घुससहित समातिएका सरकारी वकिलले पाए सफाइ

समाधान संवाददाता २०७९ जेठ १९ गते १०:३१

पोखरा ।
गैरकानूनी सम्पत्ति आर्जन र घूस प्रकरणको मुद्दाका आरोपित सरकारी वकिल सुरेन्द्रबहादुर थापाले सफाई पाएका छन् ।
दुई फरक प्रकृतिका मुद्दालाई एकैसाथ हेरेर आरोपित थापालाई विशेष अदालतले सफाइ दिएको छ । अख्तियारले ३ वर्षको फरकमा मुद्दा चलाए पनि विशेष अदालतका सदस्यहरु रमेशकुमार पोखरेल, बलभद्र बास्तोला र डा. खुसीप्रसाद थारुको इजलासले सोमबार थापालाई सफाइ दिएको हो ।

थापामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७८ माघ २८ मा गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा मुद्दा दायर गरेको थियो । अख्तियारले २०७५ कात्तिक २७ मा ५ लाख रुपैयाँ घूस लिएको आरोपमा थापालाई पक्राउ गरी विशेष अदालतमा भ्रष्टाचार अर्काे मुद्दा दायर गरेको थियो । फरक प्रकृतिका यी २ मुद्दालाई विशेष अदालतले एकसाथ राखेर सफाइ दिएको हो ।
न्याय निरुपणमा संलग्न तीनमध्ये न्यायाधीश रमेशकुमार पोखरेल सरकारी वकिल पृष्ठभूमिका हुन् ।

‘यहाँ सरकारी वकिलबाट नै उच्च अदालतको न्यायाधीश हुनुभएको हो । सरकारी वकिल हुँदा सहन्यायाधीवक्ता थापा र उहाँ सहकर्मी हुनुहुन्थ्यो,’ महान्यायाधीवक्ता कार्यालय स्रोतले भन्यो, ‘विशेष अदालतमा अहिले ६ जना न्यायाधीशको टोली छ । सदस्य पोखरेलले पूर्वसहकर्मीको मुद्दा हेर्नुभयो, दुई फरक मुद्दामा एकसाथ सफाइ भयो । कसो कसो असहज देखिएको छ ।’
गैरकानुनी सम्पत्ति आर्जनको आरोपबाट सफाइ पाएका थापामाथि गत माघमा अख्तियारले ६१ लाख २ हजार रुपैयाँ गैरकानुनी आर्जन गरेको अभियोग लगाएको थियो ।

Advertisement

२०४५ असार ५ मा सेवा प्रवेश गरेका थापाले २ वर्ष अघिसम्म १ करोड ७६ लाख रुपैयाँमात्रै आर्जन गरेका थिए । तर उनको सम्पत्ति छानबिन गर्दा २ करोड ३७ लाख रुपैयाँ बराबर जोडेको भेटिएको थियो । ६१ लाख रुपैयाँ रकमको स्रोत नखुलेको भन्दै अख्तियारले थापामाथि मुद्दा चलाएको हो । ५० लाख रुपैयाँ हाराहारीको गैरकानुनी सम्पत्ति आर्जनको फाइलमा मुद्दा नचलाउने नीति बनाएको अख्तियारले रंगेहात घूसको अभियोगमा पक्राउ परेका थापामाथि ६१ लाख रुपैयाँको बिगोमा समेत मुद्दा चलाएको थियो ।

अख्तियारले उच्च सरकारी वकिलको कार्यालय पोखराको प्रमुख हुँदा सहन्यायाधीवक्ता थापाले ५ लाख रुपैयाँ घूस खाएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनले ठगी मुद्दामा जोडिएका १ व्यक्ति विरुद्धको मुद्दा माथिल्ला अदालतमा नलैजाने शर्तमा उनका बाबुसँग ५ लाख रुपैयाँ घूस मागेका थिए ।

Advertisement

रंगेहात पक्राउ परेपछि थापाले बरामदी मुचुल्कामा हस्ताक्षर गर्न अस्वीकार गरेर आफूलाई फसाइएको भनी बयान दिएका थिए । रंगेहात मुद्दामा अरु प्रमाणबाहेक अख्तियारले प्रदान गरेको रकमलाई मात्रै आधार नमानिने भनी सर्वोच्च अदालतले गत वर्ष प्रतिपादन गरेको नजीरका आधारमा थापाले सफाइ पाएको विशेष अदालत स्रोतले बतायो । सफाइ पाएको फैसलाको पूर्णपाठ तयार हुन बाँकी छ ।

रंगेहात घूस र गैरकानुनी सम्पत्तिआर्जन दुवै भ्रष्टाचारसम्बन्धी अभियोग भए पनि यिनीहरुको प्रकृति, प्रमाण बुझ्ने तरिका फरक हुन्छ । विशेष अदालतले २०७८ चेत २३ मा एक अर्कासँग सम्बन्धित नभएका रंगेमात घुस र गैरकानुनी सम्पत्तिआर्जनका दुई मुद्दालाई एकसाथ (लगाउमा) राख्ने आदेश गरेको थियो ।

उनी सरकारी वकिलको कार्यालय, काठमाडौंको प्रमुख हुँदा अपहरण तथा शरीर बन्धक तथा ज्यान मार्ने उद्योगमा जोडिएका आरोपितको मुद्दामा विवादास्पद निर्णय गरेका थिए । जिल्ला अदालतको फैसलापछि उनले म्यादभित्र पुनरावेदन नगरेका कारण आरोपितहरुले उन्मुक्ति पाएका थिए । उन्मुक्ती पाउन ‘खर्च गरेका’ आरोपितहरुले पछि त्यसको खर्च उठाउन भरतपुर क्यान्सर अस्पतालका डाक्टर भुक्तमान श्रेष्ठको अपहरण गरेको खुलेको थियो । उक्त घटनामा न्यायाधीश बलराम केसी संयोजकत्वको छानबिन समितिले समेत थापालाई दोषी ठहर्‍याएको थियो ।

तपाईको प्रतिक्रिया