गण्डकीका पूर्व मुख्यन्यायाधिवक्ता घिमिरेले स्थापना गरे १ लाखको अक्षयकोष

समाधान संवाददाता २०७९ असार १४ गते १०:१६

पोखरा ।
गण्डकी प्रदेशका निवर्तवान मुख्यन्यायाधिवक्ता डा. राजेन्द्र घिमिरेले आफ्ना आमाबुवाको नाममा अक्षयकोष स्थापना गरेका छन् । लमजुङको दोर्दी गाउँपालिकाको लक्ष्मी माध्यमिक विद्यालयमा घिमिरेले अक्षयकोष स्थापना गरेका हुन् ।


डा.राजेन्द्र घिमिरे र धर्मपत्नी अर्चना खनालले स्वर्गीय बुवा पदमप्रसाद घिमिरे र आमा मालिकादेवी घिमिरेको नाममा पदमप्रसाद मालिकादेवी शिक्षा पुरस्कारको अक्षय कोष स्थापना गरेका हुन् ।


अक्षयकोषको रकम व्यवस्थित गर्न दोर्दी गाउँपालिका वडा नम्बर ४ नौथरमा रहेको ग्लोबल आइएमई बैंकको शाखामा खाता खोलिएको विद्यालयका प्रधानाध्यापक सुदीप आलेमगरले जानकारी दिए । बैंक खातामा अक्षयकोषदाता राजेन्द्र घिमिरे र विद्यालयका प्रधानाध्यापकको संयुक्त हस्ताक्षरमा सञ्चालन हुनेछ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशाली घिमिरेको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार पुरस्कार राशिको ब्याज रकमबाट ८० प्रतिशत रकम विद्यार्थीलाई पुरस्कार दिने र २० प्रतिशत रकम पुरस्कार राशिमा थप गर्ने गरी निर्णय गरिएको छ ।

Advertisement


पुरस्कार विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार छात्रछात्राहरुलाई वितरण गरिनेछ । विद्यालयको हरेक वर्ष हुने वार्षिकोत्सव समारोहमा पुरस्कार वितरण गर्ने गरी समझदारी भएको छ । पुरस्कार बैंकको ब्याज आउने रकमबाट नगद नै विद्यार्थीलाई हस्तान्तरण गरिनेछ । एक कार्यक्रमबिच अक्षयकोष दाता राजेन्द्र घिमिरे र विद्यालय व्यवस्थापना समितिबिच यस्तो सहमति भएको हो ।


यस्ता पुरस्कारले ग्रामीण भेगमा अध्ययनरत विद्यार्थीलाई पढाइका लागि हौसला मिल्ने अपेक्षा लिएको घिमिरेले बताए । विद्यालय बिचैमा छोड्ने समस्याबाट यस्ता पुरस्कारले बालबालिकालाई प्रोत्साहान हुनेछन् र कक्षा छोड्ने समस्या कम भई पढाइमा उत्साहित हुनेछन् । डा. घिमिरे गण्डकी प्रदेश सरकारका पहिलो मुख्यन्यायाधिवक्ता हुन् । डा. घिमिरेले विद्यालय शिक्षा त्यही विद्यालयबाट लिएका थिए । २०१३ सालमा स्थापना भएको लक्ष्मी माध्यमिक विद्यालय २०६८ सालमा उत्कृष्ट सामुदायिक विद्यालय भई शिक्षा मन्त्रालयबाट पुरस्कृत भएको थियो । कक्षा १ देखि कक्षा १० सम्म पढाइ हुने यो विद्यालयमा हाल १५० बालबालिका अध्ययनरत छन् ।

Advertisement

तपाईको प्रतिक्रिया