सहिद तथा बेपत्ताका परिवारलाई मासिक भत्ता

समाधान संवाददाता २०७९ साउन २० गते १२:२२

गलकोट ।
बागलुङको ताराखोलाका सहिद, बेपत्ताका परिवार तथा घाइतेले गाउँपालिकाबाट मासिक भत्ता प्राप्त गर्ने भएका छन् । गाउँपालिकाले द्वन्द्वको क्रममा भएका सहिद, बेपत्ताका परिवार, घाइते तथा अपांगलाई मासिक भत्ता दिने भएको हो ।

पालिकाले गाउँसभाबाटै नीति तथा बजेटमा सो कुरा समावेश गरेको छ । कार्यपालिका बैठकबाट भत्ता वितरणको नीति बनाएर पारित गरेकाले आगामी महिनादेखि सहिद तथा बेपत्ताका परिवारलाई मासिक भत्ता दिन थाल्ने गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले जानकारी दिए ।

सशस्त्र द्वन्द्वका क्रममा राज्य पक्षबाट २१ सहिद र २ बेपत्ता भएका थिए भने विद्रोही नेकपा माओवादी पक्षबाट ४ सहिद भएका थिए । उनीहरूका परिवारलाई मासिक १ हजार ५ सयका दरले भत्ता दिने निर्णय गरिएको विकले बताए । घाइते तथा अपांगताको हकमा परिचयपत्रको आधारमा जिल्ला प्रशासन र वडा कार्यालयले प्रमाणित गरेपछि ५ सयदेखि १ हजार भत्ता दिने निर्णय गरिएको छ ।

Advertisement

गाउँपालिकामा ११ जना द्वन्द्वको क्रममा गम्भीर घाइते भएका थिए । पालिकाले विद्रोही तथा राज्य पक्षबाट भौतिक संरचना गुमाएका परिवारलाई रोजगारी दिने गरी नीति बनाएको छ । पालिकाले दिने हरेक रोजगारीमा यो सूचक राखिने गाउँपालिकाले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया