गण्डकी प्रज्ञा प्रतिष्ठानले प्रज्ञा उत्सव गर्ने

समाधान संवाददाता २०७९ जेठ २७ गते १७:२५

पोखरा ।
गण्डकी प्रज्ञा प्रतिष्ठानले ‘प्रज्ञा उत्सव’ आयोजना गर्ने भएको छ । कार्यक्रम असार १० गतेबाट १२ गतेसम्म प्रतिष्ठानकै हलमा हुने सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । पहिलो दिन असार १० गते कला कार्यशाला गरिनेछ । दोस्रो दिन असार ११ गते कविता, गजल, मुक्तक, लघुकथा वाचन कार्यक्रम हुनेछन् । सोही दिन नाटक ‘धनीरामको गोरु’ मञ्चन गरिनेछ ।

असार १२ गते विभिन्न सांस्कृतिक प्रस्तुति एकेडेमीको वार्षिक कार्यक्रम श्रव्य दृश्यमार्फत जानकारी र विभिन्न जातिको झाँकी प्रदर्शन गरिनेछ । सोही दिन कला, साहित्य, संगीत र संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्ने प्रतिष्ठानले तयारी गरेको छ । पुस्तक प्रदर्शनी, लोपोन्मुख बाजा प्रदर्शन, पृथ्वीनारायण क्याम्पस विज्ञान संकायका विद्यार्थीले तयार गरेका सामग्रीको प्रर्दशन समेत प्रज्ञा उत्सवमा समावेश छन् ।

नयाँ पुस्तालाई मौलिक संस्कृतिका बारेमा जानकारी दिन तथा उनीहरुमा अभिरुचि प्रदान गर्न उत्सव आयोजना गरिएको सदस्य सचिव श्रेष्ठले बताए । गण्डकी प्रज्ञा प्रतिष्ठानले साहित्यका सबै विधालाई महत्वका साथ स्थान दिँदै यिनको संरक्षण तथा प्रवद्र्धन गर्न क्रियाशील बन्ने उपकुलपति गोरे गुरुङले बताए । आगामी वर्षदेखि वार्षिकोत्सवको अवसरमा यो कार्यक्रमलाई निरन्तरता दिने प्रतिष्ठानले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया