योगेन्द्र बस्नेतको मृत्यु डाक्टरको लापरबाहीले भएको दाबी

छोरा समीरले गरे मेडिकल काउन्सिलमा उजुरी

अभिषेक अधिकारी २०७९ साउन ५ गते ११:०५

अभिषेक अधिकारी ।
पोखरा ।
पोखरा १० का ७५ वर्षीय योगेन्द्रबहादुर बस्नेत सामान्य स्वास्थ्य जाँचका लगि जेठ १७ गते ललितपुरको नख्खु स्थित नेपाल मेडिसिटी हस्पिटल पुगे । हस्पिटल पुग्ने बित्तिकै डाक्टर सुनील शर्मासँग परामर्शमा पुगेका बस्नेतलाई पित्तथैलीको अप्रेसन गर्नुपर्ने सुझाव दिइयो । बस्नेत उच्च रक्तचापका साथै कोलेस्ट्रोलको बिरामी थिए । जेठ २२ मा ‘ल्याप्रोस्कोपी’ विधिद्वारा अप्रेसन गरियो । तर उनी निको भएनन् । ज्यानै गुमाए ।

अस्पतालै पुगेर बिरामी जाँच नगरी सामान्य अवस्थामा रहेको भनेर डाक्टरले लापरबाही गरेको आरोप


जेठ २४ मा अस्पतालको भेन्टिलेटरमा बस्नेतले अन्तिम सास फेरेका थिए । पित्तथैलीको अप्रेसन गर्दा निको हुनुको साटो मृत्यु भएपछि योगेन्द्रका छोरा समीरबहादुर बस्नेतले मेडिकल काउन्सिलमा उजुरी गरेका छन् । आफ्ना बुवाको मृत्युको कारण डाक्टरको लापरबाही रहेको उनको भनाइ छ । तर समीरले मेडिकल काउन्सिलसँग छानबिनको माग गर्दा पनि चित्तबुझ्दो जवाफ नपाएको बुधबार पोखराका पत्रकारहरुलाई बताएका छन् । मेडिसिटी अस्पतालले उपचारमा संलग्न केही कर्मचारीलाई निलम्बन गरिएको भने पनि कसलाई निलम्बन गरिएको हो खुलाएको छैन । त्यसैले कुनै डाक्टरलाई पनि कारबाही नभएको समीर बताउँछन् ।

Advertisement

‘मेडिकल काउन्सिलमा बुझ्न जाँदा डाक्टरको छानबिन डाक्टरले नै गर्नुपर्ने भएकाले छानबिन समितिमा डाक्टर नै बस्न नखोज्ने रजिस्ट्रार कृष्णप्रसाद अधिकारीले भन्नुभयो,’ समीरले भने, ‘पीडित पक्षले ढोका ढक्ढकाउँदा ढक्ढकाउँदै केसै छोड्नेखालको वातावरण देखिन्छ ।’ शव अस्पतालबाट बुझ्नेबित्तिकै प्रहरीलाई सम्पर्क नगर्दा पनि छानबिनमा कठिन भएको समीर बताउँछन् । ‘प्रथम कुरा त पीडितलाई कहाँ गएर के केस हाल्ने भन्ने नै थाहा हुँदैन,’ उनले भने, ‘उहाँहरुले (मेडिकल काउन्सिल)मा यस्तो केस उठाउँदै नउठाउन खोज्ने हुँदा मान्छेको ज्यानलाई ठूलो रुपमा नलिएको देखियो ।’

