जसले लगातार जिते ५ चुनाव

राष्ट्रिय समाचार समिति (रासस) २०७९ जेठ ८ गते १३:२८

लमजुङ l
गुमानसिंह अर्यालले कहिल्यै हार व्यहोर्नु परेको छैन । बेँसीसहरका ६५ वर्षीय अर्याल प्रधानपञ्चदेखि हालको स्थानीय तह निर्वाचनसम्म सधैँ विजेता बन्न सफल भएका छन् । बेँसीशहर नगरपालिका वडा नं ९ का अर्याल बेँसीशहर गाउँ पञ्चायतको प्रधानपञ्च हुँदै पुनःदोस्रो कार्यकालका लागि नगर प्रमुख बनेका छन् ।

पञ्चायतकालमा जनपक्षीय उम्मेदवारका रुपमा विसं ०४३ मा उनी ३० वर्षको उमेरमा पहिलो पटक जनप्रतिनिधि अर्थात बेँसीशहर गाउँ पञ्चायतको प्रधानपञ्च चुनिएका थिए । उक्त बेला बमबहादुर अर्याल, रणबहादुर अधिकारी, केन्द्रबहादुर सिलवाल, कमलबहादुर पौडेल, गणेशबहादुर रावललगायत सात जना उम्मेदवारलाई हराउँदै उनी प्रधानपञ्च भएका थिए । विसं २०४६ को परिवर्तसँगै गाउँ पञ्चायत गाविसमा परिणत भयो ।

सोपश्चात् विसं ०४९ को स्थानीय निकायको निर्वाचनमा नेकपा (एमाले)ले बालकृष्ण बराललाई गाविस अध्यक्षमा र अर्याललाई वडा नं ८ को अध्यक्षको उम्मेदवार बनाएको थियो । नेपाली कांग्रेसका रणबहादुर अधिकारीसँग चुनावी प्रतिस्पर्धामा बराल पराजित भए तर, भीमबहादुर कुँवरलाई पराजित गर्दै अर्याल वडाध्यक्षमा चुनिए ।

Advertisement

०५४ मा भएको स्थानीय निर्वाचनमा एमालेले अर्याललाई पुनःबेँसीशहर गाविसको अध्यक्ष पदको उम्मेदवार बनायो । मोहनबहादुर थापालाई उपाध्यक्षको टिकट दियो । तर, थापा पराजित भए । यता कांग्रेस उम्मेदवार बेँसीशहरका तिलकबहादुर पौडेललाई हराउँदै अर्याल भने गाविस अध्यक्षमा निर्वाचित बने ।

०५४ मा तिलकबहादुर पौडेललाई हराएका अर्यालसँग प्रतिस्पर्धा गर्न पौडेलकै जेठा छोरा भेषबहादुर पौडेल ०७४ को निर्वाचनमा होमिए । तर, अर्यालले २ सय ९७ मतान्तरले पौडेललाई हराए । अर्यालले त्यति बेला ७ हजार ६ सय २४ मत प्राप्त गरेका थिए भने पौडेलले ७ हजार ३ सय २७ मत प्राप्त गरेका थिए ।

Advertisement

सो बेलामा नेकपा (माओवादी केन्द्र)सँग मिलेर एमाले चुनावमा होमिएको थियो । तर यस पटकको स्थानीय तह निर्वाचनमा एक्लै निर्जाचन प्रतिस्पर्धामा लागेको एमालेको उम्मेदवार अर्यालले कांग्रेस, गठबन्धनको तर्फबाट कांग्रेसका श्रीकान्त घिमिरेलाई प्रमुखमा पछि पार्दै २ हजार ८ को फराकिलो मतान्तरले जित हासिल गरेका हुन् ।

अर्यालले ९ हजार ४ सय ७९ मत प्राप्त गरेका छन् भने कांग्रेसका घिमिरेले ७ हजार ४ सय ७१ मत प्राप्त गरे । विसं २०३७ देखि कानुन व्यवसायमा लाग्नुभएका अर्याल वरिष्ठ अधिवक्तासमेत हुन् । उनी जिल्लास्थित बार इकाइको अध्यक्षसमेत भएका थ्एि । हाल एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य रहेका उनी यसअघि जिल्ला कमिटी लमजुङको दुई कार्यकाल उपाध्यक्ष र पटक पटक कमिटीमा बसेर काम गरिसकेका छन् ।

अर्याल करिब ४ दशकदेखि जनप्रतिनिधिमा क्रियाशील रहँदै आएका छन् । उहाँ विसं २०४३ देखि हालसम्म भएका ५ वटा चुनावमा निरन्तर विजयी यात्रामा अघि बढेका छन् । उनले कहिल्यै हार बेहोर्नु परेको छैन । जनताको निःस्वार्थ सेवाको परिणामले आफू लगातार जनप्रतिनिधि बन्न सफल बनेको उनको भनाइ छ ।

‘नगरलाई समानुपातिक ढङ्गले विकसित बनाउने, सबैलाई समेटेर समावेशी सिद्धान्त अनुसार नागरिकको सम्मान गर्दै अघि बढिरहन्छु’, अर्यालले भने । राजनीतिमा विश्राम लिनेबारे सोच्ने बेला नभएको उनी तर्क गर्छन् ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया