क्रिकेटभन्दा कम छैन डण्डी–बियो !

रुद्रप्रसाद अधिकारी २०७९ साउन १९ गते १३:१७

उ बेला अहिले जस्तो कम्प्युटर र मोबाइलमा गेम (खेल) खेल्न कहाँ पाइन्थ्यो र ? गाउँमै उपलब्ध स्थानीय स्रोत, साधनको प्रयोग गरी विभिन्न खेल्ने साधन बनाइन्थ्यो र खेलिन्थ्यो । त्यस्ता विभिन्न खेलमध्ये एउटा लोकप्रिय खेल थियो डण्डी–बियो । जुन आजकल खेल्न छाडिसकिएको छ ।

डण्डी बियो नेपाली समुदायमा लोकप्रिय मौलिक परम्परागत खेल हो । यो नेपालको राष्ट्रिय खेल थियो तर यो खेललाई राष्ट्रिय खेलको सूचीबाट हटाइएकोमात्रै छैन, यसलाई त लोप हुने अवस्थामा पुर्‍याइएको छ । केही दशक पहिले गाउँ गाउँमा निकै खेलिने यो खेल विस्तारै हराउँदै गएको छ । कतिपयलाई कुनै समयमा यो हाम्रो राष्ट्रिय खेल थियो भन्नेसमेत थाहा छैन । विभिन्न अन्तर्राष्ट्रिय खेलप्रति आकर्षण बढ्दै जाँदा यो खेल भने ओझेलमा परेको छ । यो खेलको संरक्षण, संवद्र्धन र प्रबद्र्धनमा खासै चासो दिइएको छैन ।

डण्डीबियो मौलिक पहिचान बोकेको स्थानीय खेल हो, जुन अन्तर्राष्ट्रिय स्तरको क्रिकेटभन्दा कम छैन

Advertisement


डण्डीबियो मौलिक पहिचान बोकेको स्थानीय खेल हो, जुन अन्तर्राष्ट्रिय स्तरको क्रिकेटभन्दा कम छैन । यसको नामबाटै थाहा हुन्छ कि यो खेल खेल्नका लागि डण्डी र बियोको आवश्यकता पर्दछ । जुन स्थानीय रूपमा उपलब्ध काठको प्रयोग गरी तयार गरिन्छ । सामान्यतया डण्डीको लम्बाई झन्डै एक फुट हुन्छ भने बियो डन्डीको एक–तृतीयांश हुन्छ तर ठाउँ अनुसार यो फरक पनि हुन सक्छ । जसरी क्रिकेटमा ब्याटले बललाई हानिन्छ, ठीक त्यसैगरी डन्डीबियोमा डन्डीले बियोलाई हानिन्छ ।

क्रिकेटमा जस्तै डण्डी–बियोमा पनि दुई वटा टिम हुन्छन् । एक टिमले बियो फाल्ने र अर्को टिमले बियो समात्ने । सबैभन्दा पहिला बियो फाल्ने टोलीद्वारा मैदानमा रहेको चेप्टो परेको सानो खपिल्टोमाथि बियो राखिन्छ । त्यही बियोमुनि खोपिल्टोमा डण्डीको एकातर्फको भाग राखी अर्कोतर्फ हातले समाई बियोलाई खाली मैदानतर्फ फालिन्छ । फालिएको बियो बिपक्षी टोलीका खेलाडीद्वारा समात्ने प्रयास हुन्छ र यदि बियो भूईमा झर्न नपाउँदै समातियो भने बिपक्षी अर्थात् बियो समात्ने टोलीले निश्चित अंक प्राप्त गर्छ, त्यस्तो अंक पचास, सय वा कति राख्ने भनी आपसी समझदारीमा तय गरिन्छ ।

Advertisement

यदि बियो भुईमा झरेमा बियो समात्ने टोलीका खेलाडीले तत्काल त्यसलाई समाती खोपिल्टोमाथि राखिएको डन्डीलाई बियोले हिर्काउने प्रयत्न हुन्छ र बियोले डण्डी छोएमा बियो फाल्ने खेलाडी बाहिरिन्छन् । केही गरी डण्डीलाई ताकेर हानिएको बियोले डन्डी छोएन भने खेल निरन्तरअघि बढ्छ । बियो फाल्ने खेलाडीले उक्त दुवैतर्फ चुच्चो परेको बियोलाई हानी, उफारी भूईमा झर्न नदिई टेक लगाउनु पर्छ । टेक लगाउनुको महत्व के छ भने जति टेक लगायो, त्यही अनुसार आफूले पछि ल्याउने अंक गुणा हुन्छ । बियो फाल्नेले अंक ल्याउने भनेको बियोलाई मैदानको केन्द्रमा रहेको खोपिल्टोबाट टाढा पुर्‍याउँदै जाँदा बियोले नाप्दा हुन आउने अनुमानित दूरी बराबर हुन्छ ।

जस्तो कि यदि बियोलाई खोपिल्टोभन्दा २ सय बियोको लम्बाई बराबरको दूरीमा पुर्‍याइएको रहेछ भने २ सय अंक आउँछ । त्यसरी टाढा पुर्‍याउने क्रममा भुइमा झर्न नदिई तीन पटक टेक लगाइएको रहेछ भने उक्त अंक तीन गुणा भएर ६ सय बराबर हुन आउँछ । बियो फाल्ने खेलाडीले तबसम्म खेल्न पाउँछ, जबसम्म उसले एकै पटकमा डण्डीले हिर्काई बियोलाई उफार्दै कम्तीमा एक पटक टेक लगाई फाल्दै जान्छ । त्यस क्रममा बियोले बियो फाल्ने टोलीका खेलाडीलाई छुनु हुँदैन, अन्यथा बियो फाल्ने खेलाडी बाहिरिन्छन् ।

कतिपय अवस्थामा बियोलाई मैदानको बीचमा रहेको खोपिल्टोभन्दा निकै टाढा पुर्‍याइन्छ, त्यति बेला मैदानको घेरा बाहिर पुर्‍याएवापत निश्चित अंक प्रदान गरिन्छ । त्यसपछि अर्को खेलाडीलाई बियो फाल्ने अवसर दिइन्छ । यसरी सबै खेलाडीले पालैपालो बियो फाल्ने र अंक ल्याउने कोसिस गर्छन् । बियो फाल्ने टोलीका सबैको पालो पुगिसकेपछि बिपक्षी टोलीले बियो फाल्ने अवसर पाउँछ । बियो फाल्ने टोली अब बियो समात्ने टोलीमा परिणत हुन्छ । दुवै टोलीमध्ये जसले बढी अंक ल्याउँछ, त्यो नै विजयी घोषित हुन्छ ।

डण्डी बियो खेल्ने तरिका झन्डै क्रिकेटको जस्तो छ । क्रिकेटमा बलिङ र ब्याटिङ गर्ने छुट्टाछुट्टै टोली भए जस्तो यसमा बियो फाल्ने र बियो समात्ने टोली हुन्छन् । क्रिकेटमा बलरद्वारा फालिएको बल समातेर विकेटतर्फ फालिए जस्तै यसमा बियो समातेर डन्डीतर्फ फालिन्छ । क्रिकेटमा चौका, छक्का स्कोर गरे जस्तै डन्डीबियोमा बियो समात्दा र बियो मैदान बाहिर पुर्‍याउँदा राम्रै अंक स्कोर गरिन्छ ।

डण्डी–बियो स्थानीय स्रोत, साधन प्रयोग गरी बनाइएको खेल हो । यो खेल खेल्न त्यति धेरै दक्षता चाहिंदैन, न त यसलाई कहीं गएर प्रशिक्षण नै लिनुपर्छ । यसका नियम बुझ्न सजिलो छ र सीप सिक्न धेरै समय लाग्दैन । केही सुरक्षाका उपाय अपनाई हामी आफैं खेल्न सक्छौं र यस खेलतर्फ विदेशीलाई समेत आकर्षित गर्न सक्छौं । दुर्भाग्य नै मान्नुपर्छ यस्तो मौलिक पहिचान बोकेको हाम्रो घरेलु खेल डण्डी–बियोको राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगिता हुन त परै जाओस्, स्थानीय स्तरमा समेत खेल्न छाडिसकिएको छ । खेलमा भएका कमी, कमजोरी सुधार्दै यसको व्यापकता वृद्धि गर्नुपर्नेमा राष्ट्रिय खेलको उपमा समेत खोसिनु दुःखद् कुरा हो ।

थोरै ध्यान दिएर मौलिकता नहराउने गरी यस खेललाई सुरक्षित खेल बनाउँदै खेलकुद सम्बद्ध निकायबाट आधिकारिक नियम तोकेर राष्ट्रिय स्तरमा प्रतियोगिता आयोजना गर्ने र ओलम्पिकका खेलको सूचीमा दर्ता गराउन प्रयास गर्ने हो भने यसमा राम्रै सम्भावना देखिन्छ । यस खेलको संरक्षण, प्रवद्र्धन र विकास गर्ने हो भने यसले विश्वसामु हाम्रो छुट्टै पहिचान कायम राख्नुका साथै खेलकुद पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्‍याउने देखिन्छ ।

तपाईको प्रतिक्रिया