भोलिबाट ‘केस नम्बर ३११’ मञ्चन गरिने

समाधान संवाददाता २०७९ असार २ गते १२:५७

पोखरा ।
नाटक ‘केस नम्बर ३११’ मञ्चनको तयारी पूरा भएको छ । पोखरा थिएटरको प्रस्तुतिमा तयार भएको यो नाटक असार ३ गते शुक्रबारबाट पोखरा ४ गैह्रापाटनमा रहेको गन्धर्व नाटकघरमा मञ्चन गरिनेछ ।

असार ११ गतेसम्म मञ्चन हुने नाटकको लेखन तथा निर्देशन पोखरा थिएटरको ब्याच ४ र ब्याच ५ का प्रशिक्षार्थीले गरेका हुन् । सहजकर्ताका रुपमा पोखरा थिएटरका अध्यक्ष परिवर्तनले उनीहरुलाई सघाएका छन् । नाटक बुधबारबाहेक हरेक दिन साँझ सवा ५ बजे मञ्चन गरिनेछ । यसका अलावा शनिबार र आइतबार दिउँसो १ बजेसमेत नाटक हेर्न पाइनेछ । यो नाटकको परिकल्पना दिव्य अमृत, दिप्सना विश्वकर्मा र सुशील बरालले गरेका हुन् ।

पोखरा थिएटरले स्थापना कालदेखि विभिन्न प्रशिक्षण कार्यक्रम गर्दे आएको छ । हरेक वर्ष ब्याच कक्षाको नाममा ३ महिने अभिनय प्रशिक्षण कार्यक्रम यसले गर्छ । यो प्रशिक्षण पाँचौ ब्याचसम्म आइसकेको छ । यी प्रशिक्षण कार्यक्रममा सहभागी बनेका धेरै जना नेपाली रंगमञ्चमा क्रियाशील छन् । अहिलेको नाटकमा न्यायाधीशको भूमिकामा झलक थापा, इजलास अधिकृतको भूमिकामा सुशील बराल र मनिषा केसी, सरकारी वकिलको भूमिकामा अदित भुजेल र निजी वकिलको भूमिकामा एलिसा भोग छन् ।

Advertisement

नाटकमा गोपाल भुषाल, अनामिका रिजाल, प्रतीक राउत, प्रतिभा रिमाल, पाल्मती थापा, कमल तामाङ, दिप्सना विश्वकर्मा, सुरज तिवारी र दिव्य अमृतको समेत अभिनय छ । नाटकलाई ड्रामाटर्जी गर्न लेखक दीपक पराजुलीले सघाएका छन् । हिंसाले पीडितमा पार्न सक्ने मानसिक असरलाई चित्रण गर्ने अभिप्रायले समसामयिक विषयमा नाटक तयार पार्न खोजेको निर्देशकत्रयको भनाइ छ । नाटक हेरिसकेपछि महिला हिंसा र मनोविज्ञानका सम्बन्धमा नयाँ अवधारणा बन्ने उनीहरुको आशा छ । पोखरा थिएटरमा पहिलो पटक इम्प्रोभाइजेस्नल विधिबाट नाटक तयार पारिएको उनीहरुको दावी छ ।

३ महिना लामो अभिनय प्रशिक्षणपश्चात् नाटक तयार हुन लागेको तथा नाटकले गम्भीर मानसिक स्वास्थ्यको विषयलाई उठान गरेको कारण दर्शकको माया पाउने सहजकर्ता एवं पोखरा थिएटरका अध्यक्ष परिवर्तनको भनाइ छ । ‘नाटकमा महिलामाथि हुने घटना र घटनाले पार्ने मानसिक असरलाई नयाँ तरिकाले प्रस्तुत गर्ने कोशिस गरेका छौं । यो नाटकले मूलतः डिसोसियटिभ आइडेन्टीटी डिसअर्डरको खोजी गर्न प्रेरित गरेको छ,’ उनले भने ।

Advertisement

पोखरा थिएटरको प्रस्तुतिमा साउन दोस्रो सातादेखि कक्षा ९ को पाठ्यक्रममा समावेश ‘भविष्य निर्माण’ कथामा आधारित नाटक मञ्चन गर्ने तय भएको छ ।

तपाईको प्रतिक्रिया