मेडिकल काउन्सिलका रजिस्ट्रार कृष्णप्रसाद अधिकारीले मेडिसिटी अस्पतालबाट आवश्यक कागजात मगाइएको समाधानलाई फोनमा बताए । ‘हामी अहिले छानबिनको प्रक्रियामा छौं को–को छानबिन समितिमा हुनुहुन्छ भन्न मिल्दैन,’ उनले भने, ‘डाक्टरबाहेक अरुले यो विषय बुझदै बुझ्दैनन् अरुलाई राखेर के काम । आवश्यक परेको खण्डमा भने वकिल राख्छौं ।’
योगेन्द्रका छोरा समीरले भने अस्पतालले २ जना डाक्टर र १ नर्सलाई कारबाही गरिएको खबर आफूँले स्रोत मार्फत थाहा पाएको बताए । ‘मेडिकल अफिसर डाक्टर राजीव मिश्र र एकजना नर्सलाई कारबाही गरिएको भन्ने सुनेको छु । साथमा डाक्टर रोबिका डंगोललाई पनि कारबाही गरेको खबर भने स्रोतबाट थाहा पाएको हुँ,’ उनले भने, ‘यत्ति कुरा पनि अस्पताल प्रशासन बताउन चाहँदैन ।’ नेपाल मेडिसिटीका क्लिनिकल सेवा प्रमुख डाक्टर नीलमणि उपाध्यायले पनि समाधानसँगको कुराकानीमा मृतक योगन्द्रबहादुर बस्नेतको विषयमा मेडिसिटीले कसलाई र के कस्तो कारबाही गर्‍यो भन्ने बताउन चाहेनन् ।

Advertisement

बस्नेत परिवारका अनुसार योगेन्द्रबहादुर बस्नेतले उच्च रक्तचापको बिरामी भएकाले जेठ २२ मा अप्रेसन गर्नु ७२ घण्टा अगावैे प्रयोग गर्दै आएको ‘वारफरिन’ नामक औषधी चिकित्सकको सल्लाहमा नै बन्द गरिएको थियो । ‘अप्रेसन गर्ने बेलामा उच्च जोखिम छ भनिएको थियो र वैकल्पिक मामिलामा किन उच्च जोखिम लिइएको हो सो कुरा बुझ्न सकेनाैं,’ समीरले भने ।
जेठ २२ को अप्रेसन पश्चात सामन्य भनिएका योगेन्द्रलाई करिब २४ घण्टा पश्चात वार्डमा सारिएको थियो । उक्त समयमा बिरामीलाई हस्पिटलले उपलब्ध गराउने सामान्य खाना खुवाई १/२ दिनमा डिस्चार्ज गर्ने जानकारी अस्पतालले गराएको समीरले बताए ।

जेठ २४ गते बेलुका करिब ६ बजेतिर योगेन्द्रले अप्रेसन गरेको ठाउँमा दुखेको खबर गर्दा प्रेसर र ‘पल्स’ जाँच गरी सामान्य रहेको बताइए पनि तत् पश्चात योगेन्द्र शौचालय जाँदा अचानक ढलेका थिए । उनको अचानक मुख बांगिएको थियो । ‘त्यपछि नर्स, मेडिकल अफिसर र मुटुरोग विशेषज्ञ आई मुटुको इसिजी गरी बिरामी सामान्य रहेको भनियो,’ छोरा समीरले भने । उक्त समयमा बिरामीको रक्तचाप उच्च रहेको समीरले बताए । बेलुका ८ बजे तिर बेड सिफ्ट गर्नुपूर्व बिरामी रहेका योगेन्द्र बस्नेत दोस्रोपटक ढलेका थिए । त्यसपछि बिरामीलाई ‘हेमोग्लोबिन’ र ‘सोडियम’ कम भएको भनी नुनपानी खुवाउन र बिरामी कमजोर भएकाले हस्पिटलले उपलब्ध गराउने खाना खुवाउन भने बमोजिम जबरजस्ती खुवाइएको छोरा समीरले सुनाए ।

