सम्पादकीय: ल्यान्डफिल साइटको विकल्प खोज्ने प्रयास

समाधान संवाददाता २०७९ जेठ २९ गते १२:१७

पोखरा महानगरपालिकाले वडा नम्बर १४ बाच्छिबुडुवामा सञ्चालित ल्यान्डफिलसाइटको वैकल्पिक व्यवस्था गर्न लागेको छ । स्थानीय तहको निर्वाचन २०७९मा निर्वाचित जनप्रतिनिधिले त्यसको समय अवधी सकिएको कारण पालिकाले अर्को वैकल्पिक व्यवस्था गर्न लागेको हो । पोखरा महानगरपालिकाको कार्यपालिकाको पहिलो बैठकले पोखरा ३३मा ल्यान्डफिल साइड सार्ने निर्णय समेत गरिसकेको छ ।

यस भन्दा अगाडीका जनप्रतिनिधिले वैकल्पिक व्यवस्था नहुँदासम्मको लागि पोखरा महानगरपालिकाले पोखरा १४का स्थानीय समुदायसँग म्याद थप्दै चलाउँदै गरेको छ । ल्यान्डफिलसाइट टुंगो लगाउनको लागि पोखरा ३३ भरतपोखरीमा सम्भाव्यता अध्ययन गर्ने सैद्धान्तिक सहमति भएतापनि काम अगाडी बढ्न सकेको थिएन । अहिलेको जनप्रतिनिधिले ल्यान्डफिल साइटको स्थानान्तरण गरी नयाँ बनाउन आवश्यक बजेट व्यवस्था गर्ने निर्णय गरेको विवरण सार्वजनिक भएको छ ।

अहिलेको ल्यान्डफिल साइट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको नजिकै रहेको र यसको विकल्प नखोजेसम्म उडान सुरु गर्न नसकिने अवस्थामा थियो । चिन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण समेत गरी सकेको छ । करिब २ किलोमिटरमा रहेको ल्यान्डफिलका कारण हवाई उडानमा पक्षीं तथा चराचुरुंगी आउने र विमानसँग ठोक्किने जोखिम हुने भएकोले ल्यान्डफिल साइट स्थानान्तरण गर्न लागिएको हो । विमानस्थल निर्माण आयोजनाले ल्यान्डफिल साइट सार्न पोखरा महानगरलाई ३ वर्षदेखि अनुरोध गर्दै आएको थियो ।

Advertisement

गत कात्तिक ५ गते भएको पोखरा महानगरपालिकाको ५२ औं कार्यपालिका बैठकले ल्यान्डफिल साइड सार्ने निर्णय समेत गरेको छ । बैठकले पोखरा २० मा रहेको पस्मराङ खोंचमा ल्यान्डफिल साइट सार्ने निर्णय स्थानीयको अवरोधपछि योजना पनि अघि बढ्न सकेको छैन । कार्यपालिकाको बैठकको निर्णयसँगै नगरपरिषद्बाट अनुमोदनका अलवा नीति तथा कार्यक्रम र बजेटको व्यवस्था गर्न बाँकी छ । सम्भाव्यता अध्ययन सैद्धान्तिक सहमति गरेपनि स्थानीयबासीसँगको राय परामर्शदेखि बजेट विकास निर्माणका प्राथमिकता दिने सवालमा महानगरको नेतृत्वले प्राथमिकता दिने प्रतिवद्धता गरी सकेको छैन । वडा कार्यालय तथा स्थानीय समुदायले समेत त्यसबारेको मागदाबी अगाडी सारी सकेको अवस्था छैन ।

ल्यान्डफिलसाइटको दीर्घकालिन रुपमा सञ्चालन व्यवस्थापनको लागि महानगरको ठोस कार्यक्रम सार्वजनिक भै सकेको छैन । पोखराको फोहोर मैलाको दीर्घकालिन रुपमा व्यवस्थापनको लागि ल्यान्डफिल साइट आवश्यक छ । निजी क्षेत्र, सामाजिक संघ संस्था लगायतका सरोकारवालासँगको समन्वयमा काम अगाडी बढाउनु पर्छ । वर्गिकरणको व्यवस्था गर्न सके फोहोर मैलालाई मुहानमानै व्यवस्थापन गर्न सकिन्छ । कुहिने फोहोरबाट प्राङगारिक मल बनाउन सकेमा नकुहिने थोरै फोहोरमैलाको व्यवस्थापन गर्न सहज हुन्छ । वैज्ञानिक रुपमा व्यवस्थापन गर्न सके फोहरलाई मोहरमा रुपान्तरण गर्न सकिन्छ । त्यसको लागि महानरको स्पष्ट दृष्टिकोण, योजना र कार्यक्रम आवश्यक पर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया