बागलुङमा १० प्रतिशत मत बदर

समाधान संवाददाता २०७९ जेठ ११ गते १७:०९

बागलुङ ।
हालै सम्पन्न स्थानीय तह निर्वाचनमा बागलुङमा १० प्रतिशतभन्दा बढी मत बदर भएको छ । जिल्लाका १० स्थानीय तहको प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला र खुला सदस्य पदमा खसेको मतको १० दशमलव ६३ प्रतिशत मत बदर भएको हो ।

१ लाख ९३ हजार २ सय २६ मतदातामध्ये ६३ दशमलव ६० प्रतिशत अर्थात् १ लाख २१ हजार ८ सय ६९ मत खसेकामा ८९ दशमलव ३७ प्रतिशत मत सदर भएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ । खसेकामध्ये पूर्णरुपमा ० दशमलव ८० प्रतिशत (१ हजार ९) र सात वटै पदमा १३ हजार ७ सय ४२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माले जानकारी दिए ।

शर्माका अनुसार मतदाता संख्या १ लाख ९३ हजार भए पनि एक मतदाताले सात चिह्नमा मतदान गर्ने भएकाले धेरै मत बदर भएको देखिएको बताए । ‘१ जना मतदाताले सात पटक सात पदमा मतदान गर्नुहुन्छ, तर कतिले सात पदमै गरेको मतदान बदर भएमा पूर्ण मत बदर भन्ने बुझिन्छ जसमध्ये १ हजार ९ मतपत्र पूर्णरुपमै बदर भएको पाइयो’, शर्माले भने । ७ पदमध्ये केही पदमा मात्रै मत बदर भएको संख्या १३ हजार बढी छ ।

Advertisement

यसमध्ये उपाध्यक्ष, उपप्रमुख पदमा सबैभन्दा बढी मत बदर भएको पाइएको छ । जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले सबैभन्दा बढी मत गठबन्धका कारण बदर भएको मतगणनाका क्रममा पाइएको बताए । उनले एउटै मतपत्रको तलमाथि चिन्हमा मत लगाउँदा बढी बदर भएको पाइएको बताउँदै लस्कारै चिह्न लाउने मतदाताको मत कम संख्यामा बदर भएको बताए । उनले पूर्ण रुपमा मत बदर भएकोमा मतपत्र भन्दा बाहिर मतदान गरेको लगायतका समस्या देखिएको छ ।

मतदाता शिक्षामा कमी हुनु र एकै मतदाताले फरक फरक पार्टीका उम्मेदवारलाई मत दिँदा बढी मत बदर भएको देखिएको छ । १० स्थानीय तहमा ८५ वडा रहेको बागलुङमा निर्वाचित हुने ४ सय ४५ पदका लागि १ हजार १ सय ९१ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए । बागलुङ जिल्लामा निर्वाचनपश्चात नेपाली कांग्रेसले ६ पालिका प्रमुख, ५ पालिका उपप्रमुख, ३७ वडाध्यक्ष, माओवादी केन्द्रले १ पालिका प्रमुख, ३ पालिका उपप्रमुख, १७ वडाध्यक्ष, राष्ट्रिय जनमोर्चाले २ पालिका प्रमुख, २ पालिका उपप्रमुख र ११ वडाध्यक्ष, नेकपा एमालेले १ पालिका प्रमुख, १६ वडाध्यक्ष, नेकपा (एकीकृत समाजवादी)ले ३ वडाध्यक्ष र स्वतन्त्रबाट १ वडाध्यक्षले जितेका छन् ।

Advertisement

बागलुङका १० वटै पालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ ग्रहणपछि कार्यभार सम्हालीसकेका छन् । उनीहरुले पहिला बैठक बसेर केही लोकप्रिय निर्णयसमेत गरिसकेको जनाइएको छ । अहिले निर्वाचित जनप्रतिनिधि मतदातालाई धन्यवाद दिन गाउँ गएका छन् ।

तपाईको प्रतिक्रिया