हाम्रो सहयोगी सहकारीको १३ औं वार्षिकोत्सव

समाधान संवाददाता २०७९ जेठ २३ गते १४:१९

पोखरा ।
हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले पोखरा महानगरपालिका १४ चाउँथेमा सेवा केन्द्र विस्तार गरेको छ । पोखरा ९ पृथ्वीचोकमा मुख्य कार्यालय रहेको सहकारीले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार देखि चाउँथेमा सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।

कार्यालय पोखरा महानगरपालिकाका मयेर धनराज आचार्यले सुरुआत गरे । मेयर आचार्यले सहकारी वित्तीय क्षेत्रको मेरुडण्ड रहेको बताए । उनले आगामी दिनमा हरेक वडामा २ सहकारीसगँ समन्वय गरेर उत्पादनको प्रवद्र्धन गर्न कोसेली घर निर्माण गरिने सुनाए ।

पोखरा १४ का अध्यक्ष बोधराज कार्कीले स्थानीयलाई आफ्नै टोलमा सहकारी आएकाले बचत गर्ने बानीको विकास गर्न सुझाव दिए । अध्यक्ष कार्कीले आफ्नो वडालाई नमुना वडाको रुपमा विकास गर्न लागिपरेको बताए ।
कार्यक्रममा पोखरा १७ का वडाध्यक्ष राधिका शाही योगी, मादी गाउँपालिका ४ का वडाध्यक्ष शिव सापकोटा, गण्डकी चेम्बर्स अफ कमर्स गण्डकी अध्यक्ष किसान सुनार, सहकारी व्यवस्थापन क्लबका अध्यक्ष अपिल कोइराला, शुन्दर टोल विकास संस्थाका अध्यक्ष बलराम लामा लगायतले बोलेका थिए ।

Advertisement

हाम्रो सहयोगीले विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । संस्थाका निर्वतमान अध्यक्षसमेत रहेका शिव सापकोटा मादी गाउँपालिकाको वडा नम्बर ४ को वडाध्यक्षमा निर्वाचित भएकोमा सम्मानित भए । पोखरा १७ को वडाध्यक्षमा निर्वाचित भएकोमा संस्थाका पूर्व उपाध्यक्षसमेत रहेकी राधिका शाही योगीलाई सम्मान गरिएको सहकारी संस्थाका व्यवस्थापक जीवन अधिकारीले बताए ।

समारोहमा पोखरा १४ का वडाध्यक्ष बोधराज कार्कीलाई समेत सम्मान गरियो । कर्मचारीबाट उत्कृष्ट कारोबार गरेकोमा हरि न्यौपाने र भोलानाथ ओझालाई पुरस्कृत गरियो । उत्कृष्ट भेषभूषासहित कार्यक्रममा उपस्थित भएको नवरत्न आमा समूहलाई समेत सम्मान गरिएको छ ।

Advertisement

वार्षिकोत्सवको अवसरमा भएको रक्तदानमा ५१ युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटी कास्की र रक्तसञ्चार केन्द्र रामघाटको प्राविधिकमा कार्यक्रम भएको हो । कार्यक्रममा सहभागीको सित्तैमा सुगर जाँच गरिएको थियो ।

सहकारीका अध्यक्ष शुक्रराज कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रुद्रबहादुर विक र सचिव कृष्णप्रसाद तिमिल्सिनाले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया