पोखरामा मिर्गाैला प्रत्यारोपण गरिएकी बिरामी डिस्चार्ज

समाधान संवाददाता २०७९ असार १६ गते १०:२१

पोखरा ।
पश्चिमाञ्चल अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएकी महिला डिस्चार्ज भएकी छन् । ९ असारमा उनको मिर्गाैला प्रत्यारोपण भएको थियो । प्रत्यारोपणपछि एक साता अस्पतालको आइसियुमा औषधोपचार गरी उनलाई अस्पतालले बुधबार घर पठाएको हो ।

मिर्गाैला प्रत्यारोपणमा संलग्न विशेषज्ञ चिकित्सकमध्येका एक प्रकाश क्षेत्रीका अनुसार अब ती बिरामी घरमै बसेर औषधि खाए पुग्ने भएकाले घर पठाइएको हो । ‘मिर्गाैलादातालाई तेस्रो दिनमै घर पठाएका थियौं,’ उनले भने, ‘बिरामी पनि अब घरमै आराम गर्दै औषधि खाइरहे हुने भएकाले घर पठायौं ।’ मिर्गाैला प्रत्यारोपण गरिएका बिरामीले जीवनभरि नै औषधि सेवन गर्नुपर्छ ।

कास्कीकै ५० वर्षीया महिलालाई उनका ५१ वर्षे श्रीमान्ले मिर्गाैला दान गरेका हुन् । गण्डकी प्रदेशमै पहिलोपटक क्षेत्रीय अस्पतालमा ती महिलामा मिर्गाैला प्रत्यारोपण सफल भएको हो । पहिलोपटक क्षेत्रीय अस्पतालमा मिर्गाैला प्रत्यारोपणका लागि भक्तपुरस्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका विशेषज्ञले सघाएका थिए । उक्त केन्द्रका डा पुकारचन्द्र श्रेष्ठको टिम र पोखराका डा प्रकाश क्षेत्री डा अनुप चापागाई डा माया लामा डा जुजु श्रेष्ठ डा अमृत केसीको मेडिकल टिमले सफल मिर्गौला प्रत्यारोपण गरेको थियो ।

Advertisement

अब क्षेत्रीय अस्पतालले प्रत्येक महिनामा २ जना बिरामीमा मिर्गाैला प्रत्यारोपण गर्ने योजना बनाएको छ । त्यसका लागि भक्तपुरस्थित केन्द्रका विशेषज्ञ पोखरा आउनेछन् । प्रत्यारोपणका लागि केही जनशक्ति क्षेत्रीय अस्पतालमा छन् भने केही तालिम लिँदैछन् । अबको १ वर्षपछि भने क्षेत्रीय अस्पताल मिर्गाैला प्रत्यारोपणका जनशक्तिका लागि आत्मनिर्भर हुनेछ ।
क्षेत्रीय अस्पतालमा नवनिर्मित भवनको अप्रेसन थियटरमै मिर्गाैला प्रत्यारोपण गरिएको थियो । आगामी दिनमा पनि सोही थियटर प्रयोगमा आउने छ ।

मिर्गौला प्रत्यारोपण गर्नुअघि अंग प्रत्यारोपण स्वीकृति समितिले नाता प्रमाणितलगायत र अंग दान गर्न सक्ने स्वीकृति प्रदान गरेको छ । मिर्गौला प्रत्यारोपणका लागि यस्तो समिति क्षेत्रीय अस्पतालमा बनिसकेको छ । नेपालमा मिर्गौला दान परिवारका सदस्यलेमात्रै गर्न सक्ने कानुनी व्यवस्था छ । गण्डकी प्रदेशभरि सयौं बिरामीको मिर्गौला फेल भई क्षेत्रीय लगायत अस्पतालमा डायलाइसिस गराइरहेका छन् । तिनीहरुको दीर्घकालीन उपचार भनेको मिर्गौला प्रत्यारोपण हो ।

Advertisement

कास्कीको अन्नपूर्ण गाउँपालिका ७ लान्द्रुककी यामकुमारी पौडेलको मिर्गाैला प्रत्यारोपण क्षेत्रीय अस्पतालमा भएको हो । उनका श्रीमान् केशव पौडेलले मिर्गाैला दान गरेका थिए । केशवले अहिले घरमा आराम गरिरहेको जानकारी दिए । ‘अब घरै आराम गरेर औषधी खाने हो, अरु ठिकै छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया