पोखरामा वडाध्यक्ष उम्मेदवार जसले आफैंलाई भोट हालेनन् !

वडाको मतदाता नभई उम्मेदवार बन्न पाइन्न । मतदाता भएकैले उम्मेदवारी दिएका कतिपयको मत भने शून्य आएको छ

प्रमिला कुँवर २०७९ जेठ १५ गते १०:१३

पोखरा ।
गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनको मतगणना सकिएको छ । पोखरा महानगरमा जेठ २ गतेदेखि सुरु मतगणना जेठ ११ गते सकिएको छ । मेयर, उपमेयर ३३ वटै वडाका वडाध्यक्ष लगायत सम्पूर्ण प्रतिनिधि चुनिएका छन् । उनीहरुले पदभार ग्रहण गरिसकेका छन् ।

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन गत वैशाख १९ र २० गते राजनीतिक दलमात्र होइन, सर्वसाधारणको समेत मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उत्सुकतापूर्ण भिड थियो । त्यहाँ यस्तो नजिता पनि भेटियो कि कतिपय उम्मेदवारले आफैंलाई भोट हालेनन् । होइन भने वडा नम्बर १३ मा वडाध्यक्ष पदमा विष्णुप्रसाद बराल, वडा नम्बर २५ मा मिलनप्रसाद बाँस्तोला र वडा नम्बर २६ मा कर्णबहादुर विश्वकर्माले शून्य मत पाउँदैनथे ।

उनीहरुले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । वडाको मतदाता नभई उम्मेदवार पनि बन्न पाइन्न । उनीहरु मतदाता भएकैले उम्मेदवारी दर्ता गराए तर १ भोट पनि उनीहरुलाई नआएको परिणामले देखायो । अर्थात उनीहरुले आफैंलाई पनि भोट हालेनन् ।

Advertisement

वडा नम्बर १३ मा ५ हजार ५ सय ८९ मत गणना भएको थियो । त्यहाँ स्वतन्त्र उम्मेदवारी दिएका विष्णुप्रसाद बराल भुइँकटर चुवाव चिह्न लिएर चुनाव लडेका थिए । उनले १ मत पनि पाएनन् । उनले आफैंलाई भोट दिएनन् । यस वडामा नेपाली कांग्रेसका किरण बराल २ हजार ९ सय ४२ मतसहित वडाध्यक्ष निर्वाचित भएका छन् ।

वडा नम्बर २५ मा स्वतन्त्र उम्मेदवारी दिएका मिलनप्रसाद बाँस्तोला जसले आफैलाई भोट दिएनन् । ५ हजार २ सय २३ मत खसेको यो वडामा बाँस्तोलाले १ मत पनि पाएनन् । उनको चुनाव चिह्न ब्याडमिन्टनको कक हो । यहाँ नेपाली कांग्रेसका मोतीलाल तिम्सिना २ हजार २ सय ६६ मत पाएर वडाध्यक्ष चुनिएका छन् ।

Advertisement

वडा नम्बर २६ मा वडाध्यक्षका उम्मेदवार कर्णबहादुर विश्वकर्माले पनि १ मत पनि पाएनन् । ५ हजार १ सय ८४ मत खसेको यस वडामा उनको खातामा भने १ मत पनि खसेन । उनले आफैंलाई भोट दिएनन् । उनको चुनाव चिह्न आँप थियो । यस वडामा पनि नेपाली कांग्रेसका नरेन्द्र थापा २ हजार ७ सय ६५ मत सहित विजयी भएका छन् ।

वडा नम्बर १६ मा नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी पार्टीबाट चुनावमा उठेका भीमसेन थापाले जम्मा १ मत पाए । वडा नम्बर १४ मा नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी पार्टीबाट उम्मेदवारी दिएकी सीतादेवी क्षेत्रीले २ मतमात्रै पाएकी छिन् । उक्त वडामै स्वतन्त्र उम्मेदवारी दिएका आइतसिंह गुरुङले जम्मा ३ मत पाएका छन् । उनको चुनाव चिह्न खरायो हो ।
वडा नम्बर २६ का स्वतन्त्र उम्मेदवार चुनाव चिह्न किताब लिएर चुनाव लडेका पवन ढुंगनाले ३ मतमात्र पाएका छन् । पोखरा नगरको मेयर पदमा देशभक्त समाज पार्टीबाट उम्मेदवारी दिएका रनबहादुर दमैले ५ मतमात्रै पाएका छन् ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया