महिला उद्यमी संघकाे सिताके च्याउ उत्पादन तालिम

समाधान संवाददाता २०७९ असार २० गते १८:४२

पोखरा ।
महिला उद्यमी संघ र हिमाली पवित्र आमा समुहको संयुक्त आयोजनामा सिताके च्याउ तथा कुरिलो व्यवसायिक खेती तालिम सम्पन्न भएको छ । पोखरा महानगर वडा नम्बर १७ को सहयोगमा पोखरा १७ ड्यामसाइडमा ३ दिने तालिम सम्पन्न भएको हो । कार्यक्रमको सभापतिमा आमा समूहकी अध्यक्ष सावित्री अर्याल थिइन् ।

च्याउ तथा कुरिलो घरको सानो खाली स्थानमा उत्पादन गर्न सकिने हुँदा शहरमा बसेर पनि आर्गनिक, ताजा तरकारि खान पाइने कार्यक्रमकी प्रमुख अतिथि पोखरा १७ की वडाध्यक्ष राधिकाकुमारी शाहीको भनाइ थियो । संघकी अध्यक्ष पार्वती पौडेलले तालिम प्राप्त गरेर मात्र उद्यम गर्दा उद्यमशीलताको विकास गर्न सकिने बताइन् । च्याउ तथा कुरिलो व्यवसायमा आउन चाहनेलाई तालिमले सहयोग पुर्‍याउने उनले बताइन् ।

तालिममा पोखरा १७ का आमा समूह, युवा क्लब, महिला क्लब, टोल विकास संस्थाका लगभग १०० जना प्रतिनिधिहरुको सहभागी थियो । सैद्धान्तिक र प्रयोगात्मक विधिबाट प्रदान गरिएको तालिम प्रभावकारी भएको सहभागीले भनेका थिए । सहभागीलाई काठको मुढा, च्याउको बिउ, कुरिलो र कागतीको बेर्ना वितरण गरिएको थियो ।

Advertisement

सिताके च्याउ व्यवसायी पदमबहादुर ढकालको च्याउ फर्म पनि अवलोकन गरिएको थियो । पोखरा महानगर कृषि महाशाखाका प्राविधिक सुरोज सिलुवाल र शिवसिंह धामीले प्रशिक्षण दिएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया