक सोचको विकास हुँदै गएको छ । तसर्थ समग्र रुपमा विष्लेषण गर्दा कुन दल वा उमेदवारले चुनाव जित्छ भन्ने आकलन गर्न त्यति सजिलो छैन । राजनीतिक दलका अलोकतान्त्रिक गतिवधिवाट रुष्ट भएका कार्यकर्ता र शुभचिन्तकले यो निर्वाचनमा के कसरी आफ्नो अभिमत प्रकट गर्दछन् भन्ने कुरामा यो निर्भर हुने देखिन्छ ।

सामान्यतया स्थानीय निर्वाचनमा जुन उमेदवार समाजमा बढी लोकप्रिय छ, उसैलाई तटस्थ मत जाने सम्भावना प्रबल रहन्छ । मतदानको अन्तिमसम्म तटस्थ मत र असन्तुष्ट पक्षको लहर जता ढल्किन्छ, त्यसैले चुनाव परिणामलाई डोर्‍याउने धेरैको आकलन छ । कास्की जिल्लामा पोखरा महानगरपालिकाको मेयर पदको चुनाव विशेष महत्वपूर्ण मानिन्छ । पोखरा नेपालको दोस्रो ठूलो महानगरपालिका हो । यहाँ एमालेका उमेदवार र पाँच दलीय गठबन्धनका साझा उमेदवारबीचमा नै प्रतिस्पर्धा हुने अवस्था देखिन्छ । एमालेको तर्फबाट मेयर पदका उम्मेदवार कृष्ण थापा तत्कालीन पोखरा उपमहानगरपालिको मेयर पदमा विजय हासिल गरी पाँच वर्षे कार्यकाल सफलतापूर्वक पूरा गरेका प्रभावशाली नेता मानिन्छन् ।

गठबन्धनका मेयर पदका साझा उमेदवार धनराज आचार्य नेकपा एकीकृत समाजवादीका कास्की जिल्लाका अध्यक्ष हुन् । पृथ्वीनारायण क्याम्पस, पोखराका पूर्व स्वतन्त्र विद्यार्थी युयिनका सभापतिसमेत भएर विभिन्न संघ, संस्थामा नेतृत्वदायी भूमिकामा रहँदै आएका उनी पनि कास्की जिल्लामा लोकप्रिय नेताभित्रै पर्छन् । तसर्थ यी दुई उम्मेदवार बीचमा कडा प्रतिस्पर्धा हुन सक्ने आकलन राजनीतिक विश्लेषकको छ । समग्र रुपमा हेर्दा पोखरा नेकपा एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धाकै भूगोल हो । नेपाली कांग्रेसका केही पुराना कार्यकर्ता र शुभचिन्तक अहिलेको पाँच दलीय गठबन्धनप्रति त्यति खुसी देखिँदैनन् । कांग्रेसका केही असन्तुष्ट पक्ष वा आफू नेपाली कांग्रेस हुँ, मेरो चिन्न रुख हो भन्ने राजनीतिक अडान र स्वाभिमान ठान्नेहरुका मत गठबन्धनका साझा उममेदवारलाई के कसरी जान्छन् भन्ने कुरा यकीन गर्न सकिएको छैन ।

जनताको आवश्यकता सुशासन समृद्ध नेपाल, सुखी नेपाली हो । हरेक राजनीतिक दल यसप्रति वफादार हुन जरुरी छ । घरभित्र फोहर छ भने बाहिर सफा भएर हुँदैन । राजनीतिक दलहरु नै लोकतन्त्र र राष्ट्र, जनताप्रति उत्तरदायी हुनु पर्दछ । राष्ट्रको पहिलो प्राथमिकता भ्रष्टाचार मुक्त समाज र सुशासन हो । स्वदेशी उद्योग नफस्टाए आयात प्रतिस्थापन हुँदैन । आर्थिक समृद्धिका लागि सुशासन र आयात प्रतिस्थापनलाई पहिलो प्राथमिकतामा राख्नु पर्दछ । अहिलेको अवस्थामा जनता राजनीतिक दल भनेर मरिहत्ते गर्ने र आफ्नो समर्थन रहेको दलले जे जस्तो अलोकतान्त्रिक गतिविधि गरे पनि अन्धभक्त भएर त्यसलाई एकतर्फी रुपमा समर्थन गर्ने अवस्था भने देखिँदैन । अहिलेको अवस्थामा असन्तुष्ट कार्यकर्ता र तटस्थ मत जुन दलले तान्न सक्छ, सोही दलले जित हासिल गर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया