सम्पादकीय: दुष्चक्रमा अर्थतन्त्र

समाधान संवाददाता २०७९ असार २१ गते १२:२६

यही अवस्थामा रहिरहेमा नेपालमा पेट्रोलियम पदार्थ आपूर्तिमा गडबढ हुने देखिएको छ । नेपालको वैदेशिक मुद्रा सञ्चिति निरन्तर ओरालो लाग्दै छ । डलरको भाउ महंगो हुँदै जाँदा नेपाली मुद्रा कमजोर बन्दै गएको छ । खाद्यान्नदेखि सबैजसो पदार्थ आयात गर्नुपर्ने नेपाल जस्ता देशमा विदेशी मुद्रा सञ्चिति निकै कम हुनु खतराको संकेत हो । कतिपयले देश श्रीलंका जस्तै आर्थिक रुपमा टाट पल्टिन सक्ने आकलनसमेत गरेका छन् ।

नेपाल आयल निगमले अहिले पेट्रोलियम पदार्थ खरिद गर्ने भारतीय आयल कर्पोरेसनलाई ३० अर्ब रुपैयाँ तिर्न बाँकी छ । भुक्तानी बक्यौता धेरै भएपछि भारतले पेट्रोलियम पदार्थको निकासी नै रोक्ने संकेत दिएको उच्च स्रोत बताउँछ । सस्तैमा किनेर उच्च कर लगाएपछि फेरि सस्तैमा बेच्नुपर्ने वाध्यतामा छ निगम । यही दुष्चक्रले निगमको मासिक १० अर्ब हाराहारी छ । हवाई यात्रा महंगो र सिमिति हुनु, रेल नहुनु र भूपरिवेष्ठित हुनुले नेपालमा सडक यात्राको विकल्प छैन ।

देशको अर्थतन्त्र अहिले संकटमा छ । खासगरी कोरोनाको समयमा आन्तरिक उत्पादनमा कमी हुँदै गयो भने देश बाह्य वस्तु तथा सेवामा आश्रित बन्दै गयो । वस्तु आयात बढ्दै जाँदा देशबाट बाहिरिने पैसा बढ्दै गयो । नेपालको विदेशी मुद्रा आर्जन गर्ने क्षेत्र असाध्य सीमित बन्दै गएको छ । नेपाली बाहिर काम गर्न गएर पठाएको रकम अर्थात् विप्रेषण नै विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत हुँदै आएकोमा त्यो स्रोतसमेत उत्साहजनक छैन । गत साउनयता वैशाख मसान्तसम्म सरकारको चालु खाता ५ खर्ब ४७ अर्ब ३६ करोड रुपियाँले घाटामा छ ।

Advertisement

देशमा वैदेशिक लगानी १८.२ प्रतिशतले मात्र वृद्धि भई १६ अर्ब ६५ करोड रुपियाँ पुगेको छ । विदेशी लगानी विदेशी मुद्रामै आउने हुँदा यसले विदेशी मुद्रा सञ्चिति थप्छ । विदेशी लगानीमा सुधारको दिशा भए पनि आकार सानो हुँदा उल्लेख्य योगदान दिने अवस्थामा यसबाट देखिएको छैन । नेपाली अर्थतन्त्रको सबैभन्दा ठूलो समस्याको जड उच्च व्यापार घाटा हो । चालु आर्थिक वर्षको १० महिनामा देशले १६ खर्ब चार अर्ब ६५ करोड रुपियाँको आयात गरेको छ ।

गत आर्थिक वर्षको १० महिनाभन्दा आयात २८ प्रतिशतले बढेको देखिन्छ । निर्यात भने निकै गुणा कम छ । १० महिनामा निर्यात १ खर्ब ७३ अर्ब ३५ करोड रुपियाँ छ । अहिले नयाँ बजेटमाथि संसदमा छलफल जारी छ । बजेटले राष्ट्रिय उत्पादन बढाउन प्रोत्साहन गर्नुपर्छ । यसले एकातिर देशलाई आत्मनिर्भर बनाउन योगदान दिन्छ भने आयात घटाउन पनि सघाउँछ । ढिलोचाँडो हामी आत्मनिर्भर बन्नुको विकल्प छैन ।

Advertisement

तपाईको प्रतिक्रिया