‘दलबाहिरबाट डेलिभरी कठिन’: आरजू राणा

समाधान संवाददाता २०७९ असार ७ गते १०:५९

पोखरा ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले दलीय प्रणालीभन्दा बाहिरबाट जनताको सेवा गर्न कठिन हुने बताएकी छन् । उनले स्वतन्त्रबाट लडेर चुनाव जितेकाहरुको काम हेर्न बाँकी रहेको पनि जनाइन् । नेपाल तरुण दल कास्कीले सोमबार पोखरामा विपत् व्यवस्थापन नागरिक सेवामा तरुण दलको भूमिका एवं निर्वाचित जनप्रतिनिधिलाई बधाई कार्यक्रममा उनले जनताको मन जित्ने गरी काम गर्न जनप्रतिनिधिलाई सुझाव दिइन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजुले स्थानीय तहको निर्वाचनमा काठमाडौंको मेयरमा बालेन शाहले चुनाव जितेपछि स्वतन्त्र उम्मेदवार बन्नेहरुको लहरै चलेको उल्लेख गरिन् । उनले भनिन्, ‘अहिले जति पनि स्वतन्त्रले जितेका छन् नि, उनीहरू एउटा एउटा गुण पहिचान गरी नेता बनेका हुन् । म ओपन्ली त भन्न चाहन्नँ तर सोसल मिडिया रूटिङ अफ नेपाल बन्द बालेनले कतिमा हायर गर्नुभयो ?’

हुन त राम्रो हो । रमाइलै हुन्छ । विभिन्न विचार बोकेका मानिस राजनीतिमा आउँदा । तर उनीहरुको काम कस्तो हुन्छ हेर्न बाँकी छ ।

Advertisement

विभिन्न पेसासँगै पत्रकारितासमेत छोडेर राजनीति गर्न आएका छन् भन्दै उनले थपिन्, ‘हुन त राम्रो हो । रमाइलै हुन्छ । विभिन्न विचार बोकेका मानिस राजनीतिमा आउँदा । तर उनीहरुको काम कस्तो हुन्छ हेर्न बाँकी छ ।’ स्थानीय तहमा बसेर काम गर्न झन् गाह्रो रहेको भन्दै उनले आफूलाई सुशासनबारे चिन्ता लागेको बताइन् ।

गएको निर्वाचनमा उम्मेदवारी दोहोर्‍याएका सबै दलका जनप्रतिनिधि सोचेअनुरुप निर्वाचित हुन नसक्नुमा नेतृ देउवाले यसबारेमा काम, क्षमता र लोकप्रियता जनताले मापन गरेको टिप्पणी गरिन् । उनले प्रधानमन्त्री हुन सजिलो भए पनि काम गर्न गाह्रो भएको दाबी गरिन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा मुलुकका ५ पटक प्रधानमन्त्री भएको तर जनचाहना अनुसार काम गर्न गाह्रो भएको बताइन् ।

Advertisement

‘पद पाउन सजिलो छ तर त्यहाँ बसेर काम गर्न, जनतालाई भने अनुसार काम गर्न गाह्रो छ,’ उनले भनिन्, ‘गठबन्धनको सरकार हो । सबैका चाहना, सबैका विचार हुन्छन् । त्यसलाई मिलाएर लैजाने चुनौती छ ।’ प्रधानमन्त्री देउवालाई उठेदेखि सुत्नेबेलासम्म फुर्सद नहुने गरेको आफूले नजिकबाट देखेको उल्लेख गर्दै उनले भनिन्, ‘उठेदेखि सुतेसम्म त्यो घोडालाई दौडाएजस्तै दौडाएको छ, दौडाएको छ । मिटिङ, सेमिनार, राजदूत, मन्त्री, को को हो के हो ।’

कार्यक्रममा तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले पार्टीले दिएको निर्देशन तरुणहरुले पालना गरेको दाबी गरे । समारोहमा कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगाना, गण्डकी प्रदेशका शिक्षा संस्कृति तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री कुमार खड्का, सञ्चारमन्त्री बिन्दुकुमार थापा, कांग्रेस कास्की सभापति किशोरदत्त बराल, तरुण दलका पूर्व केन्द्रीय सदस्य ऋषि काफ्ले, तरुण दलका जिल्ला अध्यक्ष मनोज गुरुङ लगायतले आगामी चुनावमा कांग्रेसलाई पहिलो दल बनाउन लागिपर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया