सुर्खेतका उद्योगी, व्यवसायी पोखरामा

समाधान संवाददाता २०७९ जेठ १९ गते १५:३१

पोखरा ।

पोखरा र सुर्खेत उद्योग वाणिज्य संघबीच निजी क्षेत्रका साझा एजेन्डासँगै अगाडि बढाउने र पर्यटन क्षेत्रमा सहकार्य गर्ने सहमति बनेको छ । पोखराले सुर्खेत उद्योग वाणिज्य संघको प्रतिनिधि मण्डलको स्वागतमा मंगलबार आयोजना गरेको अन्तक्र्रियामा सो सहमति बनेको हो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी अध्यक्ष सञ्जीवबहादुर कोइरालाले पालिकामा आएका नयाँ जनप्रतिनिधिले निजी क्षेत्रसँग भएको ज्ञान, सीप र पुँजीलाई राष्ट्र निर्माणमा लगाउनुपर्नेमा जोड दिए । यसअघि पालिका राजनीतिक दलबाट आएका पालिका प्रमुखले विचार नमिलेकै आधारमा उद्योग वाणिज्य संघको नेतृत्वसँग सहकार्य गर्न नखोजेको उनले तीतो अनुभव सुनाए । उनले निजी क्षेत्रलाई काम गर्ने वातावरण निर्माण नभएमा पालिकाको समुन्नति पनि सम्भव नभएको बताए ।

Advertisement

पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रमका अध्यक्ष नारायण कोइरालाले पोखराको समग्र विकासमा निजी क्षेत्रले पुर्‍याएको योगदानको स्मरण गर्दै संघ समृद्धिमा सहकार्य गर्न तयार रहेको बताए । पछिल्लो समय पोखरामा देखिएका पार्किङ, फोहरमैला व्यवस्थापन लगायतका समस्याको समाधान एवं पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनतर्फ पालिकाको नयाँ नेतृत्वले ध्यान दिनुपर्ने उनको धारणा थियो ।

निजी क्षेत्र सदैव सहकार्यको पक्षमा रहेको उल्लेख गर्दै उनले निजी क्षेत्रको मानमर्दन गर्ने प्रवृत्ति भने रोकिनुपर्नेमा जोड दिए । पोखरा र सुर्खेत भौगोलिक रुपले एकै खालको रहेको र फेवालाई रारासँग जोड्न सके समृद्धि प्राप्त हुने उनको तर्क थियो ।
सुर्खेत उद्योग वाणिज्य संघ अध्यक्ष लक्ष्मण कँडेलले समग्र कर्णालीको विकासका लागि सुुर्खेतले पोखरासँग सहकार्य गर्न खोजेको बताए । रारा तालको बजारीकरण र सो क्षेत्रमा रहेका जडिबुटीको प्रशोधनतर्फ संघले ध्यान दिएको जानकारी दिँदै उनले सुर्खेत र पोखराबीच सहकार्यमा विशेष जोड दिए ।

Advertisement

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापतिको धन्यवाद ज्ञापन तथा महासचिव सुरेन्द्रमान बिजुक्छेको सञ्चालन रहेको कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष धनबहादुर रावत लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया