‘फेवाको सिमसार क्षेत्रमा प्लटिङ रोकौं’

समाधान संवाददाता २०७९ असार २१ गते ११:४०
File photo

पोखरा ।
राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले फेवा तालको सिमसारमा गरिरहेको प्लटिङ रोक्न सरकारसँग माग गरेका छन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा देवकोटाले फेवा तालको सिमसार क्षेत्रमा जथाभावी प्लटिङ गरेको पाइएको यसलाई रोक्न सरकारसँग माग गरेका हुन् ।

‘पहिले ताल हिडेको कयौँ स्थानमा अहिले कंक्रिटका घर बनेका छन्,’ उनले भने, ‘तालको पानीको स्रोत सिमसार क्षेत्रमा धमाधम प्लटिङ हुँदा पनि सरकार, प्रदेश सरकार र पोखरा महानगर मुखदर्शक बनेका छन् ।’ देवकोटाले फेवा तालमात्र नभई देशैभरी जग्गा प्लटिङमा सहरी विकासको भूमिका रहेको भन्दै ध्यानाकर्षण गराए । ‘रगत पसिनाले कमाएको कसैको जग्गा तालको सिमाना परेको प्रमाणित छ भने राज्यले क्षतिपूर्ति दिएर ताललाई जोगाउनु पर्दैन ? तालको गरिमा र इतिहास जोगाउँदै यसलाई फैलिन दिने हो कि खुम्चाउनमा सहयोग गर्ने हो ? यो मेरोमात्र होइन आम नेपालीको प्रश्न हो,’ उनले भने ।

प्लटिङले तालको सुन्दरतालाई अपमानित गरेको देवकोटाले बताए । उनले तालवरिपरि प्लटिङका डोजर, ढुंगा, गिट्टी, बालुवाका ट्रिपर चलेको र सरकारी जग्गा बेचबिखन भइरहेको औंल्याए । ‘फेवा तालको गरिमा बचाउन सरकारी संयन्त्र संवेदनशील भएनन् । यसको अस्मितामाथि नै चारैतिरबाट लुट भईरहदा टुलुटुलु हेरेर बसे । अध्यक्षज्यू, सरकारलाई रुलिङ गरिओस्, ध्यानाकर्षण गराइयोस्, सरकारवाला मन्त्रीलाई रोस्टममा उभ्याइयोस् । फेवा ताल संरक्षणमा सरकारको धारणा मागियोस्,’ उनले भने ।

Advertisement

ताल संरक्षणमा प्रमुख जिम्मेवारी निर्वाह गर्नुपर्ने पोखरा महानगरले यसको अस्मितामाथि नै खेलवाड गरेको देवकोटाले आरोप लगाए ।

Advertisement

तपाईको प्रतिक्रिया