सम्पादकीय: मतगणना चाँडो सक्न निर्देशन

समाधान संवाददाता २०७९ जेठ ५ गते १०:५६

काठमाडौं l
निर्वाचन आयोगले मतगणनासुरु भएको बढीमा ५ दिनभित्र मतगणना सक्न निर्देश गरेको छ । सानातिना विषयलाई ठूलो मुद्दा बनाई विवाद बल्झाउने, गणना कार्य सम्पन्न भई मुचुल्का उठाएर अन्तिम परिणाम घोषणा गर्ने समयमा पुनः गणना गराउन माग गर्नेजस्ता समस्या खडा गर्ने, गणना गर्दै जाँदा मतगणनाको अन्तिम चरणमा पुग्दा झिनो मतान्तर देखिएमा सुरुदेखि नै पुनः मतगणना गराउन खोज्नेजस्ता कार्यबाट मतगणना यथा समयमा सम्पन्न गर्ने कार्यमा व्यवधान उत्पन्न हुने हुँदा त्यस प्रकारका व्यवहार प्रदर्शन नगर्न आयोगले आग्रह गरेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन पद्धति र प्रक्रियामा भ्रम उत्पन्न हुने खालका समाचार सम्प्रेषण नगर्न नगराउन आयोग गरेका छन् । ‘तोकिएको जिम्मेवारी समयमै सम्पन्न गर्नका लागि चालिएका कदमउपर अन्यथा टीकाटिप्पणी गरी आयोगको गरिमा र निर्वाचन प्रक्रियाप्रति नै अविश्वास हुने गरी समाचार सम्प्रेषण नगर्न, नगराउन हुन आयोग सबैमा हार्दिक अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘यथासमयमा मतगणना सम्पन्न होस् भन्ने सबैको चाहनालाई विभिन्न मतगणनास्थलमा रहेका राजनीतिक दल, उम्मेदवार, प्रतिनिधि र कर्मचारी वर्गले यथार्थरुपमा ग्रहण गरी उक्त चाहनाबमोजिम छिटो कार्य सम्पादन गराउन आयोग अपिल गर्दछ ।’

परिणाम आउन बाँकी पालिकामा मतगणना कार्य २०७९ जेठ ५ गतेसम्म सम्पन्न गर्न आयोगको तर्फबाट अधिकतम् प्रयास भइरहेको आयोगले जनाएको छ । धेरै मत गणना गर्नुपर्ने अवस्था रहेका महानगर र उपमहानगरपालिकाका हकमा बढीभन्दा बढी मत गणना टोली व्यवस्था गरी तोकिएको समयभित्र मतगणना कार्य सम्पन्न गर्नका लागि यसअघि नै आयोगबाट भएको निर्देशनलाई स्मरण गराउँदै आयोगले विभिन्न कारणबाट मतदान स्थगन भएका पालिकाको हकमा मतदान सम्पन्न भएकै दिन मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भइसकेपछि यथाशीघ्र गणना प्रारम्भ गरी बढीमा ५ दिनभित्र मतगणना कार्य सम्पन्न गर्न–गराउन भनिएको छ ।

Advertisement

आयोगको संवैधानिक जिम्मेवारी एवं निष्पक्ष, विश्वसनीय र मितव्ययीरुपमा निर्वाचन सम्पन्न गराउने दायित्व र जिम्मेवारीलाई पूर्णरुपमा सफल पार्नका लागि सबै राजनीतिक दल, उम्मेदवार, आमसञ्चार जगत्, नागरिक समाजलगायत सबै सरोकारवालाको उत्तिकै साथ र सहयोग अपरिहार्य रहेको विज्ञप्तिमा जनाइएको छ । विद्यमान कानुनी व्यवस्था बमोजिम बहालवाला स्थानीय जनप्रतिनिधिको पदावधि यही जेठ ५ गतेसम्म रहेको र तत्पश्चात स्थानीय सरकारमा जनप्रतिनिधिविहीनता हुने अवस्थालाई मध्यनजर गरी जेठ ५ गतेभित्र नै मतगणना सम्पन्न गरी यथाशीघ्र परिणाम प्रकाशन गरी निर्वाचित जनप्रतिनिधिलाई तत्काल कार्यभार सम्हाल्ने अवस्था निर्माण गर्न सम्भव तुल्याउने मनसायले आयोगबाट निर्देशन भएको उल्लेख गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया