चुनावः दुमो र च्याँखे दाउ

समाधान संवाददाता २०७९ जेठ २४ गते १४:०६

मदन भण्डारी ।
बेइज्जत नहुनु नै इज्जत हो । अरुले गर्ने बेइज्जतीले उस्तो असर गर्दैन । गोरेमान भन्ने एक फटाहा पुरुषको उक्स्याहटमा काली र गोरी दुई युवतीले प्रेम सञ्जेलको बेइज्जतीका लागि भरमग्दूर गरे । बलात्कारको बात लगाए । पदबाट राजीनामाको माग गरे । खासै फरक परेन । मीनाले जति उडाए पनि मनोज हाँसेरै बाँचेका छन् तर रमिलाले चाहिँ केशव स्थापितलाई थचक्कै पारिन् ।

रमिला दीकै कारण २०७९ बैशाख ३०, स्थानीय तहको निर्वाचनमा काठमाण्डू महानगरका मेयरका बलिया उम्मेद्वार केशव स्थापितले उत्तानो परेको कक्रोज जस्तो हुनुपर्‍यो । थुप्रै घमण्डी भ्यागुताले भुँडी फुटेर रुनुपर्‍यो ।
अलिकति इज्जत सोच्ने एमालेका महिला उम्मेद्वारले चुनाव जित्दा पुरुष उम्मेद्वार भुइँमा पछारिए । पत्रकारका अगाडि तप्प–तप्प आँसु खसे । यी वैयक्तिक कुरा होइनन्, व्यक्तिले भाँड्दा सँस्था भाँडिए । पार्टी दुर्गतिमा पर्‍यो । पोखरामा ‘७ सूर्य ६ छाप, अन्तर्घाती मूर्दावाद !’ को नारा उरालियो ।

स्थानीय तहको निर्वाचनले जबर्जस्त केही सिकाएको छ । इतिहासले आफूबाट नसिक्नेलाई अवश्य दण्डित गर्छ ।

Advertisement

यसरी आफूले आफैंलाई लोप्पा ख्वाउँदै जुलुसमा हिँड्ने एमाले कार्यकर्तालाई देख्नेले लाज माने । संसदमा केपी ओलीले चुनावको वीभत्सताको चित्र उतारे पनि प्रचण्डले कठोर प्रश्न गर्न पाए । एक्लै फेरि प्रधानमन्त्री भएर देखाऊ भन्न पाए । यद्यपि, प्रचण्ड स्वयँ राजनीतिको खालमा दाउ हान्दै छैनन्, दुमो जोगाएर च्याँखे थाप्दैछन् । चितौनमा उनको दुमो जोगिएको छ । मंसिरे चुनावमा फेरि च्याँखे थाप्लान् ।

संसदमा ओली र झलनाथ खनालले आ–आफ्ना दानवीरताका फलाका हाले । यी जितौरी बाँड्ने जुवाडेलाई लौरी लगाउने युवा पनि उज्ज्वल सम्भावनाका साथ उदाएका छन् । चुनावपछिको अचाक्ली महंगीले ढाड भाँच्चिदा जनताले क्षितिजमा उज्यालोको संकेत देख्न पाइएको छ । जतिसुकै कालो बादलमा पनि चाँदीको घेरा हुन्छ ।
आगामी आम चुनाव भएमा जित्ने दाउकै गणितमा गठबन्धन सरकारले बजेट ल्यायो । यो सिधै वितरणमुखी छ ।

Advertisement

मानौँ, ठगबन्धन सरकारको लास चल्दैछ र बुर्कीसँगै सुकीमोहोर बाटामा फालिएको छ । भिखारीले टिप्छ र चुनावमा भोट हाल्छ । गणितमा २ र २ जोड्दा ४ भए पनि राजनीतिमा त्यस्तो हुँदो रहेनछ । यहाँ अनेक तत्वले काम गर्ने रहेछ । पैसो, संगठन, प्रचार शैली, उम्मेद्वारको प्रभावकारिता, जनमतभित्रको हलचल र विदेशी प्रभुका कृपादृष्टि आदि तत्व महत्वपूर्ण हुँदारहेछन् । अतः ६० पनि पुग्न नपर्ने वृद्ध भत्ता ठगबन्धन सरकारलाई प्रत्युत्पादक पनि हुन सक्छ ।

हामीले मदन भण्डारीको हत्याले चेतेनौँ । वीरेन्द्रको वंशनासले चेतेनौँ । बाढी, भूकम्प, कोरोनाले चेतेनौँ । ०७९ जेठ १६ मा मिडियामा डा. जगमान गुरुङले भने, ‘नेपालले दुःख पाउन पुगेकै छैन ।’ सायद अब चेतिने दिन आउँदै छ । स्थानीय तहको निर्वाचनले जबर्जस्त केही सिकाएको छ । इतिहासले आफूबाट नसिक्नेलाई अवश्य दण्डित गर्छ । यसैले नेता गण चलाख बनेर बालेन, हर्क र गोपालको प्रशंसामा आकासपाताल जोडिरहेका छन् ।
बधाई र शुभकामनाका भण्डार टक्रयाइरहेका छन् ।

