दिल्लीले होइन, जनताले सरकार बनाउनुपर्छः बिजुक्छे

समाधान संवाददाता २०७९ साउन २१ गते १३:०६

पोखरा ।
नेपाल मजदुर किसान पार्टीले वर्तमान सत्ता गठबन्धनको हरेक निर्णय ‘दिल्ली’ले गर्नु गलत भएको प्रतिक्रिया दिएको छ । गठबन्धनको हरेक निर्णयको लागि प्रचण्ड दिल्ली जानु गलत भएको पार्टीका अध्यक्ष अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले दाबी गरे ।


पत्रकार समाज नेपालले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष बिजुक्छेले नेपालको हरेक विषय दिल्लीमा गएर भन्न नहुने प्रतिक्रिया दिए । नेपालको सरकार नेपाली जनता बनाउने भएको उल्लेख गर्दै उनले दिल्लीले नेपालको सरकार फेर्ने काम भएको आरोप लगाए । उनले अहिलेसम्म दिल्लीले नेपालको सरकार बनाउन र गिराउनमा प्रत्यक्ष भूमिका खेलको दाबी गर्दै उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो भनाइले समेत त्यसलाई पुष्टि गरेको तर्क पेश गरे ।

‘नेपालको सरकार नेपाली जनताले बनाउने विषय हो,’अध्यक्ष बिजुक्छेले भने, ‘नेपालका नेताहरु दिल्ली गएर भन्ने होइन । मास मिटिङ गरेर जनतासँग भोट माग्ने हो । नेपाली जनताको मन जित्ने हो ।’

Advertisement


बिजुक्छेले सरकार बनाउनका लागि बामपन्थी र दक्षिणपन्थी गठबन्धन गर्नै नहुने तकै गरे । बामपन्थीको नाममा नेपाली कांग्रेस र राप्रपासँग मिल्नु गलत भएको टिप्पणी गर्दै उनले जनताको आदेश विपरित दक्षिणपन्थी र दक्षिणपन्थीका गठबन्धन भएको तर्क गरे । उनले सबै दलले चुनावी एजेण्डा र घोषणापत्र सार्वजनिक गरी नीति र कार्यक्रम मिल्ने शक्तिसँग मात्र गठबन्धन गर्दा राम्रो हुने सुझाव दिए ।


सरकारले अचानक आम चुनावको घोषणा गरेको उनले उल्लेख गरे । प्रतिनिधि सभाको विघटन गर्ने वित्तिकै निर्वाचनको घोषणा गर्नु पर्नेमा दिल्ली गएर सोधेर चुनावको घोषणा गरेकोमा आपत्ती प्रकट गरे । नेता बिजुक्छेले जनता एकजुट भएर राजनीतिक पार्टीहरुलाई अनुशासनमा राख्नुपर्ने बताए । राजनीतिक पार्टी अनुशासित नभएसम्म देश सही बाटोमा नआउने उनको भनाई छ ।

Advertisement


अहिलेसम्मका राजनीतिक दलका मनपरी रोक्न पनि जनता एकजुट हुनुपर्ने उनको धारणा छ । ‘यो चुनावलाई कसरी लैजाने ? देशमा ती पार्टीहरुको बहुमत आयो भने सरकारमा गयो भने के काम जनताका निम्ति गर्ने ? देशको निम्ति गर्ने त्यो, स्पष्ट भाषामा आउनुपर्छ,’ बिजुक्छेले भने, ‘अर्को कुरा घोषणापत्रमा एउटा लेखेर आफ्नो सरकार नयाँ आएपछि ठ्याक्कै नमिल्ने, वामपन्थीहरु तोड्न दक्षिणपन्थीसँगको सरकार बनाउन पाउँदैन । सिद्धान्तले दिँदैन । घोषणापत्रभन्दा बाहिर जानु हुँदैन ।’ अध्यक्ष बिजुक्छेले ताइवान चिनको अभिन्न अंग भएकोले त्यहाँ अमेरिकाको प्रत्यक्ष हस्तक्षेप गलत भएको बताए । युक्रेनको पक्षमा चिन बोलेन भनेर अमेरिकाले बढी चासो देखाएको आरोप लगाउदै उनले चीनको ध्यान ताइवानमा केन्द्रीत गरेर युक्रेन युद्ध चर्काउने रणनीति अगाडी सारेको दाबी गरे । उनले नेपालले भारत र चिनलाई समान दुरीमा राखे आर्थिक संकट नपर्ने तर्क गरे ।


पार्टीका केन्द्रीय सदस्य तथा वागमती प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाइंले पार्टी सबै एक नीतिको पक्षमा रहेकोले ताइवानमा भएको अमेरिकी उपस्थितिको विरोध जनाए । उनले अमेरिकाले एशियामा युद्ध थोपर्न लागेको आरोप लगाए । एमसीसी, एसपीपी,इण्डोप्यासिफिक रणनीति लगायत विभिन्न वहानामा अमेरिकी नेपाल छिर्न खोजेको उल्लेख गर्दै उनले नेपाल कुनै पनि युद्धको पक्षमा नभएको बताए । उनले संघीयताले धेरै आर्थिक व्ययभार थपेकोले स्थानीय तहको स्वायत्तता तथा विकेन्द्रीकरणमा जाने पार्टीको नीति भएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया