सम्पादकीय: विपद्को पूर्व तयारी अपनाऊ

समाधान संवाददाता २०७९ असार ६ गते १३:३१

नेपालमा मनसुन प्रवेश गर्नु अगाडी नै विपद्जन्य ६ सय ४५ घटना भएका छन् । ति घटनामा ६० जनाको मृत्यु समेत भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशभर गत वैशाख र जेठ महिनाको दुई महिनाको अवधीमा सबैभन्दा बढी चट्याङका कारण २६ जनाको ज्यान गएको छ । सो अवधीमा आगलागीबाट मृत्यु हुनेको संख्या १४, जनावर आतंकबाट ८, हावाहुरीबाट ७, पहिरोबाट ३ र सर्पदंशबाट २ जनाको मृत्यु भएको छ । ती घटनामा १ सय ४८ जना घाइते भएका छन् भने एक जना वेपत्ता छन् ।

ती सबै घटनामा ८ सय ३० परिवार प्रभावित भएका छन् भने करिव ४९ करोड रूपैयाँको क्षति भएको छ । २ सय २८ वटा भौतिक संरचनामा क्षति पुगेको छ । नेपालमा गत जुन ५ मा नै मनसुन भित्रिएको छ । जल तथा मौषम विभागले गरेको आकलनअनुसार देशका कतिपय भागमा सरदरभन्दा बढी वर्षा हुने देखिएको छ । कुल जनसंख्याको करिब ७ प्रतिशत र कुल घरधुरीको ८ प्रतिशत हिस्सा यस वर्ष मनसुनजन्य विपद्को जोखिममा पर्ने प्रक्षेपण गरिको छ । सरकारले यस वर्षको मनसुन कार्ययोजना स्वीकृत गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि मनसुन प्रतिकार्य कमाण्ड टोली गठन गरेको छ ।

पोखरा आसपासको क्षेत्रमा ताल तथा नदि नालाहरुमा आउन सक्ने बाढीमा उद्धारको लागि प्रयोगात्मक अभ्यास समेत गरिएको छ । पोखराको फेवातालमा सशस्त्र प्रहरी बलले गोताखोर तालिम गरिसकेको छ । भने जिल्ला सुरक्षा समिति कास्कीले सेती नदीको दोबिल्ला खण्डमा बर्खा याममा आउन सक्ने बाढीलाई लक्षित गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहभागितामा प्रयोगात्मक अभ्यास गराएको छ । यसअघि मनसुन जन्य विपद्का घटनामा उद्धारलाई प्रभावकारी बनाउन नेपाल प्रहरी सशस्त्र प्रहरी गण मुख्यालय पोखरा र गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङमा एकसाथ खोचमा खसेर घाइते भएकाको उद्धार तथा उद्धारपछि प्राथमिक उपचारसम्बन्धी तालिम भएको थियो ।

Advertisement

सरकारी निकायबाट तयार पारिएका योजना पनि विपद्पछिको खोज-उद्धार र राहत केन्द्रीत छ । जोखिममा परेका नागरिकलाई विपद् अगावै सुरक्षित स्थानमा स्थानान्तरण गर्नेतर्फ सरकारले ठोस खाका अहिलेसम्म बनाएको छैन । पहिरो वा बाढी गएमा उद्धार र राहतका लागि बजेट छ तर त्यो पहिरो वा बाढी जानै नदिनका लागि काम गर्न बजेट नै छैन । व्यक्तिगत तथा प्राईभेट कम्पनीहरुसँग हेलिकप्टर भईसक्दा समेत राष्ट्रको सुरक्षा फौज एवं रेस्क्यु अप्रेसनको पर्याय सशस्त्र प्रहरी बल तथा प्रहरीको बिपद व्यवस्थापन-रेस्क्यु टिमसँग रेस्क्यु हेलिकप्टर छैन । विपद् तथा मनसुन जन्य प्रकोपलाई रोक्न सकिन्न ।

पूर्व तयारी अपनाएर जोखिम कम गर्न सकिन्छ । तर ती सबै विपद व्यवस्थापनका लागि स्रोत साधनको अभाव भएकोले तीनतहको सरकारले बजेटमा व्यवस्थापन ध्यान दिनु आवश्यक छ ।

Advertisement

तपाईको प्रतिक्रिया