‘खाना खाएपछि तत्काल बुवालाई पेन किलर र ग्यास्ट्रिकको औषधी दिइएको थियो,’ उनले भने, ‘औषधी दिँदासमेत बुवाले दुखिरहेको छ भन्नुभएको थियो ।’ करिब ९ बजेतिर योगेन्द्र स्ट्रोकका कारणले तेस्रोपटक बेडमै ढलेका थिए । उनको अक्सिजन लेभल, पल्स, रक्तचाप जाँची रगत चढाइएको थियो । राती करिब ३ बजेतिर बिरामी अचेत हुन गई मेडिकल अफिसरलाई बोलाइएकोमा ती मेडिकल अफिसरले ‘एनेस्थोलोजिस्ट’लाई बोलाई छातीमा ‘सिपिआर’ गरी आइसियुमा लगेको समीरले जनाए । बिरामी ३ पटक स्ट्रकले ढलिसक्दा पनि राति ३ बजे पश्चात ‘भिडिओ एक्स रे’ गरी बिरामीको अप्रेसन गर्नुपर्ने अस्पतालले जानकारी दिएको समीरले सुनाए ।

‘अप्रेसन गर्दा पनि आन्तरिक रक्तस्राव नरोकिएको र मल्टीअर्गान फेलर भएको कारणले पुन भेन्टिलेटरमा राख्नुपर्ने र बाँच्ने सम्भावना न्यून रहेको भनियो,’ समीरले भने, ‘त्यसपछि भेन्टिलेटरमा बुवाको निधन भयो ।’ बुवाको १३ दिने काजकिरीया गरी असार ६ गते छोरा समीरबहादुरले छानबिन गरी पाऊँ भनी नेपाल मेडिसिटी अस्पतालमा निवेदन दिएका थिए । डाक्टर जयन्द्र बज्राचार्यको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो । एक हप्तापछि समीर मेडिसिटी अस्पतालमा बुझ्न जाँदा मुख्य डाक्टर सुनील शर्माका सहायक राजीव मिश्रलाई बिरामी हेर्न जान भनिएकोमा अस्पतालमा उपस्थित नभइकन बिरामीको अवस्था सामान्य रहेको भनी गलत रिपोर्ट गरेको भनेर डाक्टर सुनील शर्माले नै बताएको समीरले दाबी गरे ।

डाक्टर जयनन्द्र बज्राचार्यको संयोजकत्वमा छानिबिन समिति गठन गरी ३ जना डाक्टरलाई निलम्बन गरी छानबिन थालिएको पत्र आफूलाई थमाइएको समीरले बताए । ‘पत्र दिने बेलामा डाक्टर सुनील शर्माले डाक्टर राजीव मिश्रलाई ड्युटीमा गएर बिरामी जाँच गर्नुभन्दा नगइकन बिरामी सामान्य अवस्थामा रहेको भनी जानकारी गराएका थिए,’ समीरले भने, ‘सो समयमा डाक्टर राजीव मिश्रलाई बोलाएर सोध्दा हात काटेर स्कुटर चलाउन नसकेका कारण अस्पताल नआएको भनी गैरजिम्मेवार जवाफ दिनुभयो ।’

डाक्टर राजीवलाई समस्या परेर आउन नसकेको भए किन अस्पताल प्रशासनलाई जानकारी गराएनन् भन्ने प्रश्न पीडित परिवारको छ । बिरामीको अवस्थाबारे प्रशासनले ध्यान नदिएको भन्ने गम्भीर लापरबाही उजागर भएको समीरले बताए । ‘अस्पतालको लापरबाहीले बुवाको मृत्यु भएको ४२ दिन भइसक्दा पनि न मृत्युको कारण खुलाइएको छ, न गतिलोसँग छानबिन भएको छ,’ समीरले भने, ‘यस्तो अवस्थामा अस्पतालको लापरबाहीले बुबाको ज्यान गएपछि पनि न्यायको आभास नभएकाले मिडिया समक्ष आएका हौं ।’ घटनाको सत्यतथ्य छानबिन गरी यथार्थ सार्वजनिक गरियोस् भन्ने माग पीडित परिवारको छ । पीडित परिवारले सत्य तथ्य छानबिन गरी दोषी उपर कारबाही गरी पाऊँ भनी नेपाल मेडिकल काउन्सिलमा २८ असारमा चिठी बुझाएका थिए ।

तपाईको प्रतिक्रिया