मध्य राति घर छाडेर सडकमा

समाधान संवाददाता २०७९ असार १२ गते १२:१२

अभिषेका अधिकारी । पोखरा
आठ वर्ष विदेशमा मेहनत गरी कमाएको पैसामा थपथाप गरी सूर्य खड्काले घर बनाए । अघिल्लो सालमात्र बनेको घर यसैपालि क्षतिग्रस्त भयो । अविरल वर्षाले पोखरा २५ हेमजा, सुइखेतमा रहेको खड्काको घरमा क्षति गरेको हो ।
उनी गएको सालमात्र म्याग्दीबाट बसाइसराइ गरी सुइखेत आएका हुन् । नयाँ घर छाडेर मध्य राति उनको सडकको बास भयो । शुक्रबारबाट भएको भारी वर्षाका कारण उनी राति ९ बजे घर छाड्न बाध्य भए । घरपछाडि रहेको खोल्सो उर्लियो । घरमा ढुंगा, लेदो र पानी पस्यो । उनी ६ वर्षीय छोरा, वृद्ध आमाबुवा र पत्नीसँगै सडकमा निस्के ।
शुक्रबारको वर्षाले सूर्य जस्तै धेरैको घरमा क्षति गरेको छ । सूर्यको घरका ओढ्ने, ओच्छ्याउने बगेका छन् । घरका सबैजसो कोठमा लेदो र पानी पसेको छ । घरको गेट नै पहिरोले पुरेको छ । वर्षाैको कमाइबाट बनेको घर खण्डहर हुँदा सूर्य मर्माहत भएका छन् ।
सुइखेतमा यस्तो पानी र पहिरो यसअघि नदेखेको स्थानीयहरु बताउँछन् । ६० वर्षीया तेजकुमारीले आफूले यस्तो विपत्ति नदेखेको सुनाइन् । उनी भन्छिन्, ‘म १३ वर्षकी हुँदा विहे गरेर यस ठाउँमा आ’की हुँ । मैले कहिल्यै यहाँ यस्तो पहिरो देखिनँ ।’
सूर्यको छेवैमा रहेको अर्काे घरमा पनि पहिरोले क्षति गरेको छ । उनको घरपारी रहेको अर्काे एक घरमा समेत क्षति भएको छ । सुइखेतमा रहेका करिब २ सय घर सुइखेत खोलाको बाँध भत्किदा डुबानमा परेका छन् ।
शनिबार बिहान ८ बजेसम्म सुईखेतका सबैजसो घर डुबानमा थिए । धेरैजसो घरका भूईतलामा पानी पसेको छ । दिउँसोबाट पानीको बहाव केही घटे पनि जोखिम उस्तै छ ।
मध्यान्ह ४ बजे स्थानीय सुईखेत खोलाको बाँध बनाउने प्रयास गरेका छन् । स्थानीय दीपकराज अधिकारीले मुलपानी टोल विकास संस्थासँग जाली पैचो मागेर बाँध बाध्न थालिएको बताए ।
गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)ले घटनास्थल स्थलगत अनुगमन गरे । शनिबार बिहान सशस्त्र प्रहरीको टोलीले स्थानीयलाई उद्धारमा सघाएको थियो । त्यहाँका ३ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
वर्षाका कारण पोखराका अरु वडामा पनि क्षति पुगेको छ । पोखरा वडा नं १६ सालघारी, देउराली बस्ने ५१ वर्षीया रामबहादुर मगरको १ तले कच्ची घर बढीले बगाएको छ । पोखरा २३ हर्पनका नरबहादुर क्षेत्रीको भैँसीगोठमा चटयाङ पर्दा १ भैंसी मरेको छ । खहरेटारीका सुरेमबहादुर गुरुङका ९ वटा बाख्रा बाढीले बगाएको छ ।
सुईखेत खोलामा बाढी आएसँगै सडक आवागमनमा अवरोध भएको थियो । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ५ सितल गुफानजिक पोखरा वागलुङ सडक खण्डमा माथिबाट आएको पहिरोले केही समय समय अवरुद्ध यो । शनिबारै त्यहाँ एकतर्फी बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

तपाईको प्रतिक्रिया