मानौँ यी नयाँ अनुहारका मेयरहरु पनि पैसा र बैँसको चक्करमा फँसिहाल्छन् । महमा झिँगा डुबिहाल्छ । यी पनि स्थापित जस्तै विस्थापित भैहाल्छन् । नेता आफ्ना लूटको स्वर्ग जोगाउन अनेक कुत्सित जाल बुनिरहेका छन् । ठगबन्धन कायमै राख्ने वा नयाँ वाम ठगबन्धन बनाउने दुवै षडयन्त्रका तानाबाना बुनिँदैछ । झलनाथ खनाल केपी ओलीसँग मिल्न सकिने बताउँदैछन् । प्रचण्ड फेरि ओलीका अगाडि निहुरमुन्टी लगाएर कांग्रेससँग होँक्का–होँक्का गर्दैछन् ।

प्रतिभाशाली युवती सुनिता डँगोलले काठमाण्डूमा उपमेयरको चुनाव जितिन् । मनाङको चामेमा ट्वाँके पोइकी जोई सुकमायाले जितिन् । यस्ता केही छन्, यी प्रतिनिधि पात्र हुन् । दुवै एमालेका उम्मेद्वार, एमालेको संगठन अझै दह्रै छ तर संगठनको मात्रै समथ्र्यले पुगेन । काठमाण्डू र धरानमा बालेन र हर्कको विशाल संगठन थिएन । यिनीहरुमा पैसो र वाह्य प्रभाव पनि देखिएन । बालेन शाहका हकमा शंकाका केही आधार छन् । गगन थापा यसका गतिला उदाहरण हुन् ।

गगन थापालाई सच्चा लोकतन्त्रवादी युवा ठानिएको थियो तर एमसिसीको मुद्दामा उनको लोकतान्त्रिक वस्त्र ह्वार्लाङ्ङै च्यातियो । लोकगीतले भन्छ, ‘चोलिया फाटे दर्जीले सिउँछ, मन फाटे भर्लङ्ङै !’ एमसिसी पास गर्ने बेलाका गगनका उत्ताउला भाषण र अहिले नेपालमा बढ्दो अमेरिकी हस्तक्षेपले मुलुकलाई सिधै युक्रेनको अवस्थातिर धकेल्दैछ । देशभक्त बौद्धिकहरु चिच्याइरहेका छन्, ‘अब चीन चूप लागेर बस्दैन !’ उखानले भन्छ, ‘आकसको राहू, पातालको केतू, आफैले नपरी कसरी चेतूँ !’ हामी युक्रेनको अवस्था भोगेरै चेत्न खोज्दैछौँ ।

हाम्रा नेताले महासँकट निम्त्याउँदै गर्दा वालेनलाई अभिमन्यू बनाइने त होइन ! उनलाई वाइडबडीका रवीन्द्र बनाइने त होइन !’ शँका उप्जेको छ, शँका नगरी सत्य पत्ता लाग्दैन । शेरबहादुर, केपी, लिंदेन र बाबुराम खालमै बसेर दाउ हान्दैछन् । बिप्पा सम्झौताका बेला बाबुरामले खुलेरै ‘जुवा खेलेँ’ भनेका थिए । हाल उनी खालमा मधिसे गम्छा ओडेर अलि नचिनिनेझैँ गरी बसेका छन् । राष्ट्रिय झण्डाले बेरिएका लिङ्देनको क्रेज चम्किलै भए पनि उनी कथाका सोम शर्माका पात्र हुन् ।

उनको कुखुराले अण्डा पार्दैन, चल्ला काडिँदैन, गाई ब्याउँदिन । उनले घैँटोमा लात हान्छन् र अनुहारभरि सातु पोखिन्छ । राप्रपाले २-३ साँसद सिट ल्याएर सँविधान फेर्ने कुरा जनयुद्धकालीन माओवादी कार्यकर्ताका सत्ता कब्जाका सपना जस्तै हो । झ्वाट्ट हेर्दा प्रचण्ड नै महाभारतका अर्जुन जस्ता देखिए पनि कृष्णविहीन अर्जुनलाई चोरले थप्पड्याएका थिए । जनता जनार्दनसँग उछिट्टिएका प्रचण्ड अब नेपाली राजनीतिमा रेनुको दुमोले च्याँखे थाप्लान्, खालमा दाउ हान्न सक्दैनन् । लगौँटी नै नभएपछि हातले गुप्ताङ छोपेर इज्जत ढाकिँदैन ।

तपाईको प्रतिक्रिया