मनाङ जिसस प्रमुखमा एमालेका घले

समाधान संवाददाता २०७९ असार ५ गते १५:३०

चामे ।
मनाङ जिल्लाको जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा एमालेका चिन घले निर्वाचित भएका छन् । यसैगरी जिल्ला समन्वय समितिको उप–प्रमुखमा कांग्रेसका सुरेन्द्र गुरुङ निर्वाचित भएका छन् ।

निर्वाचित प्रमुख चिन घले चामे गाउँपालिका वडा नम्बर १, तिमाङको वडा सदस्य हुन् । घले समाजिक व्यक्तित्व हुन् । उनी चामे गाउँपालिका वार्ड १ मा रहेको गौरीशंकर आधारभूत विध्यालयको अध्यक्षका रुपमा निकै राम्रो काम गरेर परिचित भएका थिए । उनी हाल नेकपा एमाले मनाङका उपाध्यक्ष तथा सांसद पोल्देन छोपङ गुरुङका ‘निजी सचिवालय’ सदस्य हुन् । घले जिल्ला खेलकुद विकास समिति मनाङका अध्यक्ष पनि हुन् ।

जिल्ला समान्वय समिति मनाङमा गोलाप्रथाबाट प्रमुख र उप–प्रमुख छानिएको थियो । एमालेले प्रमुख र ३ जना सदस्य पाएको छ भने कांग्रेस–माओवादीले उप–प्रमुख र ४ जना सदस्य पाएका छन् । खुला सदस्यमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका मीनराज गुरुङ, कांग्रेसका सुकमाया विक, एमालेका झलकबहादुर गुरुङ निर्वाचित भएका छन् । महिला सदस्यमा एमालेका लक्ष्मी गुरुङ, एमालेका सुस्मिता सिन्चौरी र कांग्रेसका राधा बराल विश्वकर्मा निर्वाचित भएका छन् । अल्पसंख्यकमा नेपाली कांग्रेसका ग्याम्जो घले निर्वाचित भएका छन् ।

Advertisement

सबैभन्दा कम जनसंख्या भएको हिमाली जिल्ला मनाङमा २०७९ वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र कांग्रेस सहितको सत्ता गठबन्धनले आफ्ना उम्मेदवारहरु खडा गरेका थिए । मनाङमा ४ गाउँपालिका छन् । २०७९ मा चारमध्ये २ पालिकामा एमाले र बाँकी २ पालिकामा कांग्रेसका उम्मेदवारहरु अध्यक्षमा निर्वाचित भएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा चामे र मनाङ ङिस्याङमा एमालेले जितेको थियो । नासोंको अध्यक्ष कांग्रेसले जितेको थियो । नार्पाभूमिमा स्वतन्त्र निर्वाचित अध्यक्ष पछी कांग्रेस प्रवेश गरेका थिए ।

सदरमुकाम समेत रहेको चामे गाउँपालिकामा २०७९ को निर्वाचनका लागी चामे गाउँपालिकामा महिला ३६८, पुरुष ३४३ जना गरी ७११ जना मतदाता छन् । एमालेका लोकेन्द्रबहादुर घले ३ सय २० मत सहित विजयी भएका छन् । प्रतिस्पर्धी कांग्रेसका छिरिङध्वर्जे लामाले २ सय ७९ मत ल्याएका छन् । २०७४ मा नेकपा एमालेबाट अध्यक्षमा लोकेन्द्रबहादुर घले २१४ मत सहित निर्वाचित भएका थिए । नेपाली कांग्रेसकी अनिता लामा दोस्रो भएकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया